सेतो साम्राज्यको स्निग्ध सम्झना

जेष्ठ ३१, २०८२

रामजीवी पन्त

A fond memory of the White Empire

'जसले यात्रा गर्दैन, उसले मान्छेको मूल्य बुझ्दैन' -इव्न वतुता । १४ औं शताब्दीका मोरक्कन यात्री एवं अन्वेषक इव्न वतुतालाई संसारकै आजसम्मका एक महान् यात्रीमध्ये गणना गरिन्छ । ३० वर्ष लामो महान् यात्रामा पृथ्वीकी १ लाख २० हजार किलोमिटर दूरी तय गरेका इव्न वतुताले विभिन्न देश एवं संस्कृतिको अन्वेषण गरी विश्वसामु राखिदिएका थिए ।

व्यवसायी तथा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षको परिचयबाट नियात्राकारको परिचयतर्फ यात्रा गरिरहेका जीवा लामिछानेको पछिल्लो यात्रा संस्मरण अक्षत अन्टार्कटिका जेठ महिनाको मध्यतिर पाउनासाथ म यसमा प्रवेश गरिहालें । उनका यसअघि प्रकाशित दुई यात्रा सम्बन्धि पुस्तक सरसर्ती संसार र देशदेशावर पढिसकेकाले म उनको यस यात्री अवतारसँग परिचित थिएँ । 

यो पुस्तक पढिसकेपछि भन्नैपर्छ- लेखकका रुपमा उनको अनुभूतिको गहिराइमा पुर्याउने काम चाहिँ अक्षत अन्टार्कटिकाले गर्‍यो । 

हालै उत्तमशान्ति पुरस्कारबाट समेत पुरस्कृत भएको यो कृति लामीछानेका यसअघिका दुई कृतिभन्दा भिन्न स्वाद र शैलीको कृति हो भन्ने यसका पाना पल्टाउन थालेपछि थाहा पाएँ । सरसर्ती संसार २९ वटा देशमा लेखकले गरेको भ्रमणको विवरणात्मक वर्णन थियो भने देशदेशावर ले बीस वटा फरक स्थानको यात्रालाई समेटेको थियो । अक्षत अन्टार्कटिका भने यसको नाममा नै उल्लेख भएको स्थान अन्टार्कटिका महादेशको लेखकले गरेको १२ दिने यात्राको कथा हो । अघिका दुई पुस्तक संसारका विभिन्न देश र भूगोलमा रहेका मानिसले निर्माण गरेका समाज राजनीति र संस्कृतिका बारे थिए भने यसको केन्द्रमा छ- एउटा नीर्जन भूमि अनि त्यसको वातावरण र वनोट । 

यात्रा साहित्य केवल गन्तव्यको गाथामात्रै होइन अपितु त्यस गन्तव्यसम्म पुग्न लेखकले गर्ने प्रयत्न र उसका अनुभूतिका साथै त्यस यात्रामा देखे भोगेका कुराहरुको साक्षात् वर्णनसँग मिसिएर आउने गन्तव्यको गाथा हो । यसैले हिउँ नै हिउँले छोपिएको पृथ्वीको एउटा छेउ अन्टार्कटिकामा पनि लेखकले महशुस गर्ने मानवीय भाव र अनुभूतिको न्यानो यस कृतिमा मिसिएको पाइन्छ । साथै हिम नदी र हिम दहको चिसोको चरम अनुभूति पनि यसमा निसृत छ ।

२ सय २० पृष्ठको यो कृति अनुभूतिजन्य तीक्ष्णता र सुक्ष्म अवलोकनले मजस्ता परजीवी पाठकदेखी मुर्धन्य पाठकसम्मलाई नीर्जन अन्टार्कटिकामा पाईताला नचलाईकन वीचरण गराउन सफल हुन्छ भन्न सकिन्छ । 

जीवा लामीछाने अध्यायनका हिसाबले ईन्जीनीयर हुन् भने पेशाले व्यवसायी । सामाजिक आलोकमा उनी गैर आवसीय नेपाली संघका संस्थापक सदस्य साथै पूर्व अध्यक्ष हुन् भने साहित्य र लेखनको क्षेत्रमा नियात्राकार हुनुका साथसाथै पद्मश्री पुरस्कारका परीकल्पनाकार र त्यस कोषका अध्यक्ष पनि हुन् ।

मलाई भने लामिछानेका नीयात्रा पुस्तकहरु पढ्दा इव्न वतुता स्मरणमा आइरहे । ३० वर्ष लामो महान् यात्रामा इव्न वतुताले मध्य पूर्वदेखी  पूर्व एसिया, युरोपदेखी पश्चिम अफ्रीका, पुर्वी अफ्रीकादेखी दक्षिण एसिया पुगेका थिए । घोडा र उँटको सहारामा आफूले गरेको यात्रामा भेटिएका मानिस संस्कृति, धर्म, कानुन, खाना र शासन व्यवस्थाबारे उनले वर्णन गरेका छन् । यात्राको महत्व र गुरुत्वको चर्चा गर्दै उनले आफ्नो रिहला नामक पुस्तकमा लेखेका छन्-  यात्राले तिमीलाई प्रथमत नि:शब्द तुल्याउँछ तत्पश्चात तिमीलाई कथाकार बनाउँछ । 

लामिछानेका यात्रा वृतान्त पढ्दा ती मोरक्कन यात्री एवं अन्वेषक  इव्न वतुतालाई सम्झिँदा मलाई लाग्यो- १४ औ शताव्दीमा भइदिएको भए लामिछाने तिनै वतुतासँग लामा लामा यात्रामा निस्कन्थे होला । किनकी लामिछानेको यात्राप्रेम पनि विचित्रको छ । जीवनको मध्यउत्तार्धतीर आईपुग्दा पनि उनी कहिले साईवेरीयाको चीसो हिँउमा कुकुरले तान्ने रीक्सामा सवार हुन पुग्छन् त कहिले स्कुवा डाईवीङ गर्दै सामुद्रिक जीवजन्तुसँग साक्षात्कार गर्छन् । कहीले साहारा मरुभूमिमा बालुवाका पत्रका तरेली हेर्न पुग्छन् त कहिले आफ्नै देशका नदीका खोंमा पुगेर बन्जीबाट हाम्फाल्छन् । 

लामिछानेले पनि आधुनिक यातायातका साधनमार्फत् अफ्रीकादेखी अन्टार्कटिका ,एसियादेखी युरोप हुँदै अष्ट्रेलियासम्मको यात्रा गरी त्यसको वृतान्त आफ्ना कृतिहरू मार्फत् पाठकसमक्ष प्रस्तुत गरेका छन् । आर्थिक स्रोत र साधनका साथै साहित्य शील्पले पनि भरिपूर्ण लामिछानेले आफ्ना अनुभव र अनुभूतिहरू लीपीवद्द गर्दै पाठक सामु पस्किएर नयाँ भूगोल र संस्कृतिबारे नेपाली पाठकलाई नयाँ नयाँ सूचनाहरु प्रदान गरिरहेका छन् । अन्वेषणको त्यो युग र अन्वेषणको आधुनिक युगमा आकाश जमिनको फरक छ तैपनि वतुता, मार्कोपोलो, कोलम्बस, जेम्स कुकलगायत प्रख्यात यात्रीहरूले छोडेका मार्गका पदचापहरुलाई पछ्याउँदै समकालीन यात्री एवं नीयात्राकारहरू आधुनिक यात्रामा निस्किइरहेका पाइन्छन् ।

माथि नै भनिएजस्तो यो पुस्तक लेखकले सन् २०२४ को १३ जनवरी देखि २४ जनवरीसम्न गरेको अन्टार्कटिका महादेशको यात्रा वरपर बुनिएको छ । एउटै यात्रा भए पनि लेखकले पुस्तकलाई २८ उपशीर्षकमा विभाजित गरेका छन् जुन सरल र सुगम्य छन् । ३५ मिटर अग्लो समुद्री छाललाई पार गरेर जब जहाज मानवबिहीन हिउँको सेतो साम्राज्यमा प्रवेश गर्छ तब लेखक भन्छन्- जहाँ छालले बोल्दछ त्यहाँ मौन भएर यात्रा गरिन्छ । 

उनले पुस्तकको आरम्भमै मानिसहरु अन्तरिक्ष, चन्द्रमा हुँदै मंगलतिर लम्किइरहेका बेला पृथ्वीकै एउटा कुनोमा पुग्नुलाई ठूलो उपलब्धि नमानिए पनि यो यात्रा आफ्नो लागि कति महत्वको थियो भन्ने खुलाएका छन् । त्यसकारण यो पुस्तकलाई खासमा लेखकको साकार भएको सपनाको वर्णन पनि भन्न सकिन्छ ।

उनको यो यात्रा यसअर्थमा पनि सामान्य यात्राभन्दा फरक छ किनभने लेखक कहिले मार्कोपोलो त कहीले जेम्स कुकसँग ईतिहासको यात्रा स्वरूप  र आधुनिक यात्रा स्वरूपबारे रोचक मनो-सम्वाद गर्छन् ।  कहिले जहाजका कर्मचारी त कहिलेसँगैका यात्रुहरूसँग पनि संवाद गर्छन् । 

ध्रुवीय स्नान गर्नु पूर्व लेखकको बचैनी र उनको पौडी खेल्ने कलाका विषयमा पानीजहाजका कर्मचारीले गरेको केरकार घतलाग्दो छ । त्यो स्नानपश्चात उनले व्यक्त गरेको अनुभूति  रोमाञ्चक छ । कायकको अनुभवबाट वन्चित हुँदा उनी खल्लो महशुस गर्छन् तर साथै पानीजहाजका क्याप्टेन टिम क्यासमानद्वारा हस्ताक्षरित “ जोकोहीले आँट्न नसक्कने अन्टार्कटिकाको अति चीसो हीमनदीमा बहादुरी र दुस्साहसपूवर्क पौडेर फर्किनु भएकोमा यो प्रमाण पत्र दिएको छु”भन्ने व्योहाराको प्रमाणपत्रले खुशी पनि हुन्छन् । सुविधासम्पन्न पानीजहाजको यो यात्रामा १५२ यात्री र १६८ क्रु मेम्वर रहेका थिए । तीमध्ये सबैले हिमनदीमा स्नान गरेका थिएनन् ।

समुद्रको सुमधुर सिम्फोनी  सुन्न समुद्रको चिसो हावाको पनि सामना गर्नुपर्छ । यसैले त लेखक गलबन्दीका दुइटा फेरलाई दुईतीरबाट दाँतले कोटेर अड्याउँदै जहाजको डेकतिर लम्किन्छन् । अनि फर्केर लेख्छन्- ध्यानस्थ मुद्रामा समुन्द्रको सुमधुर धुनले दिएको आनन्द जीवनकै अवीश्मरणीय क्षण रह्यो । यस्ता अनुभव र अनुभूतिले पुस्तक भरिएको छ । पृष्ठहरु पल्टाउँदै गर्दा पाठक स्वयं अन्टार्कटिकाका सेता हिँउमाथि उभिएको महसुस हुन्छ । अन्टार्कटिकाको यात्रा वातावरण र दूरीका हिसाबले मात्र नभइ आर्थिक रुपमा समेत निकै खर्चिलो हुने भएकाले यहाँसम्म पुग्ने इच्छा भएकाहरुले लागि यो पुस्तक यात्राको पूर्वाभ्यासको अनुभव बन्नसक्छ । 

अन्टार्कटिकामा मानव बसोबास छैन । यसैले यहाँ न कुनै देश छ न कुनै सरकार । मानव सभ्यता, संस्कृति, खानपान, भाषा, धर्म र इतिहासजस्ता यात्रामा खोजिने एवं लेखिने कुराहरु यहाँ छैनन् । त्यसैले यस्तो निर्जन ठाउँको यात्राले मानिसलाई शून्यमा पुर्याउने वा ध्यानस्थ गराउन सक्छ । यसले मानिसलाई आफैंतिर फर्केर हेर्ने अवसर पनि दिनसक्छ । 

यो खासमा चिल्ला सिल र रहरलाग्दा पेनगुइनहरुको प्रदेश हो । यहाँको भूगोल र वनोट बेग्लै छ । पर्यावरण बेग्लै छ । कुनै सरकार वा नियम नभए पनि पर्यावरणप्रतिको मानवीय चेतनाले अहिलेसम्म पेनगुइन र सिलहरुको सुरक्षाका लागि मानिसहरु संयमित हुनुपर्ने लेखकले उल्लेख गरेका छन् । यससँगै लेखक लामिछाने हाम्रो सगरमाथालगायत हीमाली क्षेत्रमा गरिएका लापारवाहीले पर्न जाने पर्यवरणीय असरबारे चिन्ता व्यक्त गर्दछन् जुन जायज लाग्छ । 

हजारौं वर्षदेखि यस पृथ्वीलाई दोहन गर्ने मानव नै हुन् । अन्टार्कटिका यस दोहनबाट जोगिन सक्छ कि सक्दैन भन्नेमा लेखक चिन्तित देखिन्छन् । यहाँको वातावरण र पर्यवरणमा हुने क्षयीकरण अकल्पनीय हुनेछ । त्यहाँको जैवीक विविधतामा खलल पुर्‍याउने कार्यले भावी पुस्ता र संसारलाई पर्ने असरप्रति सजग हुनुपर्दछ भन्ने सन्देश पनि लेखकले दिएका छन् । फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ६ सय रुपैयाँ छ ।

रामजीवी

Link copied successfully