घरमै राहदानी प्राप्त हुँदा समय र यातायात खर्च दुवै जोगिएको सेवाग्राहीको अनुभव ।
What you should know
धनकुटा — धनकुटाका सातवटै स्थानीय तहमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन थालिएको छ। जिल्ला प्रशासन कार्यालयसम्म पुगेर राहदानी बुझ्नुपर्ने बाध्यता हटाउने उद्देश्यले सञ्चालन गरिएको सेवाबाट हालसम्म १ सय ६६ जना लाभान्वित भएका छन् ।
हुलाक सेवा विभागमार्फत सञ्चालन भइरहेको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका सेवाग्राहीलाई राहदानी घरमै पुर्याइएको जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले बताए ।
उनका अनुसार जेठ १ गतेदेखि सेवा सुरु भएयता आठ पटकमा १ सय ६६ वटा राहदानी सेवाग्राहीको ठेगानामै पुर्याइएको हो । वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई राहदानी लिनकै लागि सदरमुकाम धाउनुपर्ने अवस्था हटेपछि सेवा प्रभावकारी बनेको सेवाग्राहीको भनाइ छ ।
गत वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच राहदानी घरमै पुर्याउने सम्बन्धमा सम्झौता भएको थियो । त्यसपछि हुलाक कार्यालयले स्थानीय तहसँग समन्वय गर्दै सेवाग्राहीले दिएको ठेगानामा राहदानी पुर्याउन थालेको हो ।
घरमै राहदानी पुर्याउन ठेगाना दर्ता गरेका तीन जना सेवाग्राहीले भने पछि आफैं जिल्ला प्रशासन कार्यालय पुगेर राहदानी बुझेका छन् । बाँकी १ सय ६६ राहदानी भने हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याइएको कार्यालयले जनाएको छ ।
घरमै राहदानी प्राप्त हुँदा समय र यातायात खर्च दुवै जोगिएको सेवाग्राहीको अनुभव छ । यसअघि राहदानी तयार भएपछि लिन पुनः जिल्ला सदरमुकाम आउनुपर्ने अवस्था थियो । अहिले हुलाक सेवा विभाग र जिल्ला प्रशासन कार्यालयबीचको समन्वयमा स्थानीय तहसम्म सेवा विस्तार गरिएको हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी घरमै राहदानी वितरण सेवालाई अझ प्रभावकारी बनाउने योजना रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले बताए । उनका अनुसार सेवा विस्तारसँगै सदरमुकामसम्म आउनुपर्ने ग्रामीण क्षेत्रका सेवाग्राहीको समय र खर्च घटाउन सहयोग पुगेको छ । जिल्ला प्रशासन कार्यालयमा भीडभाड पनि कम भएको छ ।
