स्थानीयलाई घर तथा कार्यालयवरपर पानी जम्न नदिने, पानी राख्ने भाँडा नियमित सफा गर्ने र लामखुट्टेको प्रजननस्थल आफैंले हटाउनेबारे सचेतना दिइएको छ।
What you should know
धनकुटा —
मनसुनसँगै डेङ्गी संक्रमण बढ्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने जिल्लाव्यापी अभियान सुरु गरेको छ। वैशाखयता मात्रै जिल्लामा ६५ जनामा डेङ्गी संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालयले सरकारी निकाय र स्थानीय तहसँगको समन्वयमा ‘खोज र नष्ट’ अभियान थालेको हो।
अभियानअन्तर्गत बजार क्षेत्रका सार्वजनिक स्थल, ग्यारेज, निर्माणाधीन भवन, पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, ट्याङ्की, फूलका गमला, प्लास्टिकका भाँडा तथा लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थानको निरीक्षण गरी लार्भा नष्ट गरिएको छ। साथै स्थानीयलाई घर तथा कार्यालय वरपर पानी जम्न नदिने, पानी राख्ने भाँडा नियमित सफा गर्ने र लामखुट्टेको प्रजननस्थल आफैंले हटाउनेबारे सचेतना दिइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बन्जाडेले मनसुनका कारण लामखुट्टेको प्रजनन तीव्र हुने भएकाले संक्रमण नियन्त्रणका लागि स्रोतमै पुगेर लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको बताइन्। उनका अनुसार वैशाख महिनादेखि हालसम्म जिल्लामा ६५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
बन्जाडेका अनुसार अभियान धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा विस्तार गरिनेछ। प्रत्येक पालिकामा सम्भावित जोखिम क्षेत्रको पहिचान गरी लार्भा खोज्ने, नष्ट गर्ने र समुदायलाई डेङ्गी नियन्त्रणबारे सचेत बनाउने कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।
स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने भएकाले घर तथा कार्यालय वरपर रहेका टायर, ड्रम, बाल्टिन, गमला, कुलर, ट्याङ्की लगायतका भाँडामा पानी जम्न नदिनु नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताइएको छ ।
स्वास्थ्यकर्मीले उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी पछाडि दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने वा शरीरमा रातो बिमिरा देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरेका छन्। समयमै उपचार नगरे डेङ्गीका केही बिरामीमा जटिल समस्या देखिन सक्ने भएकाले लक्षणलाई बेवास्ता नगर्न पनि उनीहरूले सुझाव दिएका छन्।
स्वास्थ्य कार्यालयले डेङ्गी नियन्त्रण सरकारी निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै प्रत्येक नागरिकले हरेक साता कम्तीमा १० मिनेट आफ्नै घर र कार्यस्थलवरपर निरीक्षण गरी पानी जम्ने स्थान हटाउने बानी बसाल्न आग्रह गरेको छ।
