प्रहरीले डिजिटल सामग्री, सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरण तथा सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा थप प्रमाण संकलन भइरहेको जनाएको छ।
What you should know
बिराटनगर — मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयमा ट्रान्सक्रिप्ट शुल्क वृद्धिको विरोध गर्न बनाइएको एउटा फेसबुक समूहले विद्यालयभित्र वर्षौंदेखि दबिएको यौनजन्य दुर्व्यवहारको घटना सार्वजनिक गरेको छ।
शुल्कको विषयमा सुरु भएको असन्तुष्टि केही दिनमै पूर्व छात्राहरूले आफूले भोगेका अनुभवहरू सार्वजनिक गर्न थालेपछि विद्यालय प्रशासनमाथि गम्भीर प्रश्न उठेको हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अनुभवहरूमा केही पूर्व छात्राहरूले अध्ययनका क्रममा शिक्षकबाट पटक–पटक मानसिक, मौखिक तथा यौनजन्य दुर्व्यवहार भोग्नुपरेको दाबी गरेका छन्।
उनीहरूका अनुसार डर, सामाजिक लाञ्छना र विद्यालय प्रशासनबाट अपेक्षित सहयोग नपाउने आशंकाका कारण ती घटनाबारे लामो समयसम्म मौन बस्नुपरेको थियो।
एक पूर्व छात्राले परीक्षा चलिरहेका बेला रातिको समयमा शिक्षकबाट पटक–पटक फोन आउने गरेको र उत्तरपुस्तिका आफूसँग रहेको भन्दै बढी अंक दिलाइदिने प्रलोभन देखाएर व्यक्तिगत तस्बिर र भिडियो कलको माग गरिएको आरोप लगाएकी छन्। उनले त्यतिबेला आफू अत्यन्त त्रसित भएको र प्रमाण सुरक्षित राख्न नसक्दा सार्वजनिक रूपमा बोल्न नसकेको उल्लेख गरेकी छन्।
अन्य छात्राहरूले पनि शिक्षकबाट अनुचित शारीरिक स्पर्श, अशोभनीय टिप्पणी, बाटो कुरेर जिस्क्याउने, ‘बेबी’ र ‘डार्लिङ’ जस्ता सम्बोधन गर्ने तथा उमेर र शरीरसँग सम्बन्धित असहज टिप्पणी गर्ने व्यवहार पटक–पटक सहनुपरेको बताएका छन्। उनीहरूका अनुसार यस्ता घटनाका कारण विद्यालय परिसरमै असुरक्षित महसुस हुने अवस्था सिर्जना भएको थियो।
पूर्व छात्राहरूको भनाइअनुसार उनीहरूले त्यतिबेलै विद्यालय प्रशासनसमक्ष मौखिक रूपमा गुनासो गरेका थिए । तर घटनालाई गम्भीर रूपमा नलिई सामान्य रूपमा टार्ने प्रयास भएपछि थप उजुरी गर्न उनीहरू हतोत्साहित भएका थिए। त्यसपछि धेरैले आफूलाई जोगाउने उपाय अपनाउनेबाहेक अर्को विकल्प नभएको बताएका छन्।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार, ३५ वर्षीय शिक्षक अबिरल मास्के र झापाको बुद्धशान्ति ७ बस्ने ३९ बर्षीय भिम नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले डिजिटल सामग्री, सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरण तथा सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा थप प्रमाण संकलन भइरहेको जनाएको छ।
मोरङ प्रहरीका प्रमुख एसपी कवित कट्वालले अनुसन्धानलाई संवेदनशील ढंगले अघि बढाइएको बताए । उनले भने, 'पीडितहरूको सुरक्षा, प्रमाण संरक्षण र घटनाको निष्पक्ष अनुसन्धानलाई प्राथमिकतामा राखिएको छ ।'
विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले यसअघि विद्यालयको इमेलमा बेनामे उजुरी आएको स्वीकार गरेका छन् । उनका अनुसार उजुरीमा कुनै शिक्षकको नाम उल्लेख नभएकाले सबै कर्मचारीसँग छलफल गरिए पनि त्यतिबेला आरोप पुष्टि हुने आधार फेला परेको थिएन ।
यसैबीच सुन्दरहरैँचा नगरपालिकाले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै अनुसन्धानमा सहयोग गर्न, आरोपित कर्मचारीलाई कानुनी प्रक्रियाअनुसार जिम्मेवारीबाट अलग गर्न तथा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ ।
