सब-इन्जिनियर साहले निर्माण भइरहेको पर्खालको गुणस्तरमा प्रश्न उठाएपछि कामदारहरूले भाटाले प्रहार गरेका थिए ।
काठमाडौँ — भोजपुरमा निर्माणाधीन सडकको अनुगमनका क्रममा गुणस्तरमा प्रश्न उठाएका पूर्वाधार विकास कार्यालय भोजपुरका सबइन्जिनियर आनन्दकुमार साहमाथि स्थानीय कामदारको समूहले कुटपिट गरेको छ। घटनामा घाइते भएका साहको विराटनगरमा उपचार भइरहेको छ।
घटना असार १५ गते भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बासीखोला–बालङ्खा–रानीटार सडक निर्माणस्थलमा भएको हो। पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तम नारायण खरेलका अनुसार अनुगमनका क्रममा सब इन्जिनियर साहले निर्माण भइरहेको पर्खालको गुणस्तरमा प्रश्न उठाएपछि कामदारसँग विवाद भएको थियो। विवाद बढ्दै गएपछि कामदारहरूले भाटाले प्रहार गर्दा साहको टाउकोमा चोट लागेको उनले बताए।
घाइते शाहलाई तत्काल जिल्ला अस्पताल भोजपुर लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मोरङको विराटनगरस्थित मोरङ सहकारी अस्पताल रेफर गरिएको खरेलले जानकारी दिए। उनका अनुसार साहको अवस्था अहिले खतरामुक्त छ।
भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार सबइन्जिनियर साहले निर्माण कार्य कम गुणस्तरीय भएको भन्दै पर्खाल भत्काइदिने तथा पारिश्रमिक उपलब्ध नगराउने चेतावनी दिएपछि कामदारहरू आक्रोशित भएका थिए। त्यसपछि भएको विवादका क्रममा उनीमाथि भाटाले प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ज्ञानबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई, निराजन बोगटी, प्रितम राईसहित ६ जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न रहेका अर्का एक जनालाई भने उमेर हदका कारण बाहिरै राखेर प्रक्रियाअनुसार अनुसन्धान भइरहेको डिएसपी लामाले बताए।
लामाका अनुसार घाइतेको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा मुद्दाको प्रकृति निर्धारण हुनेछ। अस्पतालको रिपोर्ट र प्रतिवेदन सामान्य आए अभद्र व्यवहार मुद्दा चलाइनेछ भने गम्भीर चोट पुष्टि भए अंगभंग तथा कुटपिटसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिने उनले बताए।
यसैबीच विकास कार्यालय धनकुटाले विज्ञप्ति जारी गरी ड्युटीमा रहेका सब इन्जिनियरमाथि भएको हमलाको निन्दा गरेको छ। कार्यालयका निमित्त प्रमुख उत्तम नारायण खरेलले विज्ञप्ति जारी गरी कर्मचारीको भौतिक सुरक्षा र पीडित सब इन्जिनियर साहको उपचार तथा दोषीमाथि कारबाहीको माग गरेका छन्।
