कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एक थिए पन्‍नाकाजी 

‘पन्‍नाकाजी परिवारमा मात्रै होइन, देशकै लागि ‘पन्‍ना ’ बनेर चिनिए ।’

मानिसले आफ्नो संक्षिप्त जीवनकालमा आफ्ना साहसिक क्रियाकलाप, चामत्कारिक कार्य, उपलब्धि, अन्वेषण गतिविधि वा रचना, गीत–संगीतको माध्यमबाट विविध कार्यहरु गर्दैैै जीवनलाई सार्थक तुल्याउने प्रयत्न गरिरहेकै हुन्छ । यस्तै प्रयत्नमा लागिपरेका एक सत्पात्र थिए– पन्नाकाजी । 

एक थिए पन्‍नाकाजी 

गीत–संगीतको गोरेटोमा ३५ वर्षभन्दा बढी लागिपरेका पन्नाकाजीले आफ्नो स्वर र लयद्वारा आफूसितै अनेक रचनाकारलाई अमर र लोकप्रिय बनाए । १९८८, पुस २४ मा काठमाडौंको ओमबहालमा चतुरमान शाक्य र बालकुमारी शाक्यका कनिष्ठ पुत्रका रूपमा जन्मेका गायक पन्नाकाजी आफ्नो परिवारमा मात्रै होइन, देशकै लागि ‘पन्ना’ बनेर चिनिए ।

‘तिरीरी मुरली बज्यो बनैमा...’ जस्ता उनका कालजयी गीतहरुका धून र त्यससित मिश्रित उनको स्वर आज पनि कानमा गुञ्जिराख्दा मन प्रशन्न हुन्छ । संगीतकार सी.के.रसाइलीले पन्नाकाजीलाई नेपालको तलत महमूदको संज्ञा दिएका थिए । तलत महमूदले पनि पन्नाकाजीलाई दुरुस्त आफ्नै स्वरमा गाएको सुन्दा मुक्तकण्ठले उनको प्रशंसा मात्रै गरेनन्, उनलाई संगीत–साधनाका लागि भारत लैजाने प्रस्ताव पनि राखेका थिए ।

गीतकार माधवप्रसाद खनाल ‘भावुक’का शब्दमा, ‘पन्नाकाजीले आवाज दिएका गीतहरू जीवन्त बनेका छन् । उनी हृदयले गाउने गायक हुन् ।’ हालै दिंवगत भएका गायक ध्रुव केसीले पनि ‘स्वरले मुटु छुनु र संगीतले मनलाई झंकृत पार्नुलाई पन्नाकाजीको विशेषता’ भनेर टिप्पणी गरिसकेका छन् ।

नेपाली साहित्य जगतका अग्रजहरु बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भीमनिधि तिवारी, शंकर लामिछाने र जनार्दन समदेखि लिएर मविवि शाहसम्मका रचनालाई पन्नाकाजीले स्वर भरेका छन् । पन्नाकाजीले गाएको मविवि शाहको रचना ‘आमा तिमीलाई शुभकामना’ लाई पछि गएर भारतकी कोकिलकण्ठी लता मंगेश्करबाट, ‘तिरीरी मुरली बज्यो बनैमा’ बोलको गीत बंगलादेशकी गायिका रेबिका सफी उल्लाह र ‘किन–किन तिम्रो तस्बिर’ तथा ‘लोलाएका ती ठूला...’ गीत पाकिस्तानका प्रसिद्ध गायक गुलाम अलीबाट स्वर प्रदान गरिएको छ । यी सिर्जनाले पन्नाकाजीलाई गायन जगतमा एउटा उचाइ मात्र दिएन, उनको प्रसिद्धि ती देशहरुमा समेत संगीत क्षेत्रमा फैलिन पुगेको थियो । राजा महेन्द्रको दार्जीलिङ यात्राको कलाकार टोलीमा पनि पन्नाकाजी सम्मिलित थिए ।

एक रेडियो उद्घोषकका रूपमा मैले पनि ४२ वर्षको आफ्नो सेवाकालमा उनका कैयन गीतहरु अनेकौं पल्ट बजाउने अवसर पाएँ । सन् ६० को दशकतिर नेपाली गीतका रेकर्डहरु किन्न पाइन्नथ्यो । भारतका केही रेकर्डिङ कम्पनीहरुले नेपाली गीतहरु रेकर्ड गर्ने गरेका भए पनि तिनको संख्या २–४ वटा मात्रै हुन्थ्यो । इन्द्रेणी रेकर्डिङ र रत्न रेकर्डिङ जस्ता कम्पनी देशभित्र स्थापना भएको थिएन । यसर्थ अधिकांश गीतहरु स्टुडियोमा टेपमा भरिन्थे । तिनैताका भारत सरकारले नयाँ दिल्लीबाट नेपाली भाषामा कार्यक्रमको प्रसारण थाल्यो— मूल रूपमा नेपाल र भारतका नेपालीभाषी क्षेत्रका लागि ।

कार्यक्रम विधिवत् रूपमा थाल्नुअघि अल इन्डिया रेडियोका केही प्राविधिक एवम् प्रशासकीय अधिकारीको एक टोली काठमाडौं आयो— नेपाली गीतहरु टेपमा रेकर्ड गर्न । त्यति बेला खर्साङमा अल इन्डिया रेडियोको स्टेसन स्थापित भइसकेको थिएन । फलस्वरूप काठमाडौंमा भारतीय दूतावासको सौजन्य र सहयोगबाट ठूलो संख्यामा नेपाली गायक–गायिकाहरुका गीतहरु टेपमा रेकर्ड गरेर लगिए । यिनै गायकमध्ये एक थिए पन्नाकाजी । कार्यक्रम सुरु भएपछि यी गायक कलाकारका गीत नियमित रूपमा बज्न थाले । र, पछि यीमध्ये अनेक गीतहरु रेडियो खर्साङलाई उपलब्ध गराइयो ।

संयोगवश, सन् १९६२ मा मैले अल इन्डिया रेडियोको नेपाली कार्यक्रममा एक जना क्याजुअल आर्टिस्टको रूपमा प्रवेश गरे र, पछि स्टाफ आर्टिस्टको रूपमा जागिर पाएँ । उद्घोषण ड्यूटी पर्दा बजाउने गीतमा पन्नाकाजीका गीतहरु पर्दथे । आधा घण्टाको स्पूल टेपमा लगभग ६–७ वटा गीतहरु भरिएका हुन्थे । उद्घोषणको ड्यूटीले मलाई धेरै नेपाली गायक–गायिकका गीतहरु सुन्ने र तिनका आवाजबाट परिचित हुुने अवसर जुरायो । पन्नाकाजी आवाजको मधूरता, गीतलाई जीवन्त रुप दिने क्षमता, अनि गलाले प्रकट गर्ने हृदयको स्पन्दनले मलाई लठ्ठै पार्दथ्यो । कुनैकुनै गीतहरु सुन्दै गर्दा त म भावविभोर पनि हुन्थेँ, किनभने तिनमा वेदनाको भाव प्रकट भइरहेको हुन्थ्यो ।

नयाँदिल्ली यात्रामा जाने अधिकांश नेपाली गायकको चाहना अल इन्डिया रेडियोबाट आफ्नो गीत बजोस् भन्ने हुन्थ्यो र, उनीहरु कुनै न कुनै रूपमा हाम्रो सम्पर्कमा आउँथे । र, हामी पनि यथाशक्य उनीहरुका गीतहरु रेकर्ड गरी आफ्नो गीत भण्डारको श्रीवृद्धि गर्ने गथ्र्यौं । तर पन्नाकाजी कि त नयाँदिल्ली आएनन् वा अल इन्डिया रेडियोबाट आफ्ना जति गीतहरु बजिरहेका थिए, त्यसैमा सन्तुष्ट भएर हाम्रो सोझो सम्पर्कमा आउन चाहेनन् ।

२००४ सालदेखि नेवाः र नेपाली भाषामा नाटक खेल्दै, रंगमञ्चबाट संगीतको क्षेत्रमा ओर्लँदै पन्नाकाजी २००८ सालमा रेडियो नेपालमा प्रवेश गरेका थिए । चलचित्र समीक्षक प्रकाश सायमिका अनुसार पन्नाकाजीले ३ सयभन्दा बढ़ी गीत रेकर्ड गराए र, डेढ सयभन्दा बढ़ी गीतमा संगीत दिए । नृत्यांगना विमला देवीका अनुसार, हाम्रो समाजमा पन्नाकाजी जति सज्जन, भद्र र मधुरभाषी अर्को स्रष्टा थिएनन् कि भन्ने लाग्छ । उनका सन्तानमध्ये प्रवेशमान र पवित्रमान शाक्य पनि गायन क्षेत्रमै समर्पित छन् । पन्नाकाजीले २०२३ सालमा रेडियो नेपालको १७ औं वर्षगाँठको अवसरमा सर्वोत्तम साधक उपाधिप्राप्त गरेका थिए ।

यो संघर्षको कथानका माझ २०७३ साल माघ १२ गतेको दिन नेपाली संगीतको एक जाज्वल्यमान तारा अस्तायो, नेपाली संगीत क्षेत्रको एक युगीन तारा । ८६ वर्षको उमेरमा पन्नाकाजीको निधन भयो । नवोदित गायक तथा कलाकारको आगमनबाट संगीतमा आधुनिकताको छाप पर्न थाल्यो, श्रोताहरुले पनि नयाँ स्रष्टाहरु पाउन थाले ।

जन–जीवनमा परेको आधुनिकताको छाप नेपाली संगीतमा पनि पर्न थाल्यो । आधुनिक गीतहरुबाट प्रभावित र प्रचलित हुन थालेको समाजमा पुराना गायक, स्रष्टा र साधक क्रमशः ओझेलमा पारिँदै गए । यही कारण पन्नाकाजी पनि विस्मृतिमा पर्दै गए ।

प्रकाशित : माघ १२, २०७७ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?