विभिन्न समयमा बरामद गरेको १ हजार २ किलो ३ सय ग्राम गाँजा र ३ हजार ८ सय ३६ क्याप्सुल लागुऔषध मूलघाटस्थित तमोर नदी किनारमा जलाएर नष्ट गरेको हो।
धनकुटा — जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको ठूलो परिमाणको गाँजा तथा लागुऔषध जलाएर नष्ट गरेको छ।
धनकुटा प्रहरी मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरीले विभिन्न समयमा बरामद गरेको १ हजार २ किलो ३ सय ग्राम गाँजा र ३ हजार ८ सय ३६ क्याप्सुल लागुऔषध मूलघाटस्थित तमोर नदी किनारमा जलाएर नष्ट गरेको हो।
प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा खटिएको टोलीले अदालत तथा सम्बन्धित निकायको आवश्यक प्रक्रिया पूरा गरेपछि बरामद भएका लागुपदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
नष्ट गरिएका लागुऔषधमा ट्रामाडोल, स्पासपेन, रेसिसपासलगायतका क्याप्सुल रहेका छन्। यी लागुऔषध विभिन्न समयमा जिल्लाका अलग–अलग स्थानबाट प्रहरीले बरामद गरेको थियो। प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाइएको छ।
जिल्ला प्रवेश गर्ने मुख्य नाका, राजमार्ग तथा शंकास्पद गतिविधि हुने क्षेत्रहरूमा निगरानी बढाइएकाले लागुऔषधसहित पक्राउ पर्ने घटनामा पनि वृद्धि भएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रन्जितकारले बताए ।
धनकुटा प्रहरीले लागुऔषधको अवैध ओसारपसार, बिक्री–वितरण तथा सेवन नियन्त्रणका लागि नियमित रूपमा विशेष सुरक्षा अभियान सञ्चालन गर्दै आएको जनाएको छ। अभियानका क्रममा बरामद गरिएका लागुपदार्थ कानुनी प्रक्रिया पूरा गरी समय–समयमा नष्ट गर्ने गरिएको प्रहरी उपरीक्षक रन्जितकारको भनाइ छ।
