एक थिए पन्‍नाकाजी 

‘पन्‍नाकाजी परिवारमा मात्रै होइन, देशकै लागि ‘पन्‍ना ’ बनेर चिनिए ।’

माघ १२, २०७७

प्रकाशप्रसाद उपाध्याय

मानिसले आफ्नो संक्षिप्त जीवनकालमा आफ्ना साहसिक क्रियाकलाप, चामत्कारिक कार्य, उपलब्धि, अन्वेषण गतिविधि वा रचना, गीत–संगीतको माध्यमबाट विविध कार्यहरु गर्दैैै जीवनलाई सार्थक तुल्याउने प्रयत्न गरिरहेकै हुन्छ । यस्तै प्रयत्नमा लागिपरेका एक सत्पात्र थिए– पन्नाकाजी । 

गीत–संगीतको गोरेटोमा ३५ वर्षभन्दा बढी लागिपरेका पन्नाकाजीले आफ्नो स्वर र लयद्वारा आफूसितै अनेक रचनाकारलाई अमर र लोकप्रिय बनाए । १९८८, पुस २४ मा काठमाडौंको ओमबहालमा चतुरमान शाक्य र बालकुमारी शाक्यका कनिष्ठ पुत्रका रूपमा जन्मेका गायक पन्नाकाजी आफ्नो परिवारमा मात्रै होइन, देशकै लागि ‘पन्ना’ बनेर चिनिए ।

‘तिरीरी मुरली बज्यो बनैमा...’ जस्ता उनका कालजयी गीतहरुका धून र त्यससित मिश्रित उनको स्वर आज पनि कानमा गुञ्जिराख्दा मन प्रशन्न हुन्छ । संगीतकार सी.के.रसाइलीले पन्नाकाजीलाई नेपालको तलत महमूदको संज्ञा दिएका थिए । तलत महमूदले पनि पन्नाकाजीलाई दुरुस्त आफ्नै स्वरमा गाएको सुन्दा मुक्तकण्ठले उनको प्रशंसा मात्रै गरेनन्, उनलाई संगीत–साधनाका लागि भारत लैजाने प्रस्ताव पनि राखेका थिए ।

गीतकार माधवप्रसाद खनाल ‘भावुक’का शब्दमा, ‘पन्नाकाजीले आवाज दिएका गीतहरू जीवन्त बनेका छन् । उनी हृदयले गाउने गायक हुन् ।’ हालै दिंवगत भएका गायक ध्रुव केसीले पनि ‘स्वरले मुटु छुनु र संगीतले मनलाई झंकृत पार्नुलाई पन्नाकाजीको विशेषता’ भनेर टिप्पणी गरिसकेका छन् ।

नेपाली साहित्य जगतका अग्रजहरु बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भीमनिधि तिवारी, शंकर लामिछाने र जनार्दन समदेखि लिएर मविवि शाहसम्मका रचनालाई पन्नाकाजीले स्वर भरेका छन् । पन्नाकाजीले गाएको मविवि शाहको रचना ‘आमा तिमीलाई शुभकामना’ लाई पछि गएर भारतकी कोकिलकण्ठी लता मंगेश्करबाट, ‘तिरीरी मुरली बज्यो बनैमा’ बोलको गीत बंगलादेशकी गायिका रेबिका सफी उल्लाह र ‘किन–किन तिम्रो तस्बिर’ तथा ‘लोलाएका ती ठूला...’ गीत पाकिस्तानका प्रसिद्ध गायक गुलाम अलीबाट स्वर प्रदान गरिएको छ । यी सिर्जनाले पन्नाकाजीलाई गायन जगतमा एउटा उचाइ मात्र दिएन, उनको प्रसिद्धि ती देशहरुमा समेत संगीत क्षेत्रमा फैलिन पुगेको थियो । राजा महेन्द्रको दार्जीलिङ यात्राको कलाकार टोलीमा पनि पन्नाकाजी सम्मिलित थिए ।

एक रेडियो उद्घोषकका रूपमा मैले पनि ४२ वर्षको आफ्नो सेवाकालमा उनका कैयन गीतहरु अनेकौं पल्ट बजाउने अवसर पाएँ ।  सन् ६० को दशकतिर नेपाली गीतका रेकर्डहरु किन्न पाइन्नथ्यो । भारतका केही रेकर्डिङ कम्पनीहरुले नेपाली गीतहरु रेकर्ड गर्ने गरेका भए पनि तिनको संख्या २–४ वटा मात्रै हुन्थ्यो । इन्द्रेणी रेकर्डिङ र रत्न रेकर्डिङ जस्ता  कम्पनी देशभित्र स्थापना भएको थिएन । यसर्थ अधिकांश गीतहरु स्टुडियोमा टेपमा भरिन्थे । तिनैताका भारत सरकारले नयाँ दिल्लीबाट नेपाली भाषामा कार्यक्रमको प्रसारण थाल्यो— मूल रूपमा नेपाल र भारतका नेपालीभाषी क्षेत्रका लागि । 

कार्यक्रम विधिवत् रूपमा थाल्नुअघि अल इन्डिया रेडियोका केही प्राविधिक एवम् प्रशासकीय अधिकारीको एक टोली काठमाडौं आयो— नेपाली गीतहरु टेपमा रेकर्ड गर्न  । त्यति बेला खर्साङमा अल इन्डिया रेडियोको स्टेसन स्थापित भइसकेको थिएन । फलस्वरूप काठमाडौंमा भारतीय दूतावासको सौजन्य र सहयोगबाट ठूलो संख्यामा नेपाली गायक–गायिकाहरुका गीतहरु टेपमा रेकर्ड गरेर लगिए । यिनै गायकमध्ये एक थिए पन्नाकाजी । कार्यक्रम सुरु भएपछि यी गायक कलाकारका गीत नियमित रूपमा बज्न थाले । र, पछि यीमध्ये अनेक गीतहरु रेडियो खर्साङलाई उपलब्ध गराइयो ।

संयोगवश, सन् १९६२ मा मैले अल इन्डिया रेडियोको नेपाली कार्यक्रममा एक जना क्याजुअल आर्टिस्टको रूपमा प्रवेश गरे र, पछि स्टाफ आर्टिस्टको रूपमा जागिर पाएँ । उद्घोषण ड्यूटी पर्दा बजाउने गीतमा पन्नाकाजीका गीतहरु पर्दथे । आधा घण्टाको स्पूल टेपमा लगभग ६–७ वटा गीतहरु भरिएका हुन्थे ।  उद्घोषणको ड्यूटीले मलाई धेरै नेपाली गायक–गायिकका गीतहरु सुन्ने र तिनका आवाजबाट परिचित हुुने अवसर जुरायो । पन्नाकाजी आवाजको मधूरता, गीतलाई जीवन्त रुप दिने क्षमता, अनि गलाले प्रकट गर्ने हृदयको स्पन्दनले मलाई लठ्ठै पार्दथ्यो । कुनैकुनै गीतहरु सुन्दै गर्दा त म भावविभोर पनि हुन्थेँ, किनभने तिनमा वेदनाको भाव प्रकट भइरहेको हुन्थ्यो  ।

नयाँदिल्ली यात्रामा जाने अधिकांश नेपाली गायकको चाहना अल इन्डिया रेडियोबाट आफ्नो गीत बजोस् भन्ने हुन्थ्यो र, उनीहरु कुनै न कुनै रूपमा हाम्रो सम्पर्कमा आउँथे । र, हामी पनि यथाशक्य उनीहरुका गीतहरु रेकर्ड गरी आफ्नो गीत भण्डारको श्रीवृद्धि गर्ने गथ्र्यौं । तर पन्नाकाजी कि त नयाँदिल्ली आएनन् वा अल इन्डिया रेडियोबाट आफ्ना जति गीतहरु बजिरहेका थिए, त्यसैमा सन्तुष्ट भएर हाम्रो सोझो सम्पर्कमा आउन चाहेनन् ।

२००४ सालदेखि नेवाः र नेपाली भाषामा नाटक खेल्दै, रंगमञ्चबाट संगीतको क्षेत्रमा ओर्लँदै पन्नाकाजी २००८ सालमा रेडियो नेपालमा प्रवेश गरेका थिए । चलचित्र समीक्षक प्रकाश सायमिका अनुसार पन्नाकाजीले ३ सयभन्दा बढ़ी गीत रेकर्ड गराए र, डेढ सयभन्दा बढ़ी गीतमा संगीत दिए । नृत्यांगना विमला देवीका अनुसार, हाम्रो समाजमा पन्नाकाजी जति सज्जन, भद्र र मधुरभाषी अर्को स्रष्टा थिएनन् कि भन्ने लाग्छ । उनका सन्तानमध्ये प्रवेशमान र पवित्रमान शाक्य पनि गायन क्षेत्रमै समर्पित छन् । पन्नाकाजीले २०२३ सालमा रेडियो नेपालको १७ औं वर्षगाँठको अवसरमा सर्वोत्तम साधक उपाधिप्राप्त गरेका थिए । 

यो संघर्षको कथानका माझ २०७३ साल माघ १२ गतेको दिन नेपाली संगीतको एक जाज्वल्यमान तारा अस्तायो, नेपाली संगीत क्षेत्रको एक युगीन तारा । ८६ वर्षको उमेरमा पन्नाकाजीको निधन भयो । नवोदित गायक तथा कलाकारको आगमनबाट संगीतमा आधुनिकताको छाप पर्न थाल्यो, श्रोताहरुले पनि नयाँ स्रष्टाहरु पाउन थाले ।

जन–जीवनमा परेको आधुनिकताको छाप नेपाली संगीतमा पनि पर्न थाल्यो । आधुनिक गीतहरुबाट प्रभावित र प्रचलित हुन थालेको समाजमा पुराना गायक, स्रष्टा र साधक क्रमशः ओझेलमा पारिँदै गए । यही कारण पन्नाकाजी पनि विस्मृतिमा पर्दै गए । 

प्रकाशप्रसाद

Link copied successfully