कम्प्युटर प्रणालीबाट नियन्त्रण हुने शीतभण्डारले किसानका उत्पादन सुरक्षित राख्न मद्दत गर्ने, गुणस्तर जोगाउने र बजारमा राम्रो मूल्य दिलाउने लक्ष्य राखिएको छ।
What you should know
धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिकामा फलफूल तथा तरकारी सुरक्षित भण्डारणका लागि निर्माणाधीन आधुनिक शीतभण्डार केन्द्रको काम अन्तिम चरणमा पुगेको छ।
संघीय सरकारको ९ करोड ७५ लाख रुपैयाँ विशेष अनुदानमा नगरपालिका–१ कटहरेमा निर्माण भइरहेको शीतभण्डार आगामी हिउँददेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
करिब पाँच लाख किलो फलफूल तथा तरकारी भण्डारण क्षमता रहेको दुईतले अत्याधुनिक भवनको करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ। स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई निश्चित तापक्रम र आर्द्रतामा लामो समयसम्म सुरक्षित राखी उचित मूल्य प्राप्त हुने समयमा बिक्री गर्न सकून् भन्ने उद्देश्यले शीतभण्डार निर्माण गरिएको हो।
महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायमाझीले धेरै उत्पादन भएका बेला कृषि उपज भण्डारण गरी बजारमा राम्रो मूल्य प्राप्त हुने समयमा बिक्री गर्न सकिने व्यवस्था मिलाइने बताए। उनका अनुसार शीतभण्डार सञ्चालनमा आएपछि किसानले उत्पादन तत्कालै सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता हट्नेछ।
निर्माणमा संलग्न प्राविधिकका अनुसार केन्द्रमा कम्प्युटर प्रणालीमार्फत तापक्रम र आर्द्रता नियन्त्रण गरिनेछ। विभिन्न प्रकारका फलफूल तथा तरकारीका लागि आवश्यक फरक–फरक तापक्रम कायम गर्न सकिने व्यवस्था हुनेछ। केन्द्रमा इन्सुलेटेड प्यानल, व्यवस्थित वैकल्पिक विद्युत् प्रणाली, सन्तुलित हावा प्रवाह, भण्डारण ऱ्याक तथा लोडिङ–अनलोडिङका लागि आवश्यक पूर्वाधारसमेत जडान गरिनेछ। वैकल्पिक ऊर्जाका लागि आवश्यक उच्च क्षमताको विद्युत् प्रणालीसमेत ल्याइसकिएको छ।
फलफूल तथा तरकारी उत्पादनका दृष्टिले अग्रणी मानिने महालक्ष्मी नगरपालिकामा आलु, बन्दाकोपी, काउली, मटरकोसा, गोलभेँडा, एभोकाडो, आँप, केरा र अम्बा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। तर शीतभण्डारण सुविधा नहुँदा किसानले उत्पादन तत्कालै कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ।
नगरप्रमुख रायमाझीका अनुसार नगरपालिकाका सबै वडा कच्ची सडकमार्फत शीतभण्डारसँग जोडिएका छन्। सडक स्तरोन्नतिसँगै शीतभण्डारको उपयोगिता अझ बढ्ने विश्वास गरिएको छ। सञ्चालनका लागि स्पष्ट कार्यविधि तयार गरी स्थानीय समुदायको सहभागितामै व्यवस्थापन गरिने योजना रहेको उनले बताए।
शीतभण्डार सञ्चालनपछि उत्पादन सड्ने, कुहिने तथा गुणस्तर घट्ने समस्या कम हुने, ठूला बजार तथा प्रशोधन उद्योगमा नियमित आपूर्ति गर्न सहज हुने, कृषि व्यवसायलाई व्यावसायिक बनाउन टेवा पुग्ने र स्थानीय स्तरमा रोजगारीका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ।
कटहरेका किसान भुपाल रायाले शीतभण्डार सञ्चालनमा आएपछि किसानको उत्पादन कुहिएर खेर जाने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे। उत्पादन सुरक्षित राखेर बजारमा राम्रो मूल्य आएको समयमा बिक्री गर्न सकिने भएकाले यसबाट महालक्ष्मीका किसानले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ।
