अरुण कोरिडोर निर्माणले गति लियो, भोजपुर–संखुवासभाबाट तराइको यात्रा ६० किलोमिटर छोटिने

सडक निर्माण सम्पन्न भएपछि भोजपुर, संखुवासभा तथा धनकुटाको महालक्ष्मी र पाख्रिबास क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएको कोशी राजमार्गको करिब १२५ किलोमिटर दूरीबाट ६५ मा सीमित हुनेछ।

श्रावण ४, २०८३

विनोद घिमिरे

Construction of Arun Corridor gains momentum, journey to Terai from Bhojpur-Sankhuwasabha will be shortened by 60 kilometers

What you should know

धनकुटा — भोजपुर र संखुवासभालाई सबैभन्दा छोटो दूरीमा तराइसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन अरुण कोरिडोर सडक आयोजनाको काम अघि बढेको छ।

६५ किलोमिटर लामो यो द्रुतमार्गले सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटाको महालक्ष्मी र पाख्रिबास नगरपालिकाको सीमास्थित माङ्माया डाँडासम्म जोड्नेछ।

आयोजनाअन्तर्गत चतरा–माङ्माया खण्डलाई तीन भागमा विभाजन गरी करिब एक अर्ब रुपैयाँ लागतमा ४५ किलोमिटर सडक निर्माणको ठेक्का भइसकेको छ। तीमध्ये ३५ किलोमिटरमा प्रारम्भिक ट्रयाक खोलिसकिएको छ भने हाल त्यसलाई १० मिटर चौडाइमा विस्तार गर्ने काम भइरहेको आयोजना प्रमुख मनिषमान शाक्यले जानकारी दिए।

उनका अनुसार बाँकी सडकको काम तमोर नदीमाथि निर्माण हुने मुख्य पुलको स्थान (एक्सिस) र डिजाइन टुंगिएपछि अघि बढाइनेछ। यसका लागि सडक विभागको पुल महाशाखासँग विस्तृत अध्ययनका लागि समन्वय भइरहेको उनले बताए।

'यो सडक चतराघाटदेखि माङ्माया डाँडासम्म ६५ किलोमिटर लामो हो। ४५ किलोमिटरमा ट्रयाक खोल्ने ठेक्का व्यवस्थापन भइसकेको छ। त्यसमा ३५ किलोमिटरमा प्रारम्भिक ट्रयाक खोलिसकेका छौं। अब त्यसलाई १० मिटर चौडाइमा विस्तार गर्दैछौं। बाँकी काम तमोर पुलको डिजाइन र अलाइनमेन्ट टुंगिएपछि साउनपछि अघि बढाउने योजना छ,' शाक्यले भने।

आयोजनाको सम्पूर्ण ६५ किलोमिटर सडकमा तमोर नदीसहित ११ स्थानमा मोटरेबल पक्की पुल निर्माण गर्नुपर्नेछ। तमोर, अधेरी, छाम्लाङ, धुसेनी, मंग्सुवा, सुनाखानी खहरे, लेदे, मुगा र निवुखोलालगायत स्थानमा २० देखि ४० मिटर लम्बाइका पुल निर्माण गरिनेछ। केही पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको आयोजनाले जनाएको छ।

सडक निर्माण सम्पन्न भएपछि हाल भोजपुर, संखुवासभा तथा धनकुटाको महालक्ष्मी र पाख्रिबास क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएको कोशी राजमार्गको करिब १२५ किलोमिटर दूरीबाट ६५ किलोमिटरमा सीमित हुनेछ। यसबाट यात्रा समय करिब दुई घण्टासम्म कम हुने र ढुवानी लागत पनि घट्ने अपेक्षा गरिएको छ।
महालक्ष्मी नगरपालिका–४ चानुवाका स्थानीय वीरबहादुर विश्वकर्माले सडक निर्माणले दैनिक जीवनमा ठूलो सहजता ल्याउने बताए।

'अहिले धरान जान पाख्रिबास, हिले, धनकुटा, मूलघाट र भेडेटार हुँदै दिनभरि लाग्छ। अरुण कोरिडोर बनेपछि धेरै छोटो समयमा पुग्न सकिन्छ। बिरामी पर्दा वा अन्य आपत्कालीन अवस्थामा पनि छिटो आवतजावत गर्न सकिनेछ,' उनले भने।

यद्यपि सडकको केही खण्डमा स्थानीयका घर–टहराका कारण ट्रयाक खोल्ने काममा ढिलाइ भएको आयोजनाले जनाएको छ। ती समस्या समाधानका लागि स्थानीय, स्थानीय तह र धनकुटा प्रशासन सँग पनि समन्वय भइरहेको आयोजनाले जनाएको छ।

धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्माण कार्यमा कुनै अवरोध हुन नदिन प्रशासनले निरन्तर सहजीकरण गरिरहेको बताइन्। 'सडकको अधिकार क्षेत्रमा पर्ने केही स्थानमा सामान्य समस्या देखिएका छन्। ती समाधान गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन आयोजना र निर्माण कम्पनीसँग नियमित समन्वय तथा अनुगमन गरिरहेका छौं,' उनले भनिन्।

यसैबीच प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा सुरक्षा अधिकारीहरुको टोलीले आयोजनास्थलको अनुगमन गरेको छ। टोलीले आयोजनाको प्रगति, देखिएका समस्या र समाधानका उपायबारे आयोजना तथा निर्माण कम्पनीसँग छलफल गर्दै काममा ढिलाइ हुन नदिन निर्देशन दिएको जनाएको छ।

आयोजना प्रमुख शाक्यका अनुसार सडकको अधिकार क्षेत्रमा परेका केही घर–टहरा हटाउने प्रक्रिया पनि अघि बढाइएको छ। ती समस्या समाधान भएपछि बाँकी निर्माण कार्य अझ तीव्र रूपमा अघि बढाइने उनले बताए।

निर्माण सम्पन्न भएपछि भोजपुर र संखुवासभाबाट तराई आवतजावत गर्ने यात्रुले हाल लेगुवाघाट, घोर्लिखर्क, पाख्रिबास, हिले, धनकुटा, मूलघाट, भेडेटार हुँदै तय गर्नुपर्ने करिब १२५ किलोमिटर दूरी घटेर ६५ किलोमिटरमा सीमित हुनेछ। यसले यात्रुको समय र खर्च बचत हुनुका साथै ढुवानी सेवा पनि थप सहज र सस्तो बन्ने अपेक्षा गरिएको छ। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully