कोशी मुख्यमन्त्रीमा कार्कीकै निरन्तरता कि नयाँलाई मौका ?

एमाले उच्च स्रोतका अनुसार केन्द्रीय नेतृत्वले कोशीमा नेतृत्व परिवर्तनको विकल्प गम्भीर रूपमा छलफल गरिरहेको छ ।

श्रावण ९, २०८३

पर्वत पोर्तेल

Continuation for Karki as Koshi Chief Minister or an Opportunity for a Newcomer?

What you should know

विराटनगर — नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै कोशी प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषय फेरि चर्चा सुरु भएको छ । एमालेकै नेतृत्वमा सरकार रहने भागबन्डापछि वहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने वा नयाँ अनुहार अघि सार्ने भन्ने निर्णय पार्टी नेतृत्वको हातमा पुगेको छ ।

एमाले र नेकपाबीचको सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश नेकपाको भागमा परेको छ । त्यससँगै कोशीमा सरकार पुनर्गठनको तयारी सुरु भएको छ । एमाले कोशीका प्रमुख सचेतक रमेश बस्नेतका अनुसार नयाँ परिस्थितिपछि मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल सुरु भइनसकेको बताए । उनका अनुसार पछिल्लो घटनाक्रमबारे पार्टी प्रदेश कमिटीमा छलफल भएको छैन । व्यक्तिका बारेमा केन्द्रले टुंगो लाउने हो या प्रदेशले सिफारिस गर्नुपर्ने हो त्यो पनि थाह नभएको उनले जनाए । ‘प्रदेशलाई टुंग्याउने जिम्मा दिएमा पुरानैलाई निरन्तरता दिइने सम्भावना प्रवल छ’, उनले भने, ‘केन्द्रबाट भए भन्न सकिन्न ।’ 

एमाले उच्च स्रोतका अनुसार केन्द्रीय नेतृत्वले कोशीमा नेतृत्व परिवर्तनको विकल्प गम्भीर रूपमा छलफल गरिरहेको छ ।खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री तथा सचिव कार्कीको पछिल्लो सम्बन्ध खास सुखद् नरहेको एमाले स्रोतले जनाएको छ । ‘त्यस अर्थमा अध्यक्ष (ओली) ले कार्कीलाई रिप्लेस गर्ने सम्भावना बलियो देखिन्छ’, एक सांसदले भने । 

यदि नेतृत्व परिवर्तन भयो भने एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो सबैभन्दा बलिया दाबेदार देखिएका छन् । कार्कीपछि प्रदेश संसदीय दलका वरिष्ठ नेता रहेका मेन्याङ्बो एमाले संसदीय दलका उपनेता हुन् । ताप्लेजुङ १ (१) बाट निर्वाचित उनी हिक्मतकुमार कार्की नेतृत्वको पहिलो प्रदेश सरकार (२०७९ पुस २५ देखि २०८० असार २२ सम्म) खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री बनेका थिए । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उनले केही समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । त्यसअघि उनी २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई राष्ट्रिय राजनीतिमा पनि सक्रिय भूमिका निर्वाह गरिसकेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै पद हस्तान्तरण गर्न आफू तयार रहेको सार्वजनिक रूपमा बताउँदै सत्ता परिवर्तन विधि र प्रक्रियाअनुसार हुनुपर्ने अडान राख्दै आएका छन् । 

संघीयता कार्यान्वयनपछि कोशी प्रदेशमा अहिलेसम्म ९ पटक सरकार गठन भइसकेको छ । शेरधन राई, भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, उद्धव थापा, केदार कार्की र हिक्मतकुमार कार्की गरी ६ नेताले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

दोस्रो प्रदेशसभाको कार्यकालमै पाँच पटक सरकार परिवर्तन भइसकेको छ । अब बन्ने सरकार प्रदेश स्थापनायताको १०औं तथा दोस्रो कार्यकालको सातौं सरकार हुनेछ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully