कोशी मुख्यमन्त्रीमा मेन्याङ्बो लगभग निश्चित

काठमाडौंमा रहेका मेन्याङ्बोले कान्तिपुरसंग टेलिफोनमा कुरा गर्दै आफू मुख्यमन्त्री बन्ने सम्भावना निकै बलियो रहेको बताए ।

श्रावण १०, २०८३

पर्वत पोर्तेल

Menyangbo Almost Certain to Become Koshi Chief Minister

What you should know

विराटनगर — नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसंगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो लगभग निश्चित भएका छन् । 

एमाले उच्च स्रोतका अनुसार केन्द्रीय नेतृत्वले वहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिस्थापन गर्दै मेन्याङ्बोलाई नेतृत्व दिने तयारी गरेको छ । अन्तिम निर्णय आइतबार नै हुन सक्नेक सम्भावना रहेको नेताहरूले बताएका छन् । 

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीको भागमा परेको छ । त्यससंगै कोशीमा सरकार पुनर्गठनको गृहकार्य पनि अघि बढेको छ ।

काठमाडौंमा रहेका मेन्याङ्बोले कान्तिपुरसंग टेलिफोनमा कुरा गर्दै आफू मुख्यमन्त्री बन्ने सम्भावना निकै बलियो रहेको बताए । ‘लगभग मेरो सम्भावना बलियो देखिएको छ,’ उनले भने,‘ केन्द्रीय नेतृत्व नै सकारात्मक देखिएकाले म ढुक्क छु ।’ 

एमाले उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले कोशीको नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राखेका थिए । पछिल्लो समय ओली र मुख्यमन्त्री कार्कीबीच सम्बन्ध अपेक्षाकृत सहज नरहेको र त्यसकै प्रभाव नेतृत्व परिवर्तनमा परेको एक प्रदेश सांसदले बताए । ‘अध्यक्ष ओली कार्कीलाई जसरी भएपनि रिप्लेस गर्ने नै मनस्थितिमा देखिनु भएको छ’, ती सांसदले दाबी गरे,‘यसपटक नयाँले मौका पाउने पक्का छ ।’ 

ताप्लेजुङ–१ (१) बाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलका उपनेता हुन् । कार्की नेतृत्वको पहिलो प्रदेश सरकारमा उनले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा केही समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालेको अनुभव उनीसंग छ ।  २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई उनी राष्ट्रिय राजनीतिमा सक्रिए बनेका थिए । 

एमाले कोशीका प्रमुख सचेतक रमेश बस्नेतले भने मुख्यमन्त्रीको विषयमा प्रदेश कमिटीमा औपचारिक छलफल नभएको दावी गरेका छन् । ‘प्रदेशले निर्णय गर्दा कार्कीलाई नै निरन्तरता दिने सम्भावना छ’, उनले भने,‘केन्द्रले निर्णय गर्यो भने नयाँले मौका पाउने सम्भावना देखिन्छ ।’ 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully