‘संघर्षपति’ पार्वतीको मुस्कान 

कहिलेकाहीँ हामी थाक्छौँ, रिसाउँछौँ र जीवनसँग प्रश्न गर्छौँ । तर जीवनले कहिलेकाहीँ उत्तर पनि दिन्छ- पार्वती कार्कीको मुस्कान बनेर !

श्रावण १८, २०८२

विष्णुकान्त घिमिरे

The smile of 'Sangharshapati' Parvati

What you should know

काठमाडौँ — साउने झरी । आकाशभरि धुम्म बादल । घरधन्दा, घाँसदाउरा अनि मेलापात । यति नगरौँ भने नि भैँसी कराउँछ । श्रीमान् विदेश । भएको एउटा छोरो काठमाडौँ बसेर १२ पढ्दै छ । 

धादिङबेँसीबाट आँखु खोला तर्दै, सल्यानटार छिचोल्दै माथि गंगाजमुना गाउँपालिका–६ को बाँगेपिपल – बसेरी भन्ने ठाउँ छ । त्यही बस्छिन् पार्वती दिदी ।

हाम्रो टोलीलाई उनलाई गाउँमै भेटी उनका भोगाइ र अनुभव भिडिओमा कैद गरेर ल्याउने जिम्मेवारी आयो । अथवा भनौँ मलाई मेरो कर्मले त्यता डोहोर्‍यायो– पार्वती दिदीको कथा हेर्न ।

त्यो कथा खोज्दै जाँदा हामी सल्यान्टारको फाँट कट्दै बुढीगण्डकीको तीरैतीर अघि बढिरहेका थियौँ । सल्यानटार, जुन देख्दा लाग्थ्यो- माटो पनि साँच्चै उदार हुन्छ, जसले आकाश अँगाल्न खोज्छ। तल बगिरहेको खोलाबाट आएको चिसो सिरेटोले मुहार चिमोटिरहँदा, शरीर मात्र होइन, हृदय पनि झसङ्ग हुन्थ्यो। 

अनि एकाएक मन उडेर पुग्यो मेरै लमजुङको दोर्दी सेरोफेरो, मन्जाङ । झझल्को आयो आमाले मेला गएर आउँदा पटुकीमा पोको पारेर ल्याइदिएको बेलौती । खेतका आलीआली डुलेर, घाँस दाउराका भारी बोक्दै हिँडेको सानो विष्णु पनि सम्झिएँ । एसएलसी दिएर मात्रै गाउँ छोडेको मलाई आँखुको सुसेलीले दोर्दीको यादतर्फ डोहोर्‍याउँदै थियो । कहिलेकाहीँ कुनै ठाउँ पुग्दा, ती दृश्यहरू मात्र होइन, मनभित्र गडिएको भूगोल पनि ब्युँझिन्छ। 

बसेरी पुग्नुअघि नै मैले आफ्नै बालापन भेटिसकेको थिएँ ।   

बसेरी पुगेपछि लाग्यो, म कुनै भूगोलमा हैन, जीवनको गहिराइमा प्रवेश गरिरहेको छु । म त्यो बस्तीमा पुगेँ, जहाँ एउटी महिलाले आफ्नै सानो संसार बनाएकी थिइन् । पार्वती दिदीलाई देखेपछि मलाई दिदीको घरमा भाइ गए जस्तो महसुस भयो । माइती र चेली बर्षौं पछि भेटे जस्तो मिठो भेट थियो त्यो । तीज आउनै लाग्दा दिदी लिन उनकै घर पुगेजस्तो । हुन पनि अचम्मै भइरहेको थियो । मनले के–के के–के सम्झिरहेको । 

आँखा अगाडि उभिएकी पार्वतीका गोडा हिलाम्मे थिए, हातमा करौँती थियो । उनी त मेला गएर आएकी थिइन् । कपाल सम्हाल्दै मुस्कुराउँदै उनले न्यानो स्वागत गरिन् ।

पार्वती कार्की । सुनिरहँदा नाम झैँ साधारण लागे पनि उनीभित्र एउटा असाधारण जीवन सङ्घर्ष लुकेको रहेछ।  

The smile of 'Sangharshapati' Parvati

त्यो मिठो आतिथ्यमा रमाइरहेको मलाई उनको जीवन सुन्दै जाँदा लाग्यो- यो त कुनै उपन्यास होइन, कुनै फिल्मको स्क्रिप्ट पनि होइन । यो त जिउँदो कथा हो, जसको हरेक अध्याय आँसु र सङ्घर्षले लेखिएको छ। अविचलित अनि अविच्छिन्न ।  

पार्वती दिदीले फर्सीको मुन्टा केलाउँदै अँगेनोमा खाना बसालिन् । भित्रीबारीको हरियो मकै भाँचेर भुङ्ग्रोमा हालिन् । म उनैसँग गफिन थालेँ । सानोमा आमा मेलाबाट ढिलो आउँदा हतारहतार यसरी नै मकै पोलिदिनुहुन्थ्यो, उहाँको विष्णु भोकै छ भनेर । पार्वती दिदीको मुहार हेर्दा, त्यो ममता, त्यो चुपचाप स्नेह- म घरीघरी उहाँमा आफ्नै आमालाई देख्थेँ।

तर त्यो न्यानोपनभित्र, एउटा गहिरो पीडा लुकेको थियो । २०७२ सालको भूकम्पमा निदाइरहेको सानो महिना दिनको छोरो कहिल्यै नब्युँझने गरी गुमाइन् । बनाएर सर्न ठिक्क परेको घर पनि भत्किएको थियो । घरसँगै भत्कियो उनको काख पनि । त्यो पीडालाई मनभित्र गाडेर, उनले जीवनको पुल समातिरहेकी छन् । नढल्ने, नथाक्ने प्रयासका डोरीहरूले गाँसिएको पुल ।

मलाई त्यही गाउँको अँधेरी खोलाको पुल सम्झना आयो । नेपालकै लामो मध्येको झोलुङ्गे पुल । पार्वती कार्कीको जिन्दगी पनि त्यत्तिकै लम्बिएको छ, अनि पुल जस्तै बलियो पनि । कहिलेकाहीँ त लाग्यो- भूकम्पले घर भत्कायो होला, तर उनको साहस भत्काउन सकेन । 

श्रीमान् पटकपटक वैदेशिक रोजगारीमा गए । तर उनलाई आजसम्म पनि विदेश फापेको छैन । कुनै दिन सन्चो भएको छैन शरीर । बीचमा काठमाडौँ फर्किएर यो जोडीले आफ्नै व्यवसाय नआँटेको होइन । जेनतेन जोहो गरेर खोलेको किराना पसलमा उधारो मात्रै गएपछि लाखौँ डुबाएर बुढा विदेश अनि बुढीले फेरी उही बस्तुभाउ र मेलापात रोजेकै हो । 

श्रीमान् वैदेशिक रोजगारीमा, छोरा काठमाडौँमा पढ्दै । आफैँ गाउँमा महिला स्वास्थ्य स्वयंसेविका । दिउँसो मेलापात, बेलुकी घरधन्दा परिआउँदा स्वयंसेविका । जीवनको चक्र निरन्तर घुमिरहेको थियो, न थाक्ने छुट, न रोक्ने सुविधा ।

विदेशमा भएका श्रीमान्‌सँग बोल्न पार्वती दिदीले एनसेलको ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किन्दिरहिछन् । त्यहीँबाट स्वचालित रूपमा उनी सहभागी भइन्- ‘सधैँ अन करोडपति’ योजनामा । जीवनसँग यस्तो खेल हुन्छ भन्ने उनले सोचेकी थिइनन् । अब भने उनले मुस्कुराउँदै भनिन्, 'जीवनले कहिलेकाहीँ नसोचेको आशीर्वाद दिँदो रहेछ । कर्म गरिरहेँ, विश्वास छोडिनँ। आज त्यो विश्वासले मलाई यहाँसम्म ल्याइपुर्‍यायो ।'

आज उनी करोडपति पार्वती भएकी छिन् । एनसेलको बम्पर उपहार पाउने एक मात्र भाग्यशाली विजेता । 

उनको प्रतिक्रिया, शब्दहरूमध्ये सबैभन्दा गहिरो थियो, 'अब ऋण तिर्नका लागि श्रीमान्‌को रोगी शरीर घोटिनु पर्दैन। नेपालमै मिलेर केही गर्छौँ । छोराको पढाइमा लगानी गर्छौँ The smile of 'Sangharshapati' Parvati।'

कति साधारण तर गहिरा लक्ष्य ।

म उत्सुक भएर उपहार परेको कहानी सुन्न लागेँ ।

पहिलोपल्ट दिनभरि फोन आएछ । मेलामा जाँदै गर्दा मोबाइल घरै छाडेर गएकी पार्वती दिदीको फोन नै उठेन । अबेर साँझ बल्ल फोन उठ्यो ।

'तपाईँलाई एनसेलको सधैं अन करोडपति योजनामा पुरस्कार परेको छ । सोमबार काठमाडौं आउनुस् है,' एनसेलको तर्फबाट यस्तो सन्देश आयो ।

यस्ता कल 'स्क्याम' होला भनेर उनले त्यति पत्याइनन् र कल गर्नेको नाम सोधिन् । कल गर्ने एनसेल प्रतिनिधिको थर माइतीतिर मिलेपछि हल्का विश्वास गरिन् र मेलाको चटारोले गर्दा पछि आउने बताइन् । ठूलै पुरस्कार परेको र सोमबारै काठमाडौं आउन उनलाई भनियो । फोनपछि घर सल्लाह भयो । श्रीमान्‌लाई फोनमा बेलिबिस्तार लगाइन् । अनि काठमाडौँ जाने निर्णय भयो ।

'फोन साँचो रहेछ भने ठिकै छ । हैन रैछ भने छोरासँग भेट हुन्छ के भयो त एउटा यात्रा ।'

उनी काठमाडौँ आइन् । छोरालाई अघि लाएर एनसेल अफिस पुगिन् । प्रमाणीकरण भयो । अनि जिन्दगी बदलियो । पार्वती दिदीको आवाजमा आत्मबल थियो । मुहारमा छुट्टै सुखानुभूति । उनको सुखमा मलाई लाग्यो उनी आज करोडपति होइन ‘संघर्षपति’ भएकी थिइन् । जीवनको सम्मान कमाएकी थिइन् ।

०००

बसेरीबाट फर्किँदै गर्दा बुढीगण्डकी उर्लँदो थियो । खोलाको छेउमा उभिएर म सोच्दै थिएँ, कहिलेकाहीँ हामी जीवनसँग थाक्छौँ, रिसाउँछौँ, प्रश्न गर्छौँ । तर जीवन कहिलेकाहीँ उत्तर पनि दिन्छ, पार्वती कार्कीको मुस्कान बनेर !

विष्णुकान्त

Link copied successfully