पहिरोले खोटाङको सप्तेश्वर गाउँ जोखिममा

स्थानीय तथा पूर्ववडाध्यक्ष खगेन्द्र राईका अनुसार बर्सेनि जमिन भासिँदै आएकाले अजम्बरी आमा समूहको भवनलगायत २६ घर परिवार पहिरोको जोखिममा परेका हुन् ।

श्रावण १०, २०८३

डम्बरसिं राई

Landslide puts Saptashwar village of Khotang at risk

खोटाङ — केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरको सिंगो गाउँ पहिरोको जोखिममा परेको छ । स्थानीय बाछेर्कुको पहिरोल चिउरीडाँडा, बरबोट, हल्कुडाँडा र डाडाँगाउँका २६ घर परिवार जोखिममा परेको हो ।

स्थानीय तथा पूर्ववडाध्यक्ष खगेन्द्र राईका अनुसार बर्सेनि जमिन भासिँदै आएकाले अजम्बरी आमा समूहको भवनलगायत २६ घर परिवार पहिरोको जोखिममा परेका हुन् । पहिरोले स्थानीय मनकुमार परियार, खड्ग परियारलगायत विस्थापित भएका छन् ।

वर्षामासमा विस्तारै जमिन भासिनुका साथै त्यसले अन्य क्षेत्रमा पनि तान्दै लगेकाले दिनहुजसो जोखिम बढ्दै गएको राईको भनाइ छ । उनका अनुसार स्थानीय जसबहादुर दर्जी, देवबहादुर राई जोखिममा परेका छन् । त्यस्तै चिउरीखर्कका नवराज राई, रामकाजी राई, नरेश राई, पूर्णबहादुर राई, पूर्णबहादुर राई, इश्वर राई, कृष्णकुमार राई, जुद्धबहादुर राई, शम्भु राई, उमेश राई, मनकुमारी राईलगायतको घर प्रभावित भएको छ । 

त्यस्तै स्थानीय हल्कुडाँडाका परीधन राई, रघुबहादुर, श्रीप्रसाद राई, सहरमणि राईको घर पनि प्रभावित भएको छ । बरबोटका पदमकुमार राई, हरिचन्द्र राई, ढाकमशेर राई, चतुरभक्त राई, गणेशभक्त राई, खगन्द्र राईको घर पनि प्रभावित भएको राईले सुनाएका छन् । ‘हाम्रोमा पहिरोले बर्सेनि जमिन भासिदै आएको छ, बसिरहेको ठाउँ भएकाले मायाले छाड्न सकिएको छैन’ राईले भने, ‘यस्तो अवस्था आयो भने सिंगो गाउँ नै विस्थापित भएर अन्यत्र सर्नु पर्ने अवस्था छ ।’

पहिरोको जोखिम बढेपछि सिंगोलाई नै असर परेको वडाध्यक्ष हिमालभक्त राईले बताए । गत वर्ष पनि रोड खन्ने क्रममा पहिरोले केही घर क्षति पुगेको राईले सुनाएका छन् । यो वर्ष पहिरोले गर्दा स्थानीयलाई समस्यामा पारेको राईको भनाइ छ । ‘अहिले पहिरोको जोखिमले सिंगो गाउँलाई असर परेको छ,’राईले भने, ‘गत वर्ष सडक खन्ने क्रममा केही घरलाई असर गरेपछि रिटेनिङ वाल लगाएर बचाइएको थियो ।’ 

यसबाहेक हर्लुङ-जालपा-सप्तेश्वर बाक्सिला सडकमा पनि क्षति पुगेको थर्पुडाँडा माविका प्रअ पर्शु राईले बताएका छन् । उनका अनुसार बरबोट र चिउरीखर्क बीचमा सडक भासिएपछि मर्मत गरेर सडक सञ्चालनमा ल्याइएको हो । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully