नाम्दु खोलामा आर्क ब्रिज संचालन

२०८२ वैशाखभित्र सक्ने लक्ष्य रहेको पुलको ०८१ असोज १२ को बाढीले निर्माणाधीन संरचना भत्काउँदा एक वर्ष ढिला गरेर काम सकिएको हो ।

असार २२, २०८३

लक्ष्मी गौतम

Arch bridge operational on Namdu River

पाँचथर — जिल्ला सदरमुकाम फिदिमको शिवालय मन्दिरदेखि रानीटार–लुङरुपा–गोरुवाले  सडक खण्ड अन्तर्गत पर्ने नाम्दु खोलामा आर्क प्रविधिको पक्की आरसीसी पुल निर्माण गरिएको छ । 

नाम्दु खोलाले फिदिम नगरपालिका १ र ७ लाई सिमाना छुट्याउँछ । कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय पाँचथरले ३ करोड ४५ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो ।

३०.३८ लम्बाई भएको पुल निर्माण गर्न फिदिमस्थित संजीव निर्माण सेवासँग सम्झौता भएको थियो ।  
आयोजनामा स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी) र स्विस सरकार विकास सहयोग (एसडीसी)को प्राविधिक सहयोग रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कमानी आकारको आर्क आरसीसी पुल बाढीको बहाव थेग्न सक्ने, बलियो र दीर्घर्कालीन हुने प्राविधिकहरू बताँउछन् । यस्तो संरचनाले पुलमा पर्ने भार दुवैतर्फ समान रूपमा वितरण गर्ने भएकाले जोखिम कम हुने पनि प्राविधिकको भनाइ छ । 

२०८० निर्माण सुरु भएको यो पुल २०८२ वैशाखभित्र सक्ने लक्ष्य थियो । २०८१ असोज १२ को बाढीले निर्माणाधीन संरचना भत्काउँदा एक वर्ष ढिला गरेर काम सकिएको हो ।

पुल सञ्चालनमा आएपछि वर्षायाममा स्थानीयले भोग्दै आएको आवतजावतको समस्या अन्त्य भएको छ ।
साथै शिवालय–रानीटारर–लुङरुप्पा–गोरुवाले सडक खण्ड भएर फिदिमदेखि रानीटार र लुङरुपा जाने यात्रु, सवारी र ढुवानीका साधनलाई सहज भएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully