मुख्य राजमार्गदेखि वैकल्पिक सडकसमेत बाढी र पहिरोले अवरुद्ध भएपछि सयौं यात्रु र ढुवानीका साधन बाटोमै रोकिएका छन् ।
What you should know
पाँचथर — तीन दिनदेखि निरन्तर परेको वर्षाले पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको सडक सञ्जाल लगभग ठप्प बनेका छन् ।
मुख्य राजमार्गदेखि वैकल्पिक सडकसम्म बाढी र पहिरोले अवरुद्ध भएपछि सयौं यात्रु र ढुवानीका साधन बाटोमै रोकिएका छन् ।
मेची राजमार्गको इलाम खण्डस्थित राजदुवाली सडक अझै सञ्चालनमा आउन सकेको छैन । पछिल्लो एक वर्षमा मात्रै यो सडक मर्मतमा २ करोड रुपैयाँभन्दा बढी खर्च गरिए पनि वर्षायाममा अवरुद्ध हुने क्रम दोहोरिएको छ । राजदुवालीको विकल्पका रूपमा हेरिएको सिमलगोलाई–तिल्केनी–जोगमाई सडक पनि बाढीको चपेटामा परेको छ । जोगमाई खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक पूर्णरूपमा बन्द भएको छ ।
यस्तै, इलाम–झापा फास्ट ट्रयाक अन्तर्गत पुवाखोलामा बनाइएको अस्थायी डाइभर्सन पनि बगाएको छ । दिनभर मर्मत गरेर सञ्चालनमा ल्याइने डाइभर्सन रातारात बाढीले बगाउँदा यो सडक पनि पूर्णरूपमा बन्द भएको हो ।
पाँचथरमा पनि वर्षाले सडक सञ्जाल अस्तव्यस्त बनाएको छ । नावाखोलामा आएको बाढीका कारण तमोर करिडोर अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङबाट धरान, विराटनगर तथा अन्य गन्तव्यतर्फ जाने र फर्किने सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
मेची राजमार्गको इलाम खण्ड बन्द भएसँगै पाँचथरतर्फको आवागमनसमेत प्रभावित बनेको छ । जिल्ला प्रहरी पाँचथरका अनुसार एक सातादेखि यो मार्ग भएर नियमित सवारी सञ्चालन हुन सकेको छैन ।
ग्रामीण सडकहरू पनि पहिरोले प्रभावित भएका छन् । फालेलुङ गाउँपालिका–२ एकतिन क्षेत्रमा गएको पहिरोका कारण जोरपोखरी–एकतिन–मेमेङ सडक अवरुद्ध भएको छ । जिल्लाका अन्य ग्रामीण सडकमा पनि ठाउँ–ठाउँमा पहिरो झर्दा स्थानीय आवागमन प्रभावित भएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार लगातारको वर्षाका कारण सडक तथा भौतिक पूर्वाधारमा क्षति भइरहेको बताए । नदी तथा खोलामा पानीको सतह बढिरहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न, पहिरो र नदी किनारका क्षेत्रमा सतर्क रहन प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद्को सामना गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रजिअ दाहालले बताए । पहिरोका कारण फिदिम फालौट र राँके रविसहितका सडक पनि अवरुद्ध छन्
