काठमाडौँ — घर वातावरणमैत्री हुनु जरुरी हुन्छ । हाम्रै वरिपरि सजिलै उपलब्ध हुने ढुंगा, माटो, बाास, काठ आदिले घर निर्माण गर्न सकिन्छ । वातावरणमैत्री घर निर्माण गर्दा घर बन्ने ठाउँको हावापानी कस्तो छ, त्यसलाई पनि ध्यान दिनुपर्छ । ढुंगामाटोले बनेको घरमा जाडोमा न्यानो र गर्मीमा शीतलताको अनुभव हुन्छ भने सिमेन्टबाट निर्मित घरमा गर्मी महसुस हुन्छ । विशेषगरी ढुंगा, माटो, बाास, काठ प्रयोग गरी बनाइएको घरले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।
सिमेन्ट उत्पादन गर्दा वातावरणलाई असर पारिरहेको हुन्छ । इँटा बनाउँदा पनि काँचो इँटालाई भट्टामा पकाउनुपर्छ, जसले वातावरण प्रदूषित बनाइरहेको हुन्छ ।
त्यसकारण घर निर्माण गर्दा प्रकृतिबाटै उपलब्ध माटो, ढुंगाको प्रयोग गर्नुपर्छ । यसले वातावरणलाई कुनै हानि–नोक्सानी गर्दैन । त्यसैगरी माटोको ब्लकको प्रयोग गर्न सकिन्छ । ७ देखि १० प्रतिशत सिमेन्ट र १ देखि २ प्रतिशत चुना, माटो मिसाएर बनाइएको हुन्छ तर भट्टीमा नपकाई तयार गरिएको हुन्छ ।
वातावरणमैत्री घरको निर्माण गर्दा निम्न कुरामा ध्यान दिनु जरुरी छ ।
– घर वरिपरि रुखबिरुवा धेरै रोप्नुपर्छ । यसो गरेमा चराहरू आउँछन् र प्रकृतिसँग अझ नजिक हुन सकिन्छ ।
– सोलार प्यानलको प्रयोगबाट खाना पकाउन सकिन्छ । यसैबाट विद्युतीय सामानको प्रयोग गर्दा बत्तीको पैसा कम तिर्नुपर्छ ।
– झ्यालको माथि सानो भेन्टिलेसन बनाउँदा कोठामा भएको तातो हावा माथिबाट बाहिर जान्छ ।
– बढी घाम पर्ने दिशामा सानो झ्याल बनाउँदा घामको प्रकाश कोठामा कम पर्छ ।
– आकाशबाट परेको पानीलाई जम्मा गरेर फेरि प्रयोग गर्न मिल्ने गरी बनाउन सकिन्छ ।
– घरअगाडि सानो पोखरीको निर्माण गर्दा शीतल अनुभव गराउँछ ।
– कच्ची घर माटो र ढुंगाको प्रयोग गरी बनाइएकामा थप प्रविधि प्रयोग गरी बनाउन सकिन्छ । यस्ता परम्परागत घरलाई सस्तो लागतमा पक्की र भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ ।
