जन्तेढुङ्गामा १५ शय्याको अस्पताल भवन ३३ प्रतिशतमै रोकिएको छ । पटक–पटक म्याद थप्दा पनि काम पूरा हुन सकेको छैन ।
What you should know
खोटाङ — जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । निर्माण कम्पनीको ढिलाइले कारण तीन वर्षअघि सकिनु पर्ने अस्पताल अलपत्र परेको हो ।
२० करोड ७१ लाख ५ सय ९० रूपैयाँको लागतमा २०७९ असार २८ भित्र सक्ने गरी ड्रागन–रियर जेभीले २०७८ असार २५ मा सम्झौता गरेको थियो । तर अहिलेसम्म ३३ प्रतिशत मात्र भौतिक प्रगति भएको जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । निर्माण कम्पनीले अहिलेसम्म ६ करोड ४९ लाख ६ हजार भुक्तानी लिएको छ ।
भवनको दुई वटा ब्लकमध्ये एउटा पनि पूरा नभएको खड्काले सुनाए । ‘अस्पताल भवनको दुई वटा ब्लकमध्ये एउटा ठड्याउँदा–ठड्याउँदै छाडिएको छ,’ खड्काले भने, ‘अर्को ब्लकको जग मात्र उठाइएको अवस्थामा छ ।’
पटक–पटक म्याद थप गरिए पनि कामको प्रगति भने नभएको खड्काले बताए । पहिलो पटक २०८० असार २५ सम्म, दोस्रो पटक २०८१ असार ३० सम्म, तेस्रो पटक २०८२ असार १५, चौथो पटक २०८२ फागुन १५ सम्म र पाँचौं पटक २०८३ असार १४ सम्मका लागि म्याद थप गरिएको थियो ।
पछिल्लो पटक केही काम गरे पनि वैशाखदेखि भने निर्माणको काम ठप्प छ । काम नगरेपछि गत असार ६ को कार्यपालिका बैठकले म्याद नथप्ने निर्णय गरेको खड्काले जनाए ।
निर्माणाधीन भवनमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरिएपछि गाउँपालिकाले निर्माण गरिएको संरचना भत्काउन लगाएको थियो । भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाएपछि गाउँकार्यपालिका बैठकको निर्णयले निर्माण गरिएका संरचना भत्काएर गुणस्तरीय काम गर्न लगाएको थियो । जगमा पिसिसि ढलानमा खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएकाले भत्काएर बनाउन लगाएको हो । केही समस्या देखिएकाले पिसिसि ढलान भत्काएको निर्माण कम्पनीका संचालक देवराज पाण्डेले बताए ।
उक्त भवनको डिपिआर दुई पटकसम्म संशोधन गर्नु परेकाले एक वर्षपछि मात्र निर्माण सुरु गरिएको पाण्डेले जनाए । दुई पटकसम्म डिपिआर संशोधन गर्दा भवनको लागत करिब ३ करोड बढेको उनले सुनाए ।
भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
डिपिआर परिवर्तनमा समय लाग्नु, फोक्सिङटारमा पुल नहुनु, जेनजी आन्दोलनलगायतका कारण निर्माणमा ढिलाइ भएको पाण्डेले बताए । तर आवश्यक सामग्री निर्माणस्थलमा पुगिसकेकाले धमाधम काम गर्दा एक वर्षभित्र काम सकिने पाण्डेको भनाइ छ । ‘दुई पटकसम्म डिपिआर संशोधन, फोक्सिङटारमा पुल बगाउनु, जेनजी आन्दोलनलगायतका कारणले काम ढिलाई भएको हो,’ पाण्डेले भने, ‘अब एक वर्षभित्र सक्ने गरी धमाधम काम भइरहेको छ ।’
