धनकुटास्थित काफ्ले होटलमा भान्सा सरसफाइ नगरेको र पटक–पटक प्रयोग गरिएको पुरानो तेलमा खाना पकाएको भेटिएपछि उपभोक्ता संरक्षण ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।
What you should know
धनकुटा — धनकुटा सदरमुकामस्थित हुलाकटोल क्षेत्रका होटलहरूमा बुधबार छड्के अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयलगायतको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा सरसफाइमा लापरबाही र पुरानो तेल प्रयोग गरी खाना बनाएको पाइएपछि एक होटललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै विभिन्न होटलबाट म्याद गुज्रिएका खाद्य सामग्री तथा तयारी खानेकुरा जफत गरी नष्ट गरिएको छ ।
धनकुटास्थित काफ्ले होटलमा भान्सा सरसफाइ नगरेको र पटक–पटक प्रयोग गरिएको पुरानो तेलमा खाना पकाएको भेटिएपछि उपभोक्ता संरक्षण ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए । त्यसैगरी विभिन्न होटलबाट म्याद नाघेका खाद्य सामग्री तथा खान अयोग्य तयारी खानेकुरा फेला परेपछि ती सामग्री जफत गरी नष्ट गरिएको टोलीले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार होटल तथा रेस्टुरेन्टका सेवाबारे उपभोक्ताबाट लगातार गुनासो आएपछि छड्के अनुगमन गरिएको हो । उनका अनुसार केही होटलमा मूल्यसूची नराखिएको, खाद्य स्वच्छताका मापदण्ड पालना नगरेको तथा खान अयोग्य सामग्री बिक्री भइरहेको समेत पाइएको छ ।
टोलीले होटल व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्न, म्याद गुज्रिएका खाद्य सामग्री बिक्री नगर्न र मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिएको बताए । कमजोरी दोहोरिए कडा कानुनी कारबाही गरिने उनको भनाइ छ । जिल्ला अस्पताल आसपास बिरामी र कुरुवाको चाप बढी हुने भएकाले त्यस क्षेत्रका होटलहरूमा गुणस्तरीय, सुरक्षित र स्वच्छ खाद्य सामग्रीको बिक्री सुनिश्चित गर्न अनुगमन गरिएको रेग्मीले जनाए ।
