बाढीपहिराले इलाम, पाँचथर र ताप्लेजुङको सडक सञ्जाल प्रभावित

बाढीपहिरोले मेची राजमार्गसहित वैकल्पिक मार्गहरु बन्द हुँदा इलामसहित मेचीका पहाडी जिल्लामा सडक सञ्जाल टुटेको छ ।

श्रावण ३, २०८३

लक्ष्मी गौतम

Floods and landslides affect road networks in Ilam, Panchthar, and Taplejung

What you should know

पाँचथर — निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले मेची राजमार्गसहित वैकल्पिक मार्गहरु बन्द हुँदा इलामसहित मेचीका पहाडी जिल्लामा सडक सञ्जाल टुटेको छ ।

मेची अञ्चलमा पर्ने तराईको झापा हुँदै पहाडी जिल्ला इलाम र पाँचथर हुँदै हिमाली जिल्ला ताप्लेजुङसम्म जोडेको मेची राजमार्ग अन्तर्गत माईखोलास्थित राजदुवाली सडक खण्डमा सवारी र ढुवानी साधन गुड्नै नसक्ने गरी भासिएपछि एकसाता यता ठप्प प्रायः छ ।

मर्मत गरेर आइतबारदेखि दुईचक्के साधन मात्रै आउजाउ गराउन पटक पटक कोसिस गरिएपनि सडक भासिने समस्या नरोकिँदा मोटर साइकलसमेत सञ्चालन हुन सकिरहेका छैनन् ।

माईखोला रााजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडक पनि बाढीकै कारण अवरुद्व भएको छ ।

यो सडक अन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा बाढी आउनासाथ क्षति पुग्ने गरेकाले यो बाटो भरपर्दो छैन ।

इलाम–झापा जोड्ने अर्को सडक केचना–कञ्चनजङ्गा फास्ट ट्र्याक अन्तर्गत पुवा खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्‍याएको छ । 

डाइभर्सन माथिबाट धमिलो पानी वग्नुका साथै वारिपारिको जगमा क्षति पुग्ने समस्या दोहोरिइरहँदा यो सडक पनि यात्राका लागि सुरक्षित नरहेको चालक र यात्रुहरु बताँउछन् ।

सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार वैकल्पिक सडकमा पर्ने पुवा खोला र जोगमाई खोलामा बेलीब्रिज जोड्ने तयारी गरिएपनि भारतबाट आइपुगेका छैनन् । जसले झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङ पुग्ने सवारी र ढुवानी साधन सञ्चालनमा चुनौती छ ।

झापाबाट केही दिनअघि नै खाद्यान्नसहितका उपभोग्य वस्तु लिएर इलाम हुँदै पाँचथर र ताप्लेजुङका लागि छुटेका ठूलो परिमाणका साधन माइखोलापारि रोकिएका छन् । 

इलाम उद्योग वाणिज्य संघले यो समस्या केही दिन यथावत् रहे थप समस्या आउन सक्ने भन्दै समाधानका लागि संघ र प्रदेश सरकारसँगै सम्बन्धित निकायमा अपिल गरेको छ ।

अध्यक्ष कृष्ण पौडेलले ट्रकभित्र रहेका सामग्री समेत पानी चुहिएर सड्ने अवस्थामा पुगिसकेको बताए ।

यातायात र ढुवानीका साधन नियमित नहुँदा इलामस्थित माईखोला वारिका बजारमा इन्धन र खाद्यान्नको मौज्दात सकिन लागेको व्यवसायीहरु बताँउछन् ।

तमोर करिडोर र सहायक सडकहरुमा पनि जोखिम

तराईदेखि पहाड हुँदै हिमाली जिल्ला ताप्लेजुङसम्म जोड्ने तमोर करिडोर पनि बाढी पहिरोका कारण प्रभावित भएको छ । यो सडकमा पर्ने धनकुटा र पाँचथरको सीमावर्ती नावाखोलासँगै फिदिम र हिलिहाङको सिमानामा पर्ने हेँवा खोलासहित धनकुटा क्षेत्रका अधिकांश खोलामा पुल छैनन् ।

पानी पर्नासाथ आउने बाढीका कारण ती खोलानालाबाट गाडी तार्न सम्भव छैन । पछिल्लो समय बिहानैदेखि बाढीको जोखिम बढेकाले यो सडक भएर सवारी र ढुवानी साधन नियमित रुपमा आउजाउ गरेका छैनन् । नावा खोलाबाट गाडी तर्ने अवस्था नरहेकाले फिदिमबाट धरान र विराटनरका लागि छुट्ने सवारी साधन पठाउन नसकिएको यातायात व्यवसायी देविराज कुरुम्वाङ बताउँछन् ।

बाढी र पहिरोका कारण पाँचथर जिल्लाका भित्री सडकहरुमा पनि क्षति पुगेको छ । जोरपोखरी एकतिन मेमेङ,फिदिम फालौट र राँके रवि क्षेत्रमा वर्षासँगै हुस्सु र कुहिरो लागेको र ठाउँ ठाउँमा पहिरो ढिस्को खसेका कारण जोखिम मोलेर यात्रा नगर्न भनिएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully