राजनीतिक तथा प्रशासनिक अन्योलका कारण संखुवासभाको खाँदबारीस्थित विश्वविद्यालयमा पठनपाठन वैशाख १९ यता बन्द हुँदा विद्यार्थी अन्योलमा छन्।
What you should know
संखुवासभा — संखुवासभाको खाँदबारीस्थित विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा वैशाख १९ यता पठनपाठन पूर्ण रूपमा बन्द छ । विद्यार्थीले तत्काल कक्षा सञ्चालन गर्न माग गरेका छन्।
विश्वविद्यालय सञ्चालनमा देखिएको अन्योलका कारण विद्यार्थीको शैक्षिक भविष्य संकटमा परेको भन्दै उनीहरूले शुक्रबार राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका प्रमुखसँग छलफल गरी नियमित पठनपाठनको वातावरण बनाउन आग्रह गरेका हुन्।
विश्वविद्यालयमा चैत १ देखि एमएस्सी तहको पठनपाठन सुरु भएको थियो। उक्त कार्यक्रममा १८ जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीका अनुसार वैशाख १८ मा राजनीतिक नियुक्ति खारेजीसम्बन्धी अध्यादेश जारी भएपछि विश्वविद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको हो। त्यसयता कक्षा सञ्चालन हुन नसकेको मात्र होइन, जिल्ला समन्वय समितिको भवनमा रहेको विश्वविद्यालयको कार्यालयसमेत बन्द अवस्थामा रहेको छ।
एमएस्सीमा अध्ययनरत विद्यार्थी क्षितिज बरालका अनुसार विद्यार्थीहरूले अनलाइन आवेदनमार्फत भर्ना भएर अध्ययन सुरु गरेका थिए। पहिलो सेमेस्टर परीक्षाका लागि प्रत्येक विद्यार्थीले ४० हजार रुपैयाँ शुल्कसमेत बुझाइसकेका छन्। तर शुल्क तिरेर अध्ययन सुरु गरेको केही समयमै पठनपाठन बन्द हुँदा आफूहरू अन्योलमा परेको उनले बताए। विश्वविद्यालय सञ्चालनमा देखिएको ढिलाइले विद्यार्थीको समय र लगानी दुवै जोखिममा परेको भन्दै उनले तत्काल शैक्षिक गतिविधि नियमित गर्न सम्बन्धित निकायसँग माग गरे।
विश्वविद्यालयमा अध्यापन गरिरहेकी उपप्राध्यापक डा. सुमित्रा घिमिरेले आफूहरूले कुनै औपचारिक सम्झौताविना शैक्षिक जिम्मेवारी निर्वाह गरेको बताइन्। उनका अनुसार शिक्षकहरूले दुई सेमेस्टरसम्मको पाठ्यक्रम (सिलेबस) तयार पारे पनि हालसम्म औपचारिक शैक्षिक जिम्मेवारी पाएका छैनन्।
विश्वविद्यालयको सिनेट बैठक बस्न नसक्दा आवश्यक निर्णय हुन सकेको छैन। कक्षा सञ्चालनका लागि आवश्यक शैक्षिक सामग्रीको समेत अभाव रहेको र विश्वविद्यालयसँग आफ्नै लेटरप्याडसमेत नभएको उनले उल्लेख गरिन्।
डा. घिमिरेका अनुसार विश्वविद्यालयको पूर्वाधार विकासका लागि विनियोजन गरिएको २५ करोड रुपैयाँसमेत खर्च हुन नसकी फ्रिज भएको छ। आवश्यक संरचना, नीति तथा प्रशासनिक व्यवस्था समयमै तयार हुन नसक्दा विश्वविद्यालय सञ्चालन थप समस्या रहेको उनको भनाइ छ।
राजनीतिक अध्यादेशपछि विश्वविद्यालय सञ्चालनको जिम्मेवारी पाएका शिक्षा समन्वय इकाइ संखुवासभाका प्रमुख गोपालमान भण्डारीले आफूलाई जिम्मेवारी दिइए पनि माथिल्लो निकायबाट कुनै आधिकारिक निर्देशन नआएको बताए। उनका अनुसार हालसम्म विश्वविद्यालय सञ्चालनसम्बन्धी कुनै औपचारिक पत्र प्राप्त भएको छैन। सिनेट बैठक विश्वविद्यालयको सर्वोच्च निर्णय गर्ने निकाय भएकाले त्यसको निर्णयबिना शिक्षक नियुक्ति वा अन्य महत्वपूर्ण प्रशासनिक काम गर्न नसकिने उनले स्पष्ट पारे। 'माथिल्लो निकायबाट लिखित निर्देशन नआएसम्म स्वतन्त्र रूपमा कुनै निर्णय गर्न सक्ने अवस्था छैन,' उनले भने, 'सिनेट बैठक बसेर आवश्यक निर्णय नगरेसम्म विश्वविद्यालयलाई नियमित सञ्चालन गर्न कानुनी तथा प्रशासनिक कठिनाइ छ।'
विद्यार्थीको मागपछि आयोजित छलफल कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका प्रमुख, नेकपा एमाले संखुवासभाका जिल्ला अध्यक्ष खड्गबहादुर राई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भक्तनारायण श्रेष्ठ, सचिव सुनिल श्रेषठलगायत सहभागी थिए। उनीहरूले विश्वविद्यालय सञ्चालनमा सरकारले गम्भीर चासो दिनुपर्नेमा जोड दिएका छन्।
उनीहरूले विद्यार्थीको भविष्यसँग खेलबाड हुन नहुने भन्दै सकेसम्म वैकल्पिक व्यवस्था गरेर भए पनि पठनपाठन तत्काल सञ्चालन गर्नुपर्ने धारणा राखे। साथै विश्वविद्यालय सञ्चालनमा देखिएका कमजोरी पहिचान गर्दै आवश्यक नीति, नियम र भौतिक पूर्वाधार तयार गरी दीर्घकालीन रूपमा संस्थालाई व्यवस्थित बनाउनुपर्ने उनीहरूको सुझाव थियो।
छलफलपछि जिल्ला समन्वय समिति प्रमुख शाक्यले विश्वविद्यालय परिषद्को बैठक यथाशीघ्र बोलाएर आवश्यक निर्णय गरी विश्वविद्यालयको नियमित कामकाज सञ्चालनको निकास निकाल्न सम्बन्धित निकायसमक्ष आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार विश्वविद्यालयको नाममा जग्गा खरिद प्रक्रिया अघि बढाउन आवश्यक प्रक्रिया जिल्ला प्रशासन कार्यालयमा मौज्दात रहेको तथा मन्त्रिपरिषदबाट स्वीकृत बजेट तत्काल उपलब्ध गराइदिन सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।
त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा विश्वविद्यालयको पूर्वाधार विकासका लागि विनियोजन गरिएको २५ करोड रुपैयाँ प्राविधिक कारणले खर्च हुन नसकी फ्रिज भएकाले उक्त रकम पुनः उपलब्ध गराइदिन सरकारसमक्ष सर्वसम्मत रूपमा अनुरोध गर्ने निर्णय भएको प्रमुख शाक्यले बताए। राजनीतिक तथा प्रशासनिक अन्योलका कारण बन्द भएको विश्वविद्यालय कहिलेबाट पुनः सञ्चालन हुन्छ भन्ने निश्चित हुन नसक्दा विद्यार्थी चिन्तित बनेकाे विद्यार्थी भीम कट्टेलले बताए ।
