चरा तथा वन्यजन्तुको खोज, अध्ययन र अभिलेखिकरण गरिरहँदा आइतबार बिहान संकटापन्न हिमाली कालो भालु देखेपछि फोटो खिचेको संरक्षणकर्मी तथा फोटोग्राफर खरेलले बताए ।
पाँचथर — इलामको माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा संकटापन्न हिमाली कालो भालु क्यामरामा कैद भएको छ ।
समुद्री सतहबाट २५ सय मिटर उचाइमा रहेको माईजोगमाई २ र ६ को सीमावर्ती वन क्षेत्रमा उक्त कालो भालु क्यामेरा कैद भएको हो ।
अध्ययनका क्रममा पुगेका दुई वन्यजन्तु फोटोग्राफरले भालुको प्रत्यक्ष अवलोकन गर्नुका साथै तस्बिरसमेत खिच्न सकेको बताएका हुन्स ।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष तथा वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवासले उक्त क्षेत्रमा वन्यजन्तुको अध्ययन गरिरहेका छन् ।
चरा तथा वन्यजन्तुको खोज, अध्ययन र अभिलेखिकरण गरिरहँदा आइतबार बिहान दुर्लभ हिमाली कालो भालु देखेपछि फोटो खिचेको संरक्षणकर्मी तथा फोटोग्राफर खरेलले बताए ।
खरेलका अनुसार हिमाली कालो भालुको प्रत्यक्ष अवलोकन र तस्बिर अभिलेखीकरण हुनु त्यस क्षेत्रको जैविक विविधता तथा वन्यजन्तुको सुरक्षित बासस्थान रहेको पुष्टि गर्ने आधार पनि हो ।
उनका अनुसार थुम्केरानी क्षेत्र उच्च पहाडी वन प्रणालीभित्र पर्ने भएकाले वन्यजन्तुका लागि उपयुक्त वासस्थानका रूपमा परिचित छ ।
अध्ययनहरूका अनुसार हिमाली कालो भालु नेपालको पूर्वदेखि पश्चिमसम्मका मध्य तथा उच्च पहाडी वन क्षेत्रमा पाइन्छ ।
यो प्रजाति सामान्यतया १५ सयदेखि ४ हजार मिटर उचाइसम्मका वन क्षेत्रमा बसोबास गर्ने गर्छ । गर्मीयाममा माथिल्लो भेग र जाडो याममा तल्लो भेगतिर सर्ने संरक्षणकर्मीहरू बताउँछन् ।
अन्तर्राट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले हिमाली कालो भालुलाई संरक्षणका दृष्टिले जोखिममा रहेको प्रजातिको सूचीमा राखेको छ । थुम्केरानी क्षेत्रमा अध्ययनका क्रममा विभिन्न दुर्लभ चराका प्रजातिसमेत अभिलेखीकरण गरिएको खरेलले बताएका छन् ।
