धनकुटा बजारका करिब ३८ सय धारामा दैनिक आवश्यकताभन्दा एकतिहाइ मात्रै पानी आपूर्ति हुँदै आएको छ भने गुणस्तर समस्या पुरानै छ।
धनकुटा — धनकुटा बजारका उपभोक्ताले वर्षौंदेखि खानेपानीको आपूर्ति र गुणस्तर दुवै समस्यासँग जुध्दै आएका छन्। हिउँदमा पानीका मुहान सुक्दा मागअनुसार आपूर्ति हुन सक्दैन भने बर्खामा लेदो मिसिएको धमिलो पानी धारामा आउने समस्या नियमित बनेको छ।
उपभोक्ताको गुनासो बढ्दै गएपछि धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा पानीको मुहानदेखि उपभोक्ताको धारासम्मको प्रणालीको स्थलगत अनुगमन गरिएको छ। प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, राजनीतिक दल, स्थानीय तह, संघसंस्था, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिले मुहान, लिफ्टिङ प्रणाली, पाइपलाइन, रिजर्भ ट्याङ्की, फिल्ट्रेसन तथा वितरण प्रणालीको अवस्थाबारे जानकारी लिएका हुन्।
धनकुटा नगरपालिका–३ देखि ८ सम्मका उपभोक्ताले ‘पैसा तिरेर पनि पर्याप्त र सफा पानी नपाएको’ गुनासो गर्दै आएका छन्। धनकुटा–७ की दिलमाया श्रेष्ठले अपुग पानी र त्यसमाथि धमिलो पानीका लागि पनि शुल्क तिर्नुपरेको बताइन्। ‘कहिले एक हप्तासम्म पानी आउँदैन, आए पनि धमिलो हुन्छ, प्रयोग गर्नै नमिल्ने,’ उनले भनिन्।
धनकुटा–५ की तुलसा लिम्बुका अनुसार हिउँदबाहेक बर्खामा पनि यही समस्या दोहोरिन्छ। ‘धाराको पानी त खोलाको पानीभन्दा पनि फोहोर देखिन्छ,’ उनले भनिन्। धनकुटा बजारका उपभोक्ताले ८ युनिट (८ हजार लिटर) पानीका लागि न्यूनतम ३ सय रुपैयाँ तिर्ने गरेका छन्। तर बर्खाको अधिकांश समय लेदो मिसिएको धमिलो पानी आउने र हिउँदमा मागअनुसार पानी नै नपाइने अवस्था रहेको उपभोक्ताको गुनासो छ।
बर्खामा मुहानमै धमिलो पानी
धनकुटा बजारमा लुङदाङ, मुढे, छरछरे, तीनदोभाने, आइतबारेलगायतका मुहानबाट पानी संकलन गरी वितरण गरिन्छ। निवुवा र ताँखुवा खोलाबाट लिफ्टिङ प्रविधिमार्फत पानी तानेर स्कुलडाँडा, लहरेबर, कागते र चुलीवनलगायतका स्थानका मुख्य ट्याङ्कीमा पुर्याइ वितरण गरिन्छ।
तर खोलाबाट थापेर सिधै पाइपलाइनमा जोडिएका कारण बर्खामा पानीमा माटो र लेदोको मात्रा बढ्ने गरेको छ। पर्याप्त क्षमताको प्रभावकारी फिल्ट्रेसन प्रणाली नहुँदा पानी पूर्ण रूपमा शुद्धीकरण गर्न समस्या हुने गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए।
उनका अनुसार पुरानो फिल्ट्रेसन प्रणाली, जीर्ण पाइपलाइन र ट्याङ्कीलगायतका संरचनाका कारण उपभोक्तालाई स्वच्छ, शुद्ध र पर्याप्त पानी उपलब्ध गराउन चुनौती छ। ‘नगरवासीलाई सफा र पर्याप्त पानी उपलब्ध गराउने जिम्मेवारी नगरपालिकाको पनि हो। समस्या कहाँ छ भन्ने बुझ्न अनुगमन गरेका हौं,’ उनले भने।
हिलेलगायत माथिल्लो क्षेत्रबाट बग्ने फोहोरका कारण पनि पानीका स्रोत प्रदूषित हुने गरेको उपभोक्ताको गुनासो छ। ‘खोलामा मुहान थापेर पानी ल्याइएकाले बर्खामा शुद्धीकरणमा समस्या देखिन्छ,’ प्रमुख तामाङले भने, ‘यसलाई व्यवस्थित गर्न नगरपालिका र खानेपानी उपभोक्ता समितिबीच समन्वय गरेर काम भइरहेको छ।’
हिउँदमा माग धान्नै कठिन
हिउँदमा भने समस्या पानीको स्रोतसँगै जोडिएको छ। भूमिगत मुहानमा पानीको मात्रा घट्ने र कतिपय स्रोत सुक्ने भएकाले मागअनुसार आपूर्ति गर्न नसकिने समितिको भनाइ छ। हाल धनकुटा बजारका ३ हजार ८ सय ९५ घरधुरीका लागि दैनिक करिब ४६ लाख ५६ हजार लिटर पानी आवश्यक पर्छ। तर दैनिक करिब १६ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ।
निवुवा र ताँखुवा खोलाबाट पानी तान्ने मोटर तथा अन्य उपकरणमा समस्या आउँदा पनि आपूर्ति प्रभावित हुने गरेको धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले बताए।
बर्खामा आउने धमिलो पानीको समस्या समाधान गर्न लहरेबरमा सेडिमेन्टेसन ट्याङ्की र रफिङ फिल्टर निर्माण भइरहेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाको करिब ८० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त संरचना अन्तिम चरणमा पुगेको सचिव छाराहाङले बताए।
नयाँ प्रणालीबाट प्रतिसेकेन्ड १० लिटरका दरले धमिलो पानी थिगार्ने र छान्ने क्षमता रहनेछ। ‘यी दुवै प्रणाली सञ्चालनमा आएपछि आपूर्ति र गुणस्तरमा रहेको समस्या केही हदसम्म कम हुन्छ,’ उनले भने।
उनका अनुसार २०७२ सालको भूकम्पपछि पुरानो फिल्टर प्रणाली क्षतिग्रस्त भएको र अहिले प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बर्खामा आउने लेदोयुक्त पानी शुद्धीकरणमा समस्या भइरहेको छ।
पानीको आपूर्ति बढाउन लिफ्टिङ प्रणालीका पुराना पम्प र उपकरणसमेत प्रतिस्थापन गर्ने काम भइरहेको छ।
निवुवा खोला, ठोका र चिहानडाँडालगायतका स्थानमा जडान गरिएका पम्पसेटको क्षमता घट्दै गएपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले ६० हर्सपावर क्षमताका दुई पम्प उपलब्ध गराएको छ। ती पम्प जडानको प्रक्रियामा रहेको सचिव छाराहाङले बताए। उनका अनुसार नयाँ पम्प सञ्चालनमा आएपछि पानी तान्ने क्षमता बढ्ने र आपूर्ति व्यवस्थापनमा सुधार हुने अपेक्षा गरिएको छ।
प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उपभोक्ताको गुनासोपछि मुहानदेखि धारासम्मको अवस्थाको स्थलगत निरीक्षण गरिएको बताए। उनका अनुसार बर्खामा स्रोतको अभाव नभए पनि गुणस्तर र वितरण व्यवस्थापनमा समस्या देखिएको छ। ‘उपभोक्ताले आपूर्ति प्रणाली र गुणस्तरमा गुनासो गरेपछि आफैं अनुगमनमा निस्किएको हुँ,’ उनले भने, ‘तत्काल सुधार गर्न सकिने काम तत्कालै अघि बढाउँछौं। समय लाग्ने काम योजना बनाएर क्रमशः कार्यान्वयन गर्छौं।’
उनले स्रोत व्यवस्थापन, शुद्धीकरण, पाइपलाइन सुधार र वितरण प्रणालीलाई व्यवस्थित बनाउन संघीय खानेपानी कार्यालय, नगरपालिका र उपभोक्ता समितिबीच समन्वय गरेर काम गरिने बताए।
धनकुटा बजारको खानेपानी समस्या नयाँ होइन। हिउँदमा पर्याप्त पानी नपुग्ने र बर्खामा आएको पानी पनि सफा नहुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। अहिले मुहान संरक्षण, लिफ्टिङ प्रणाली सुधार, नयाँ पम्प जडान, सेडिमेन्टेसन तथा फिल्ट्रेसन संरचना निर्माण र वितरण प्रणाली सुधारका प्रयास अघि बढाइएका छन्।
धनकुटा बजारका करिब ३ हजार ८ सय धारामा दैनिक जम्मा १६ लाख लिटर पानी वितरण भइरहेको छ, जबकि दैनिक आवश्यकता ४६ लाख ५६ हजार लिटर छ। मागको करिब एकतिहाइ मात्रै आपूर्ति भइरहेकाले दीर्घकालीन समाधानका लागि थप मुहानको खोजी, स्रोत संरक्षण, पर्याप्त क्षमताको शुद्धीकरण प्रणाली र वितरण संरचनाको विस्तार अपरिहार्य देखिएको छ।
धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङका अनुसार दीर्घकालीन रूपमा सञ्चालन गर्न मिल्ने वैकल्पिक मुहानको खोजीसमेत सुरु गरिएको छ।
