पाँचाैं पटक म्याद थप्दा पनि निर्माण नसकिएको र भवन निर्माणमा गुणस्तरहीन गिटी, बालुवा प्रयोग गरिएको पाइएपछि पालिकाले गर्यो म्याद थप नगर्ने निर्णय
खोटाङ — जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ शैय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । चार वर्षअघि नै सकिनु पर्ने अस्पताल निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण अझै सम्पन्न हुन सकेको छैन ।
एक वर्षभित्र सक्ने गरी ड्रागन–रियर जेभीले २०७८ असार २५ मा २० करोड ७१ लाख ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म ३३ प्रतिशत मात्र भौतिक प्रगति भएको जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । ‘अस्पताल भवनको दुई वटा ब्लकमध्ये एउटा ठड्याउँदा–ठड्याउँदै छाडिएको छ,’ खड्काले भने, ‘अर्को ब्लकको जग मात्र उठाइएको अवस्थामा छ ।’ निर्माण कम्पनीले अहिलेसम्म ६ करोड ४९ लाख ६ हजार भुक्तानी लिएको छ ।
पटक–पटक म्याद थप गरिए पनि कामको प्रगति भने नभएको उपाध्यक्ष खड्काले बताए । पहिलो पटक २०८० असार २५ सम्म, दोस्रो पटक २०८१ असार ३० सम्म, तेस्रो पटक २०८२ असार १५ सम्म, चौथो पटक २०८२ फागुन १५ सम्म र पाँचौं पटक २०८३ असार १४ सम्मका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक केही काम गरे पनि बैशाखदेखि भने निर्माणको काम ठप्प छ । काम नगरेपछि गत असार ६ को कार्यपालिका बैठकले म्याद नथप्ने निर्णय गरेको खड्काले जनाए ।
निर्माणाधीन भवनमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरिएपछि गाउँपालिकाले निर्माण गरिएको संरचना भत्काउन लगाएको थियो । अनुगमनका क्रममा जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाइएपछि पालिकाले निर्माण गरिएका संरचना भत्काएर गुणस्तरीय काम गर्न लगाएको थियो । जगको पीसीसी ढलानमा कमसल बालुवा मिसाएको पाइएपछि भत्काएर पुनः बनाउन लगाइएको हो ।
केही समस्या देखिएकाले पीसीसी ढलान भत्काएको निर्माणमा सम्बद्ध देवराज पाण्डेले बताए । उक्त भवनको डीपीआर दुई पटकसम्म संशोधन गर्नु परेकाले एक वर्षपछि मात्र निर्माण सुरु गरिएको पाण्डेले बताए । उनका अनुसार दुई पटकसम्म डीपीआर संशोधन गर्दा ‘आइटम चेन्ज’ हुनुका साथै भवनको लागत पनि बढेको छ । डीपीआर संशोधन हुँदा करिब ३ करोड लागत बढेको उनको दाबी छ ।
भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । डीपीआर परिवर्तनमा समय लाग्नु, फोक्सिङटारमा पुल नहुनु, जेन–जी आन्दोलन लगायतका कारण निर्माणमा ढिलाइ भएको पाण्डेले बताए । भने, ‘अब एक वर्ष भित्र सक्ने गरी धमाधम काम भइरहेको छ ।’
