काठमाडौँ — स्वादको संसारमा तपाईंको रुचि छ भने ‘बेन्टो प्याक’ बारे पक्कै थाहा पाउनुभएकै होला । बेन्टो जापानी शैलीको खानेकुरा राख्ने खण्डखण्ड भएको भाँडा हो ।
हरेक खण्डमा फरकफरक स्वाद र पोषण भएका खानेकुरा राखिन्छ । यो देख्दैमा आर्कषक हुन्छ । ‘बेन्टो बक्स’ भनौं वा ‘बेन्टो प्याक’ यसको इतिहास एक हजारवर्षभन्दा लामो छ । समयक्रममा बेन्टो प्याकमा धेरै बदलाव आएको देखिन्छ ।
चिसै खान पनि मिल्ने बेन्टो प्याक पूर्वी र दक्षिणपूर्व एसियाली स्वाद हो । विशेषगरी जापानी, चिनियाँ, कोरियाली, सिंगापुर, ताइवानीमाझ बेन्टो प्याक लोकप्रिय छ ।
भिगन, साकाहारी, मांसाहारी सबैका लागि यो उपयोगी छ । समय र जाँगर हुनेहरूले बेन्टो प्याक घरमै बनाउन सक्छन् । तर कार्यालय जाँदा ‘प्याक’ बोकेर जान मिल्ने र ‘लन्च’ वा खाजाको समयमा थोरै तातो बनाएर खान मिल्ने हुनाले यो धेरैको रोजाइमा पर्न थालेको छ ।
धेरैजसो बेन्टो प्याकका परिकार चिसै खान मिल्ने पनि हुन्छन् । पूर्वी र दक्षिणपूर्व एसियाली पाक शैलीहरूमा यो सामान्य छ ।
कसरी तयार गर्ने ?
आफू शुद्ध शाकाहारी वा मांसाहारी के हो, त्यहीअनुसार यो प्याक बनाउन सकिन्छ वा रेस्टुरेन्टमा ‘अर्डर’ गरेर खान सकिन्छ ।
भिगन हो भने बेन्टो प्याकमा ‘प्लान्ट बेस’का परिकार समावेश गर्न सकिन्छ । थोरै भात, एभोकाडो वा टुसा उम्रिएका गेडागुडी, सलाद, तोफु र फलफूल, अचार हालेर प्याक गर्न सकिन्छ ।
पास्ता, मिक्स ड्राइनट्स, फलफूल, दूधबिनाको कुनै मिठाइ प्याक लिन सकिन्छ । साकाहारीले पनि सलाद, राइस, ब्ल्याक मसरुम, भेज सुसी, फलफूल मिलाएर प्याक बक्स बनाउन सकिन्छ ।
ननभेज अर्थात् मांसाहारीका लागि त धेरै विकल्प हुन्छन् । सलाद, चिकन, फिस वा अन्डा, राइस, नन भेज सुसी वा कुनै रोल हालेर सर्भ गर्न सकिन्छ । अधिकांश बेन्टो बक्स माइक्रो ओभनमा तताउन मिल्ने खालका हुन्छन् । तातो खानेका लागि पनि यो छिटो र स्वास्थ्यवर्द्धक हुन्छ ।
- बुढाथोकी सोल्टी होटलका सेफ हुन् ।
