धनकुटामा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागूऔषधका ७ हजार ५ सय ८० ट्याब्लेट बरामद गरिएको हो।

असार १६, २०८३

विनोद घिमिरे

Two youths arrested with large quantity of banned drugs in Dhankuta

धनकुटा — धनकुटामा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध (ट्याब्लेट/क्याप्सुल) सहित दुई युवक पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकल र तीनवटा मोबाइल फोनसहित ७ हजार ५ सय ८० ट्याब्लेट/क्याप्सुल बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार विशेष सुराकीका आधारमा सहिदभूमि गाउँपालिका–७ स्थित साप्तिङटार क्षेत्रमा सवारी चेकजाँचका क्रममा मूलघाटबाट साप्तिङटारतर्फ जाँदै गरेका दुई मोटरसाइकल रोकेर जाँच गर्दा प्रतिबन्धित लागूऔषध बरामद भएको हो।

पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–७ का २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्ज्वल राई रहेका छन्। उनीहरूले चलाइरहेका प्रदेश १–०२–०५६ प १५४८ नम्बरको केटीएम ड्यूक र बा ६५ प ६१७३ नम्बरको २२० सीसी बजाज पल्सर मोटरसाइकल चेकजाँचका क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामोल–५० लेखिएका ३ हजार ७ सय ९० क्याप्सुल र रेसिसपास–२० लेखिएका ३ हजार ७ सय ९० क्याप्सुल गरी जम्मा ७ हजार ५ सय ८० प्रतिबन्धित लागूऔषधका ट्याब्लेट बरामद गरिएको हो। प्रहरीले उनीहरूले प्रयोग गरेका दुवै मोटरसाइकल र तीनवटा मोबाइल फोनसमेत नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully