जिल्ला सुरक्षा समितिले जोखिमग्रस्त बस्ती, विद्यालय, स्वास्थ्यचौकी र पूर्वाधार निरीक्षण गरी तत्काल राहत, पुनर्वास र विद्युत् सेवा पुनः सञ्चालनमा जोड दिएको छ।
What you should know
संखुवासभा — अविरल वर्षापछि आएको बाढी र पहिरोबाट प्रभावित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङ बस्तीको जिल्ला सुरक्षा समितिले बिहीबार स्थलगत अनुगमन गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको नेतृत्वमा पुगेको टोलीले जोखिमग्रस्त बस्ती, स्वास्थ्यचौकी, विद्यालय तथा पूर्वाधारको अवस्था निरीक्षण गर्दै तत्काल पुनर्वास र राहत व्यवस्थापनमा जोड दिएको छ।
सिसुवाखोलामा आएको बाढीले दुई विद्यालयमा पनि क्षति पुर्याएको छ। ती विद्यालयमा अध्ययनरत करिब १ सय ७० विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यार्थीको पढाइ नरोकियोस् भनेर छिमेकी विद्यालयमा अस्थायी रूपमा पठनपाठन सञ्चालन गर्ने विषयमा समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
लगातारको वर्षासँगै आएको पहिरोका कारण तेन्छोङमा ३७ घर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताए । उनका अनुसार बस्तीमाथिको जमिनमा ठूला चिरा परेपछि थप पहिरो खस्ने खतरा बढेको छ। जोखिम बढेपछि अधिकांश परिवार आफन्त तथा सुरक्षित स्थानमा बसिरहेका छन्।
अनुगमन टोलीमा इन्द्रदल गुल्मका सेनानी नवराज बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख रामअचल साहलगायत सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए। पीडित स्थानीयले आफूहरूको सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
पहिरोले तेन्छोङस्थित सामुदायिक स्वास्थ्यचौकीलाई पनि उच्च जोखिममा पारेको छ। भवन आसपासको जमिन चिरिएकाले सेवा सञ्चालनमा समस्या आउने देखिएको छ। त्यस्तै बाढीले सिसुवाखोलामा रहेका ६० किलोवाट क्षमताको सिसुवाखोला लघुजलविद्युत् र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि गाउँका ६ सयभन्दा बढी घरपरिवार अझै विद्युत् सेवाविहीन बनेका छन्।
गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार प्रभावित क्षेत्रमा करिब तीन सय कुलुङ समुदायका बासिन्दा बसोबास गर्दै आएका छन्। बस्ती नै जोखिममा परेकाले उनीहरूको दीर्घकालीन पुनर्वासका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उनले बताए।
अनुगमनपछि जिल्ला सुरक्षा समितिले जोखिमयुक्त बस्तीको निरन्तर निगरानी, आवश्यक राहत वितरण, विद्युत् सेवा पुनः सञ्चालन तथा सुरक्षित स्थानमा पुनर्वासका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ। मौसम विभागले अझै वर्षाको सम्भावना औंल्याइरहेकाले स्थानीय प्रशासनले पहिरो र बाढीको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
