सीमा सुरक्षा र झापाको हात्ती प्रभावित क्षेत्रमा गृहमन्त्रीको चासो

झापामा रहेका गृहमन्त्री सुधन गुरुङले सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचविखन तथा बाहुनडाँगी क्षेत्रमा देखिएको हात्तीको समस्याप्रति चासो राखेका छन् ।

असार २२, २०८३

रासस

Home Minister's concern over border security and elephant-affected areas of Jhapa

What you should know

काठमाडौँ — सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जंगली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङ झापा भ्रमणमा छन् ।

 आइतबार राति झापा आएका गृहमन्त्री गुरुङले आज अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरे ।भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए । 

सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्कर नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचविखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ । 

गृहमन्त्री गुरुङ आज बिहान सालबारीबाट मेचीनगर नगरपालिका–४ स्थित बाँहुनडाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए । सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते अनिकेत चौलागाईँसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए  ।

गृहमन्त्री गुरुङले मेचीनगर नगरपालिका–७ इँटाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोस्टको निरीक्षण गरे । सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई उनले आवश्यक निर्देशन पनि दिए ।

मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर उनले सीमा नाकाको समग्र सुरक्षा व्यवस्था तथा यात्रु जाँच कक्षको स्थलगत अनुगमन गरे । लगत्तै मेची भन्सार कार्यालयको निरीक्षण गरी राजस्व संकलन, भन्सार व्यवस्थापन तथा सीमा नाकाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिए ।

झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचविखन, अवैध सीमा गतिविधि तथा बाँहुनडाँगी क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको जंगली हात्तीको समस्याप्रति गृहमन्त्रीले विशेष चासो व्यक्त गरे । 

रासस

Link copied successfully