कालपात्रको नग्नना र पुनरावृत्ति

विवेकहीन राजनीति नै देशको समस्याको जड भएको र यो नै निर्धा तथा सोझा नेपालीको काल बनेर आएको भन्ने भाष्यलाई लेखकले उपन्यासमा उजागर गर्न खोजेका छन् । 

जेष्ठ ३१, २०८२

पिमला न्यौपाने

Repetition and Repetition of Periods

काठमाडौँ — २७ वर्षदेखि स्वतन्त्र र निष्पक्ष पत्रकारितालाई आत्मसाथ गर्दै अघि बढेका प्राध्यापक पुरुषोत्तम दाहालको उपन्यास 'कालपात्र' सुकर्मका लागि कुकर्मविरुद्ध सतत् संघर्षशील सम्पूर्ण असल मानिसप्रतिको समर्पण हो ।

यसमा उनको मूल ध्येय मानवीय सपनामा इङ्गित छ, जहाँ सबैका सपना सपना नै हुन् तर ती सपनालाई उनले विभिन्न रुप, सर्त र अर्थमा प्रस्ट्याएका छन्। अर्को अर्थमा भन्दा, नेपाली समाजका विभिन्न तह तथा तप्काका मानिसले कति सही सपना देखे र त्यो  कति सही तरिकाले पूर्ण गरे भन्ने हो । 

लेखकले उपन्यासको सुरु पृष्ठमै दुखान्तको आभास गराएका छन् । 'अर्धबैंसे देखिने कुनै मानिसको प्राणान्त भएको जस्तो थियो । उसका साथमा भनौं कि अन्तिम बिदाइ र श्रदाञ्जली दिन आएका केही नारीहरु निष्ठुर र निर्जीव घाटलाई समेत व्याकुल पार्ने गरी रुँदै थिए । तिनको आर्तध्वनि निकै परसम्म सुनिए पनि सुन्नेहरु कोही थिएनन् (पृ. १) ।' 

नेपाली समाजमा दिनानुदिन उब्जिएका घटना परिघटनालाई सूक्ष्म तवरले नियालेर पिल्सिएका जन र उनीहरुका नसुनिएका आवाजको कारक तत्व काल्पनिक शैलीमा यसरी कोट्याउछन् उनी, 'चारैतिर चिच्याएर कुद्ने हनुमानजीहरू यस्ता आवाज सुन्न अभ्यस्त छन् र नै तीप्रति कुनै चासो दिइरहेका छैनन् । मानिसहरुको क्रन्दनसँग तिनीहरुको त्यहाँ कुनै अर्थ छैन र भेटिँदैन । करुणाको मृत्यु हुने ठाउँ हो यो (पृ. १) ।' सरोकारजन्य निकाय तथा व्यक्तिले कुशल भूमिका निर्भाह हुनुपर्नेमा बेवास्ता गर्नमा अभ्यस्त भइदिएपछि जनमानसमा निराशा चुलिएर आउँछ भन्न खोजिएको छ । 

उपन्यासमा पात्रकी आमा श्यवन्ती र पिता अभयको अभाव तथा गरिबीका कारणले मात्र ज्यान गुमाएपछि एक्लो बनेको निर्दोष पात्र अब आफ्नै परिचयको खोजीमा भौंतारिन्छ । पात्र गाउँ कार्यालयमा पुग्छ, सचिवलाई भन्छ, 'मेरो परिचय जनाउने कागज दिनुपर्‍यो (पृ. १२) ।' यसरी पचिरयपत्र मात्र खोजेको पात्र पार्टीमा होमिन पुग्छ, 'ए पात्र, तिमी मेरो पार्टीमा काम गर्छौ त ? म जे भन्छु त्यही गर्नुपर्छ । तिम्रो परिचय बन्छ । चिन्ता गर्नुपर्दैन (पृ. २१) ।'

यसरी पात्रको परिचयपत्र मात्र होइन कि ऊ कार्यरत पार्टी र अर्को पार्टीअन्तर्गतको कुकर्ममानलाई मन्त्री बनाउन उसको छोरा अपकर्म तमाम लोभ लालचको पसारो लगाउँदै गठबन्धनको मोलमोलाइको प्रत्यक्षदर्शी बन्छ । अन्ततः कुकर्ममान मन्त्री हुन्छ र अपकर्म निकट सहयोगी । 'यहाँ निजी सहायक (पीए) चाहियो । मलाई अरुको भर गरेर हुँदैन । आफ्नै छोरा जरुरी भयो (पृ. ३२) ।' पात्रजस्ता साधारण मानिसहरु विभिन्न नाममा लुटिन्छन् । 

लेखक दाहालले यस उपन्यासमा नेपालको राजनीतिक प्रवृत्ति मात्र उजागर गरेका छैनन् कि राजनीतिको खोल ओडेर गरिने शक्तिको दुरुपयोग, सामान्य जीवनयापनमा आम मानिसले झेल्नुपरेका तगारा, तथा विभिन्न नाममा शोषित पीडित भएका विविध वर्ग, पेसा तथा व्यवसायका मानिस जस्तै: पत्रकार, शिक्षक, विद्यार्थी, विपन्न किसान, लगायतलाई उपन्यासका विभिन्न नामका पात्रमार्फत चित्रण गरिएको छ । 'राजनीतिका नाममा नैतिकताको व्यापार, जग्गाजमिनको, गिट्टी बालुवा,... माफियातन्त्र, मदिरातन्त्रको विकास, सुरासुन्दरीको प्रपञ्च यही हो परिवर्तन... व्यक्तिकेन्द्रित अहंकार, महत्वाकांक्षा, अश्लीलता, विवेकहीनता, भ्रष्टाचार, आर्थिक अपारदर्शिता, नातावाद, कृपावाद, परिवारवाद, आफन्तवाद किन विस्तारित छ राजनीतिमा ? हेर्नुहोस् त कुकर्ममान मन्त्रीको काम र तामझाम ? (पृ. ५६) ।' 

यस्ता अनेक तर्क तथा असन्तुष्टि भिन्नभिन्न स्वरुपमा उपन्यासमा पस्किएको पाइन्छ । बालिका तथा किशोरीका शोषणका घटना, बेरोजगारी तथा वैदेशिक रोजगारीसँग जोडिएका तिता अनुभूति पनि राजनीतिक वृत्तको वरिपरि रहेको उपन्यास भेटिन्छ । 

गरिब जनताको पीडा, रोदन, मृत्यु तथा शोकपूर्ण अवस्थालाई सामान्य रुपमा लिइने 'राष्ट्रिय प्रवृत्ति' लाई पनि देखाउन खोजिएको छ । राजनीति र प्रशासनको आपराधिक क्रियाकलापमा भइरहेको संलग्नता र यसमा उन्मुक्तिका प्रशस्त उहाहरण भेटिन्छ । अर्कातर्फ जनमानसमा निराशाले दिमागको धेरै भूभाग ओगटिसकेको हुन्छ । 'यी सबै कुराहरु देखे भोगेको पात्र विचलित हुन लागेको छ (पृष्ठ १५३) । यसमा पात्रको नैराश्य नेपाली समाजका विभिन्न स्थानका बालक, असहाय, वृद्ध, महिलाहरूको प्रतिनिधि आवाज पनि हो ।

यसरी लेखकले उपन्यासको सुरुदेखि अन्तसम्म नै विवेकहीन राजनीति नै देशको समस्याको जड भएको र यो नै सबै निर्धा तथा सोझा आम नेपालीको काल बनेर आएको भन्ने भाष्य उजागर गर्न खोजेका छन् । पृष्ठ १७३ मा उनी प्रतिप्रश्न गर्छन्, 'राजनीतिको धर्म के हो ? केका लागि राज्य ? केका लागि सरकार ? केका लागि न्याय ? केका लागि कानुन व्यवस्था ? राजनीति देश र जनताको सेवाबाहेक केही होइन... हामी किन धर्म छाडिरहेका छौं, राजनीतिमा लाग्नेहरु ।' 

उपन्यासकारले उपन्यासको अन्त्यमा सम्पूर्ण कुकर्म, अपराध, अन्यायलाई कालको अलंकार दिएका छन् भने यस्ता अपकर्ममा रुमलिएको पात्रको जीवन अन्धकारमय कालसरह अथवा मृत्युसरह रहेको दाबी गर्छन् । तथापि, यसै बखत कुनै पनि निर्दोष र निमुखा पात्रले बिनाअर्थ कालसँग जुध्न नपरोस् भन्दै कालपात्रको पुनर्जीवन असल मानिसको वृत्तमा आओस् भन्दै आशा तथा विश्वास व्यक्त गरेका छन् ।

- न्यौपाने भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन् । 

पिमला न्यौपाने

Link copied successfully