कोरोना लागेन हजुर, सरकार लाग्यो !

दोस्रो जनआन्दोलनका ‘फ्रन्टलाइनर’ कवि अर्जुन पराजुली यतिबेला शब्दको सहारामा सत्ताको बेइमानीप्रति तीर प्रहार गर्दै नागरिकको पक्षमा पुनः आवाज बुलन्द बनाउँदै छन् ।
गोकर्ण गौतम

काठमाडौँ — मल छ भनौं– 
जनताको खेतमा मल छैन !
मल छैन भनौं–
सरकारको दिमागमा
मलबाहेक केही छैन !! 

कोरोना भाइरसको सन्त्रासबीच बुधबार चितवनका कृषकहरू मल लिन ठेलमेठेल गर्दै घण्टौं लाइन बस्न बाध्य भए । कृषिप्रधान देशका कृषकले मल नपाएको कारुणिक तस्बिर मिडिया र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भए । त्यही रन्कोमा बिहीबार बिहानै कवि अर्जुन पराजुलीले माथिका पंक्तिहरू फेसबुकमा पोस्ट गरे । जम्माजम्मी १५ शब्दको उक्त कवितामा किसानले भोगिरहेको तीतो नियति त छ नै, सरकारको कार्यक्षमता र नियतमाथि पनि तीखो व्यंग्य कसिएको छ । यही कारण उनको कविता सामाजिक सञ्जालमा सहलझैं फैलियो ।

कवि पराजुलीको मूल विशेषता पनि त्यही हो, सत्ताको कर्तुत नग्याउँदै नागरिकको आवाज बुलन्द बनाउने । लकडाउन सुरु भएपछि फेसबुकमा उनले पोस्टिएका छोटा कविताहरू यसको ताजा प्रमाण हुन् । त्यसअगाडि, अझ भनौं, दोस्रो जनआन्दोलताका पराजुलीका शब्दका सामर्थ्यबारे त जन जन जानकार छन् नै । त्यतिबेला गणतन्त्र ल्याउन उनले शब्दमार्फत आगो ओकले, अहिले त्यही गणतन्त्रमा रैदलो गर्ने शासकका हर्कतमाथि निरन्तर तीर प्रहार गरिरहेका छन्, जो जनमतबाटै चुनिए तर अहिले जनभावनाकै खिलापमा छन् । त्यतिबेला सडक पुगेर कविता सुनाउँथे, अहिले सामाजिक सञ्जालले सडकको काम गरेको छ । फरक यत्ति–यत्ति नै हो ।

‘सरकारले नागरिकका लागि जे गर्नुपर्ने हो, त्यो नगरेको कुराहरू कविता लेखेको छु । जनतासँग प्रत्यक्ष जोडिएका सरोकारबाहेक अरूसँग मलाई मतलब छैन,’ पराजुलीले बिहीबार कान्तिपुरसँग भने ।

केपी ओलीको सरकारको कार्यशैली र नागरिकप्रतिको व्यवहारसँग पराजुली पहिल्यैबाट सन्तुष्ट थिएनन् । ओली जे–जे गर्छु भनेर सत्तामा पुगेका थिए, त्यही–त्यही नगरी बकम्फुसे गफमा रमाइरहेका थिए । सरकारप्रतिको नागरिकको विश्वासमा धोका भएकै थियो । तर, पनि पराजुली उतिबिघ्न आक्रोशित भइसकेका थिएनन् । समय छ, केही गर्लान् कि भन्ने आश बाँकी हुँदो हो ।

त्यही बेला कोरोना भाइरस आयो, लकडाउन गर्नैपर्ने बाध्यता आइलाग्यो । संकटका बेला नागरिकले सरकारसँग साथ खोज्छन्, छहारी खोज्छन्, आँट खोज्छन् । सरकारको दायित्व नै हो, नागरिकलाई बचाउनु र विचलित हुन नदिनु । दुर्भाग्य ! मेडिकल सामग्री खरिदमै भ्रष्टचारका खबरहरू सार्वजनिक भए । त्यसपछिचाहिँ पराजुली चुप बस्नै सकेनन् । ‘औषधि ल्याउँदासमेत भ्रष्टचार गरे । कात्रोमा खल्ती हाले । लासमा पनि कमिसन खान थाले । त्यसपछि असह्य भयो,’ उनले आक्रोशमय स्वरमा भने, ‘सद्दे दिमागले न त्यस्तो गर्न सक्छ, न त्यस्तो हुँदा सहन ।’

कविलाई चित्त नबुझे के गर्छ ? कविता लेख्छ । कविता नै उसको आन्दोलन हो । पराजुलीले पनि आफ्नो हतियार अर्थात् शब्दहरू प्रयोग गर्न थाले ।

बहादुरका सन्तान हौं लडेर खान्छौं

कोरोनाको काँधमा चढेर खान्छौं

डढेलो लाग्यो, लागोस् जमिनमा

तर हामी

ज्यानमा हेलिकप्टर जडेर खान्छौं

लकडाउनका दौरान सरकारले देखाएको रबैयाले पराजुलीको मनमा राँको बलेको छ । उनकै शब्दमा, सामान्य अवस्था त भष्ट्रचार गरे, बदमासी गरे तर मान्छेहरू भटाभट मर्न लागिरहँदा, चारैतिर कोलाहाल हुँदा पनि पैसा गुम्ल्याउनै मरिहत्ते गरे । ‘सरकार त सम्पूर्ण साधनस्रोत खर्चेर नागरिकलाई बचाउन लाग्नुपर्ने तर संकटलाई कमाउने मौकाका रूपमा प्रयोग गर्न थालियो, विवेक हुने मान्छेले त्यस्तो गर्नै सक्दैन,’ पराजुलीले चर्किए, ‘महामारीमा गरिएको यो महाअपराध हो ।’

अत्ति भएपछि, सरकारका गलत कदमको नागरिकस्तरबाट विरोध हुन थाल्यो, सामाजिक सञ्जाल असन्तुष्टि पोखिन थाले । सबैलाई आशा थियो– सरकार अब सच्चिन्छ र महाव्याधि नियन्त्रणमा दत्तचित्त भएर लाग्छ । तर, फेरि पनि सरकारले निरन्तर निराश बनाउँदै लग्यो । पराजुलीले अर्को प्रहार गरे :

मेरो बस्तीमा

बाढी लागेन

पहिरो लागेन

आगो लागेन

कोरोना लागेन

तर के गर्नु हजुर

सरकार लाग्यो !

यो त्यही बेला थियो, जतिबेला घर फर्कन आतुर नागरिकप्रति राज्य निकै असंवदेनशील रूपमा प्रस्तुत हुँदै थियो । परदेशमा पिल्सिएका र उनीहको प्रतीक्षामा स्वदेशमा अनिँदो बसिरहेका आफन्तको पीडाले सरकार सञ्चालकहरूलाई छोइरहेको थिएन । ‘विदेशका एयरपोर्टमा नेपाली लाइन लागेर बसिरहेका हुन्थे तर प्लेन रित्तै फर्कन्थ्यो । भारतीय सीमामा हजारौं नागरिक अलपत्र थिए,’ पराजुली खिन्नता प्रकट गर्छन्, ‘परदेशमा नागरिकहरू अत्तालिरहेका थिए, यहाँ ल्याएर व्यवस्थापन गर्नुपर्थ्यो । तर, साथ दिनुपर्ने बेला सरकारले लात हान्यो ।’

रोजगारीका लागि भारत, खाँडीसहित विभिन्न देश पुगेका नागरिकप्रति आधारभूत मानवीयता पनि प्रकट नगरेको आरोप छ उनको । कतिचाहिँ बल्लतल्ल स्वदेश त आए तर यहाँको लथालिंग क्वारेन्टाइनमा ‘यातना’ भोग्न बाध्य भए, मानसिक तनावमा फसे, कतिले त आत्महत्या रोजे । यसको जिम्मेवार को हो ? मर्का पर्दा साथ नदिने सरकारको के काम ? यस्ता प्रश्नले यी कविलाई खुब सताउने गर्छ ।

मान्छे अस्पतालमा पहिल्यै मर्छ

रिपोर्ट पछि आउँदै गर्छ

रिपोर्ट आउन्जेल त पर्खिनु नि !

सरकारलाई कस्तो अप्ठेरो पर्छ !!

पराजुली सरकारका गलत हर्कतलाई नागरिकसमक्ष पुर्‍याउन जहिल्यै डटेर लागिपर्छन् । आफूलाई सधैं सरकारको प्रतिपक्ष मान्छन् । यसको कारण छ उनीसँग, ‘सत्ता सधैं नागरिकको विपक्षमा हुँदो रहेछ, म नागरिकको पक्षमा बोल्न खोज्छु । त्यसैले म सत्ताको सदाबहार प्रतिपक्ष हुँदो रहेछु ।’ उनको भोगाइले भन्छ– राजनीति गर्नेले जे कुराको विरोध गर्छ, उसको भित्री इच्छा त्यही हुँदो रहेछ । सामन्तको विरोध गरेर मत लिन्छन् अनि आफैं सामन्त बन्छन् । भ्रष्टको विरोधमा आन्दोलन गर्छन् तर पद पाएपछि आफैं भ्रष्टाचार गर्छन् । ‘राजाको विरोध गरेर आउनेहरू अहिले आफू राजा बन्न खोजिरहेका छन्, रानीको पनि विरोध गर्नेहरू अहिले आफू रानी बन्दै छन्,’ उनको निष्कर्ष रहेछ, ‘अहिलेका सरकार सञ्चालकहरू मात्र होइन । नेपालको इतिहास नै यस्तो छ ।’

कवि मुद्रा । तस्बिरहरू : प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर

हो पनि, मलको समस्या अहिले मात्र होइन, पहिले पनि थियो, भोलि नहोला भन्न सकिन्न । नागरिक आहत हुँदा राहत नदिने प्रवृत्ति अहिले मात्र होइन, पहिले पनि थियो, भोलि नहोला भन्न सकिन्न । जसरी हिजो भूकम्प जाँदा त्रिपालमा अनिमियतता भएको थियो, उसैगरी अहिले मेडिकल सामग्रीमा घूसखोरी भइरहेको छ, यस्तै नियति भोलि नदोहोरिएला र ! यो विवशता देख्दै र झेल्दै आएका ५७ वर्षका यी कवि भन्छन्, ‘मैले अहिले लेखेको कविता भोलि आउने सरकारको हकमा पनि मिल्छ । पात्र फेरिएलान्, प्रवृत्ति उही हुन्छ । दीनदुःखीलाई सत्ताले जहिल्यै दबाउने रहेछ ।’ तर, यस्ता प्रवृत्तिविरुद्ध बोल्नजस्तै कठिन घडीमा पनि पछि नपर्ने उनको भनाइ छ ।

यो सामर्थ्य र न्यायप्रेमी सोचको स्रोत के हो ? यसको ठ्याक्कै उत्तर उनीसँग छैन । एकछिन् सोचेर भने, ‘मेरो बाल्यकालको हुर्काइ र भोगाइले पनि अन्याय नसहने बनाएको हुन सक्छ ।’

काभ्रे ज्याम्दीको विपन्न परिवारमा जन्मिए उनी । बाहुन भए पनि आर्थिक हिसाबले अपहेलित । बच्चैदेखि ठक्कर र हन्डरको सामना गर्नुपर्‍यो । संगत, शिक्षाभन्दा स्वविवेकले अन्याय, अत्याचार र शोषणको विरोध गर्न थाले । ‘जब म जान्ने भएँ, नचाहिँदो गर्नुहुन्न, फट्याँइ गर्नुहुन्न, सहनुहुन्न । सके अरूको सेवा गर्नुपर्छ, नत्र दुःख दिनुहुन्न भन्ने भावना जागृत भयो,’ पराजुलीले पुराना दिनहरू सम्झिए ।

एसएसली पास हुनासाथ लोक सेवा आयोगमा नाम निकाले, डिठ्टाको जागिर खाए, २०३९ सालमा । पढाइलाई निरन्तरता दिए, आफू र परिवार पालिन पनि नोकरी गर्नु बाध्यता थियो । ‘तर, मेरो र जागिरको स्वभाव मिलेन । जागिरमा सीमित भएँ भने म आफूलाई जोगाउन सक्दिनँजस्तो लाग्यो । त्यसैले पढाइ सकिएपछि जागिर छोडिदिएँ,’ पराजुलीले सुनाए । सरकारी जागिर छोडेपछि परिवारको किचकिच त हुने नै भयो, गाँसबासको पनि ऐठन हुन थाल्यो । त्यसैले टुँडिखेलको फुटपाथमा पसल राखे । ऊन रंगाउने ठाउँमा रोजगारी पाए । गलैँचा कारखानामा पनि काम गरे । भन्छन्, ‘ती सबै बाँच्नका लागि गरिएका कर्म थिए ।’

पराजुली १० वर्षका थिए, जब कविताहरू लेख्न थाले । हास्यचेत पनि थियो । २०५० सालतिरबाट हास्यव्यंग्यमा अलि जोडदार ढंगले लाग्न थाले । ‘भुँडीपुराण’ भन्ने चुट्किलाको किताब निकाले । त्यो बेलाको मनोरञ्जनको स्रोत थियो यो । छाप्नको लागि मात्र प्रेस लैजान्थे, नत्र फोल्ड गर्ने, काटेर, किताब बनाउने अनि झोलामा हालेर पसल–पसल डुलाउनेसम्म आफैं । त्यसको चार वर्षपछि भुँडीपुराण प्रकाशन स्थापना गरे । गाईजात्रा पत्रिका निकाले । अरू व्यावसायिक काम सुरु गरे । हास्यव्यंग्यमा प्रतिष्ठित सिस्नुपानी नेपाल पनि उनकै कोठामा जन्मिएको हो ।

जीवन चलिरहेकै थियो । देशमा राजतन्त्र फाल्ने आन्दोलन हुने भयो । मानवअधिकारकर्मी कृष्ण पहाडीसँग उनको सम्पर्क भयो । नाराजुलुस र भाषणबाजी हुन थाल्यो । सडक तात्न थाल्यो । सडक तताउन अनि जनतालाई उराल्न पराजुलीको पनि भूमिका देखिन थाल्यो, कविता वाचनमार्फत । दोस्रो जनआन्दोलनको सुरुवाततिर त्यतिबेलाका सातका शीर्षस्थ नेता, अधिकारकर्मी र आमनागरिकको अगाडि पराजुलीले पहिलो कविता बानेश्वरमा घन्काए । तत्कालीन राजाले मन्त्रिमण्डलमा बदमासहरू भेला गराएको सन्दर्भमा लेखिएका हरफहरू यस्ता थिए :

कुनै घरको भित्तो फोरिएन

कुनै मन्दिरको मूर्ति चोरिएन

कुनै बैंक लुटिएन

कुनै कालो सूचीमा परिएन

कुनै पुरुषलाई गोली ठोकिएन

कुनै महिलालाई बलात्कार गरिएन

अनि कसरी पर्नु मन्त्रिमण्डलमा, परिएन

त्यसपछि त पराजुली शासकको तारो, नागरिकको प्यारो भइहाले । उनले कविता वाचन गर्न थालेपछि माउरीको गोलामा झैं मान्छेहरू जम्मा हुन्थे । नेताहरू तल बस्ने, माथिबाट उनले कविता सुनाउने समय पनि आयो । निर्विवाद जनआन्दोलनका ‘फ्रन्टलाइनर्स’ मध्ये एक थिए उनी ।

आन्दोलन सफल भयो । कोही सत्ताको खेलमा लागे, कोही नियुक्तितिर । पराजुलीसहित केही व्यक्तिका लागि भने संविधान नबनुन्जेल आन्दोलन सकिएन । नेताहरूलाई संविधान निर्माणका लागि दबाब दिइरहे । ‘म कतै जानका लागि जन्मेकै होइन, कुनै पार्टीको सदस्यता लिएको छैन, लिन्नँ । बाँचुन्जेल जनताका पक्षमा बोलिरहन्छु,’ पराजुलीले गर्वका साथ भने । पाठशाला नेपाल नामक स्कुलका संस्थापक हुन् उनी । रोजीरोटी त्यसबाटै चलेको उनले बताए । जनआन्दोलनमा पनि पराजुलीले नागरिकको पीडालाई शब्दमा बुने, त्यसैले उनका कविताले घाउमा मलहम लगाएको आभास भयो नागरिकलाई, सत्ताको भने कन्पारो ततायो । हिजो उनीसँग आन्दोलनमा हिँडेकाहरू अहिले सत्ताको बागडोर सम्हालिरहेका छन् तर पराजुलीको भूमिका उही छ ।

अहिले सरकारको विरोध गरिरहँदा कतिपयले व्यवस्थाकै विरोध गरेको भन्ठान्छन् तर त्यस्तो नभएको यी कविको भनाइ छ । ‘राजतन्त्र फाल्नै पर्ने थियो, फाल्यौं पनि । सैद्धान्तिक रूपमा सबै कुरा ठीक भए तर सिद्धान्तलाई लागू गर्ने क्रममा घात भइरहेको छ,’ पराजुलीको ठूलो आवाज सुनियो, ‘यिनलाई सत्तामा पुर्‍याउन हामी ज्यान माया मारेर हिँडेका थियौं । त्यसैले अहिले भ्रष्ट हुँदा नग्याउँछौं । नागरिकलाई सचेत बनाउँछौं ।’ उनी यत्तिमै रोकिएनन् । अगाडि थपे, ‘यो रिस र डाहा होइन, यो आक्रोशको तथ्यगत कारण छ, अधिकार छ तर स्वार्थ छैन । जो देश र नागरिकप्रति घात गर्छ, त्यो हाम्रो साझा शत्रु हो ।’ उनले लेखेकै छन् :

गणतन्त्र ! हामीले

रगत–पसिना बनाएर

किनेको घडेरी हो

यो घडेरीमा बनाएको घर

चित्त बुझेन भने

भत्काएर अर्को बनाउन सकिन्छ

खुट्टा भए जुत्ता कति कति !

घडेरी भए घर कति कति !!

जय गणतन्त्र

प्रकाशित : भाद्र १९, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना साम्य भएपछि उपत्यकामा रात्रिकालीन सम्पदा–यात्रा चलाइने

कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई ब्युँताउन बोर्डले बीबीसी र सीएनएनबाटसमेत नेपालको प्रचार गर्ने योजना अघि सारेको छ
सुरज कुँवर

काठमाडौँ — लामो समयदेखि चर्चामा रहेको रात्रिकालीन सम्पदा–यात्रा अब उपत्यकाका तीनै जिल्लामा सुरु हुने भएको छ । कोरोना साम्य भएपछि राजधानी उपत्यकाका तीनै सहरमा सम्पदा–यात्रा सञ्चालन गर्ने गरी नेपाल पर्यटन बोर्डले तयारी अघि बढाएको हो । 

‘रात्रिकालीन सम्पदा–यात्रामा उपत्यकावासी आफूलाई मनपर्ने सम्पदामा परिवारसहित घुम्न जानेछन् । बाटामा रैथाने खान्कीका स्टल हुन्छन्,’ बोर्डका सीईओ धनञ्जय रेग्मीले भने, ‘कम्तीमा राति १२ बजेसम्म घुमघाम गर्न पाइनेछ ।’ बोर्डका अनुसार रात्रिकालीन यात्रा भक्तपुरमा सुरु पनि भइसकेको छ ।

‘कीर्तिपुर, काठमाडौं र ललितपुरमा रुट पहिचान भइसक्यो,’ रेग्मीले हालै पर्यटनमन्त्रीसहित मन्त्रालयका अधिकारीहरूबीच भने, ‘प्रवर्द्धनात्मक सामग्री तयार भइसकेका छन् । डिजिटल प्लेटफर्मबाट एकैसाथ प्रवर्द्धन गरिनेछ ।’

बोर्डले कोरोना नियन्त्रणपछि आउने सहज परिस्थितिमा दैनिक ५ लाख आन्तरिक पर्यटकलाई चलायमान् बनाउन कार्ययोजना अघि सारेको छ । ‘शनिबार वा अरू बिदाका दिन घरभित्रै बसिरहेका उपत्यकाबासीलाई वरिपरि घुम्न प्रेरित गर्न बोर्डले सामग्री तयार गर्दै छ,’ रेग्मीले भने, ‘हामी नजिकैका साइकल गुड्ने ट्रेल, सम्पदा, डाँडाको म्यापसहित भिडियो सामग्री उत्पादन गर्दै छौं ।’

आन्तरिक पर्यटन चलायमान् भएपछि आर्थिक गतिविधि बढ्ने, निजी क्षेत्र फस्टाउने तथा कोरोनाका कारण महिनौंदेखि घरभित्रै बसिरहेका उपत्यकावासीलाई मानसिक तथा शारीरिक रूपमा स्फूर्ति पनि मिल्ने रेग्मीले बताए ।

जिल्लाको प्रोफाइल

बोर्डले आन्तरिक पर्यटन बजारको विकास गर्न नेपालका सबै जिल्लाको प्रोफाइल बनाएको छ । उक्त प्रोफाइलमा पर्यटकीय सम्पदासहित अन्य पहिचान पनि समेटिएका छन् । बोर्डले देशभरका सबै जिल्ला र पर्यटकीय गन्तव्यको म्यापिङ गरी अनलाइनमा विस्तृत डाटा राख्ने भएको छ ।

त्यस्तै पर्यटन क्षेत्रमा अबका दिन पर्यटकहरूको स्वास्थ्यमा ध्यान दिन प्रोटोकल बनाइएको छ । बोर्डले अहिलेसम्म ६ सय जनाले प्रोटोकलबारे तालिम लिइसकेको जनाएको छ ।

बीबीसी र सीएनएनबाट नेपालको प्रचार

यसैबीच बोर्डले चालू वर्ष बीबीसी र सीएनएनबाट नेपालका पर्यटकीय क्षेत्रको प्रचार गर्ने भएको छ । यस कार्यका लागि साढे २ करोड बजेट पनि विनियोजन गरिसकेको बोर्डले बीबीसी र सीएनएनका विज्ञापनसम्बन्धी प्रतिनिधिलाई भेट गरी विस्तृत विवरण माग गरिसकिएको जनाएको छ । हालको सार्वजनिक खरिद ऐनमा यसबारे केही बुँदा संशोधन गर्नुपर्ने भएकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखिपठाइएको पनि बोर्डले जनायो । ‘यसअघि बीबीसी सीएनएनबाट नेपालको कहिल्यै प्रचार भाको छैन,’ रेग्मीले भने, ‘यसपटक एउटा टिम नै बनाएर लागिरहेका छौं ।’

बोर्डले चीनको पर्यटन बजारमा सर्वाधिक रुचाइने ‘सिट्रिप’मा पनि नेपालको प्रर्वद्धन गर्ने भएको छ । चीनका वायुसेवा, होटल, ट्राभललगायत कम्पनीको एकीकृत साइटमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदाको सामग्री पनि देखाइनेछ । बोर्डले उक्त भिडियो चिनियाँ दूतावासलाई दिइसकेको छ ।

नेपालमा पछिल्ला वर्ष चिनियाँ पर्यटक भारतकै हाराहारी तर दोस्रो स्थानमा छन् । बोर्डले भारतीय पर्यटकलाई आकर्षित गर्न भारतीय सञ्चारमाध्यमबाट पनि प्रचार गर्ने कार्यक्रम बजेटमै ल्याइसकेको छ । बोर्डको वेबपेजलाई चिनियाँ, रसियन, अंग्रेजी, स्पेनिस, फ्रेन्च र जर्मन भाषामा समेत रूपान्तरण गरिएको छ । यी छवटा मुलुकका पर्यटकलाई नेपालबारे बुझ्न र भम्रण गर्न सहज होस् भनेर वेबपेज रूपान्तरण गरिएको हो ।

चालू वर्ष बोर्डले पर्यटन प्रवर्द्धन गर्न ८ करोड ३० लाख बजेट विनियोजन गरिसकेको छ । यसअन्तर्गत नेपाललाई युरोप, अमेरिकादेखि उत्तरपूर्वी एसियासम्म प्रचार गरिनेछ । यसैबिच आगामी दिन नेपालको प्रचार गर्न बोर्डले विश्वभर छरिएका गैरआवासीय नेपालीले चुनेका प्रतिनिधिलाई सद्भावनादूत नियुक्त गर्ने निर्णय गरेको छ ।

१७२१ पर्यटकको उद्धार

सरकारले लकडाउन गरेपछि देशभरका विभिन्न पर्यटकीय गन्तव्यमा गएका १ हजार ७ सय २१ पर्यटकको उद्धार गरिएको थियो । बोर्डले सम्बन्धित दूतावास, स्थानीय तह र निजी क्षेत्रको पनि सहयोग लिई आठ दिन लामो उद्धार अभियान सञ्चालन गरिएको जनाएको छ ।

बोर्डका अनुसार त्यसताका पोखराआसपास घुम्न गएका ८ सय ८० विदेशी र सगरमाथा क्षेत्र पदयात्रमा गएका ५ सय २५ जनालाई लुक्लाबाट उद्धार गरिएको थियो । त्यस्तै जोमसोमबाट १ सय ७७, अन्नपूर्ण क्षेत्रबाट ६०, मनासलु क्षेत्रबाट २६ र अन्य क्षेत्रबाट ५३ जनालाई उद्धार गरेर ल्याइएको थियो । तीमध्ये ८ सय ६८ जनालाई जहाजबाट र ८ सय ५३ जनालाई सडकमार्गबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि ५ हजार विदेशीलाई फर्काउन ती देशका दूतावाससँगको सहकार्यमा चार्टर उडान सञ्चालनमा सहजीकरण गरिएको बोर्डले जनाएको छ ।

लकडाउनकै बीच सर्वेक्षण

लकडाउनमा अधिकांश सरकारी निकाय बन्द र निजी क्षेत्र तहसनहस भएका बेला बोर्डले पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र राहतका लागि सर्वेक्षण गरेको थियो । देशभरका ८ सय ३७ वटा पर्यटकीय उद्योग (तारे तथा पर्यटकीय स्तरका होटल, निजी वायुसेवा कम्पनी, टुर, ट्राभल, राफ्टिङ, यातायातलगायत) मा गरिएको उक्त सर्वेक्षणले नेपालमा पर्यटन क्षेत्रमा निजी क्षेत्रको डेढ खर्ब हाराहारी लगानी रहेको तथ्यांक सार्वजनिक गरिसकेको छ । सर्वेक्षणअनुसार पर्यटन क्षेत्रको प्रत्यक्ष रोजगारीमा ३ लाख नेपाली छन् । यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको १ खर्ब लगानी छ ।

प्रकाशित : भाद्र १९, २०७७ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×