'राइजिङ वेभ अफ इम्प्याक्ट' : युवाका आयाममाथि गहकिलो बहस

माघ ८, २०८१

राजन प्रसाद कुईंकेल

'Rising Wave of Impact': The Fierce Debate on the Dimension of Youth

काठमाडौँ — पछिल्ला वर्षहरूमा सामाजिक उद्यामशिलतामा युवाको चासो निकै बढेको देखिन्छ । सामाजिक उद्यमशिलता र सामाजिक प्रभाव अहिले इन्टरनेटमा पनि उत्तिकै खोजीको विषय बनेको छ । नयाँ पुस्ताबारे जान्ने र युवाहरूले गरिरहेका कार्यबारे खोज्ने सिलसिलामा मैले युवा सामाजिक अभियन्ता दिवाकर अर्यालद्वारा लिखित 'राइजिङ वेभ अफ इम्प्याक्ट' पुस्तक पढ्न पाएँ ।

पुस्तक सामाजिक क्षेत्रमा एक दशकदेखि क्रियाशील युवाको आँखाबाट हेरिएको समाज, सामाजिक उद्यमशिलता, युवा नेतृत्व, राजनीति, शान्ति र कूटनीति तथा पर्यावरण लगायतका विषयमा केन्द्रित छ ।

वास्तवमा २१ औँ शताब्दीमा यी विषयमा युवाहरूले चलाएका विश्वव्यापी अभियानले समाज राजनीति र पर्यावरणमा सकारात्मक प्रभावका लागि आधारशिला निर्माण गर्दै गईरहेको पाएँ । पुस्तकमा पछिलो विकसित समयको चुनौती युवाहरुको रूपान्तरणकारी योगदान विशेष गरी सामाजिक उद्यमशिलता, सामाजिक न्याय, जलवायु तथा दिगो विकासमा भएको सकारात्मक नीतिगत हस्ताक्षेपबारे उजागर पार्न खोजिएको छ । लेखकले पुस्तकमा दिगो र समावेशी समाज निर्माणमा युवा वर्गको भूमिकाको महत्वबारे उल्लेख गरेका छन् । वास्तवमा यो पुस्तक युवा र समाजलाई उद्यमशिलता पर्यावरण नेतृत्व जस्ता कार्यका लागि आह्वान गरिएको एक सशक्त दस्तावेज नै हो ।

युवालाई भौगोलिक सीमाभन्दा बाहिर राखेर हेरिएको यस पुस्तकले शान्त, समृद्ध र भाइचारापूर्ण विश्व व्यवस्थालाई अगाडि लैजान पारस्परिक सहयोग अत्यावश्यक रहेको विषय उठान गरेको छ । जसका कारण जलवायु परिवर्तनबाट हुने नकारात्मक परिवर्तन रोक्दै प्राकृतिक र दिगो विकासलाई जोड दिन सकिन्छ भन्ने विषयलाई लेखकले जोड दिएका छन् ।

वर्तमान विश्वलाई नयाँ आकार दिन परिवर्तनका संवाहक भनेका आजका युवा आधारभूत भूमिकाबाट पन्छिन मिल्दैन भन्ने विषय पनि लेखकले उठाएका छन् । आफ्नै समाजको आमूल परिवर्तनमा युवाको शक्तिबारे व्याख्या गरिएको पुस्तकले समाजका विभिन्न अवयवहरूको विस्तृत व्याख्या गरेको छ । वातावरणीय संकट आजको टड्कारो विश्व समस्या बनेको छ । ‘जलवायु परिवर्तनले पर्यावरणीय संकट मात्र निम्त्याउँदैन यसले कालान्तरमा सामाजिक र आर्थिक विपत्तीहरु समेत निम्त्याउँछ र समग्र मानव सभ्यतामा नै नकारात्मक प्रभाव पारी इको–सिष्टमलाई नै नष्ट गर्छ’ पुस्तकमा भनिएको छ ।

दिगो विकास, श्रोत संरक्षण, वन, फोहोर व्यवस्थापन, सार्वजनिक सचेतना र शिक्षामा नीतिगत सुधार, कृषिमा दिगोपन, सामुदायिक सहभागिता तथा अन्तर्राष्ट्रिय समन्वय मार्फत सम्भावित वातावरणीय संकट समाधान गर्न सकिन्छ भन्ने विषय पुस्तकमा प्रमुखताका साथ उल्लेख गरिएका छन् । सीप र स्वरोजगारका क्षेत्रमा युवालाई प्रोत्साहित गर्न नेपालको केन्द्रीय तथा स्थानीय सरकारहरूले विगतमा भन्दा प्राथामिकतामा राखेको तर युवा जनसंख्याको अनुपातमा नीति तथा कार्यक्रमलाई अद्यावधिक गर्नु जरूरी रहेको सुझाव पनि लेखकले दिएका छन् ।

साथै तुलनात्मक रुपमा युवा मन्त्रालयमा यथेष्ट बजेट उपलब्ध गराउने काममा समेत उदासिनता देखिएको उल्लेख गरिएको छ । युवा विकास सूचकांकका लागि थुप्रै सुधारका कामहरू गर्नुपर्ने सुझाव दिइएको पुस्तक सामाजिक उद्यमशिलतामा लाग्ने युवाहरुका लागि प्रेरणादायी छ । राष्ट्रिय युवा नीतिले सबैखाले युवालाई प्रतिनिधित्व गर्न नसकेको र त्यसका लागि सरकारले विद्यमान समकालीन चुनौतीको सामना गर्न युवालाई सशक्तीकरण गर्दै दिगो विकास रणनीतिमार्फत नयाँ पुस्तालाई अगाडी बढाउन जोड दिइएको छ । स्वर्णिम भविष्यको आकार निर्माणमा युवामाथि लगानी अपरिहार्य रहेकामा लेखकले पुस्तकमार्फत् जोड दिएका छन् ।

नेपालमा विगत दुई दशकदेखि मुनाफा आर्जनमा मात्रभन्दा पनि यसले पार्ने सकारात्मक सामाजिक प्रभावलाई मुख्य रूपमा ध्यान दिएको विषयलाई पुस्तकमा उठान गरिएको छ । नेपालमा सामाजिक उद्यमशिलताको सुझावले सीमान्तकृत, अल्पसंख्यक, आर्थिक रूपमा पछाडि पारिएका महिला तथा युवाको मुद्दालाई मुल विषयका रुपमा अँगालेको पाईन्छ । आर्थिक सामाजिक तथा वातावरणीय मुद्दाहरूमा सामाजिक उद्यमले सकारात्मक प्रभाव पारेको विषयबारे पुस्तकमा मिहिन चर्चा गरिएको छ । नेपाल जस्ता न्यून तथा मध्यम आय भएका देश जलवायु परिवर्तनको जोखिममा रहेको कुरा पुस्तकमा उल्लेख गरिएको छ ।

विश्वव्यापी रूपमा पर्यावरण शिक्षाको प्रबर्द्धन र कार्बन उत्सर्जन गर्ने बहुराष्ट्रिय कम्पनीमा दायित्व बोधबाट मात्र पर्यावरण संरक्षण गर्न सकिने विषय समेत उठान गरिएको छ । मुलुकमा गएका सात दशकमा भएको राजनीतिक परिवर्तनमा युवा वर्गको महत्वपूर्ण र प्रभावकारी भूमिका रहेको विषयलाई पुस्तकमा महत्वका साथ उठाईएको छ । 'रुपान्तरणकारी नेतृत्वले एउटा सुन्दर भविष्यको आकार प्रस्तुत गर्न सक्छ र सोही मुताविक काम गर्न सक्छ' भन्ने विषय उठान गरिएको छ । पैरवी, अधिकार र लोकतान्त्रिक सहभागिताका लागि युवा सशक्तीकरण आवश्यक रहेको लेखको तर्क छ ।

नेपालमा युवा सशक्तीकरण किन अर्थपूर्ण छ ?, लोकतान्त्रिक पद्धतिभित्र युवाका अधिकार कसरी समेटिनु पर्छ ?, युवा अधिकारका लागी पैरवी कसरी गर्ने ?, युवाहरु राष्ट्र निर्माणका बहक हुन् भन्ने विषयलाई कसरी स्थापित गर्ने ?, नेपाली लोकतन्त्रमा युवाको भविष्य लगायतका विषयमा पुस्तकले अवधारणागत प्रष्टता राखेको छ । २१ औँ शताब्दीमा मानसिक स्वास्थ्य किन महत्वपूर्ण हुँदै गईरहेको छ र त्यसमा पनि खास युवा उमेर समुहमा यसको नकारात्मक प्रभाव किन बढिरहेको छ भन्ने विषयमा चर्चा गरिएको छ । युवा र तनाव युवा स्वास्थ्यमा यसको प्रभाव जस्ता विषय समेटेर लेखकले आफूलाई बहुआयामिकतामा ढालेका छन् । नेपालमा युवाको वर्तमान अवस्था, युवाका विषयमा विश्वव्यापी मान्यताहरु, युवा परिचालनको अन्तर्राष्ट्रिय अभ्यास, युवा सरोकारका विषयमा भएका संवैधानिक प्रावधानहरू र नेपालमा युवाका मुख्य मुद्दामा कलम चलाएर लेखकले नयाँ बहस थालनी गरेका छन् ।

त्यस्तै, पुस्तकमा सकारात्मक प्रभावबारे चर्चा गरिएको छ । जस्तै, नयाँ राजनीतिक सृजना, उद्यमशिलताको प्रबर्द्धन, निर्णय निर्माण प्रकृयामा र नेतृत्वमा तुलनात्मक रूपमा युवाको प्रत्यक्ष सहभागिता, अन्तरदेशीय बसाइसराइँ, मानसिक स्वास्थ्य र परामर्श सेवा उपलब्धि प्रविधिको उच्चतम प्रयोग लगायत विषयमा व्यापक चर्चा गरिएको छ । पछिल्लो पुस्ताका लागि नेपालको शिक्षा प्रणालीको पुनःसंरचनाबाट युवाको धारणालाई पुस्तकले समेटेको छ । सामाजिक सुविधा, समान पहुँच र रोजगारका विषयमा चर्चा गरिएको 'राइजिङ वेभ अफ इम्प्याक्ट' पुस्तक युवाहरूका लागि निकै प्रेरणादायी छ ।

राज्यको सुविधा उपभोग गर्ने तर उत्तरदायी नहुने निष्कृय नागरिकलाई पनि पुस्तकले झक्झक्याउने प्रयास गरेको छ । 'स्वास्थ्य सेवा भनेको सुविधा होइन, अधिकार हो । सशक्तीकरणको जरा शिक्षा हो । आर्थिक सुरक्षाको अधिकार रोजगारी हो ।' भन्ने लगायतका विषय पुस्तकमा उठान गरिएको छ । प्राविधिक शिक्षाको गुणस्तर प्रबर्धनमा नेपालमा खासै काम हुन नसकेको सन्दर्भलाई महत्व दिइएको छ । २१ औँ शताब्दीमा एआई (कृत्रिम बौद्धिकता) र सामाजिक उद्यमशिलताबीचको सम्बन्ध र आगामी दिनमा हुने नयाँ अन्वेषण र आविष्कार लगायतका विषयसमेत पुस्तकमा समेटिनुले लेखकको लेखकीय क्षितिज नियाल्न सकिन्छ ।

युवाहरूले सामाजिक सञ्जालको अनावश्यक प्रयोग गर्दा कसरी सृजनशिलता मर्छ भन्ने विषयलाई पनि पुस्तकले समेटिएको छ । मानव जातीको भविष्य र कृत्रिम बौद्धिकताबारे चिन्ता व्यक्त गरिएको पुस्तकमा शान्ति र न्यायलाई पनि उचित स्थान दिइएको छ । यससँगै पुस्तकमा लेखकले विश्वका विभिन्न देशमा भएको आफ्नो यात्रा, उक्त मुलुकमा सामाजिक उद्यमशिलताको अवस्था, शान्ति र लोकतन्त्रबारे यात्रामा भएका संस्मरणको चर्चा गरेका छन् । समग्रमा 'राइजिङ वेभ अफ इम्प्याक्ट' पुस्तकले आजका युवाको चासो, चिन्ता, भविष्यको गोरेटो जस्ता विषयमा निकै नै राम्रो बहस छेडेको छ । 

राजन

Link copied successfully