शनिबार रातिदेखिको निरन्तर वर्षासँगै आएको पहिरोले बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो ।
What you should know
संखुवासभा — अविरल वर्षापछि आएको बाढीपहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा ७ परिवार विस्थापित भएका छन् । शनिबार रातिदेखिको निरन्तर वर्षासँगै आएको पहिरोले बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार कुन्ती राई, धनपूर्ण राई, मंगलबहादुर राई, सुकप्रसाद राई, मिरा राई, धनमान राई र अरुणसङ्गम राईका परिवार गरी सात परिवार विस्थापित भएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० सदस्यीय टोली घटनास्थलमा खटिएको छ भने थप क्षतिको विवरण संकलन र अनुगमन जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, सिलिचोङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
बाढीपहिरोका कारण गाउँपालिकामा विद्युत्, सञ्चार र यातायात सेवा व्यापक रूपमा प्रभावित भएका छन् । गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिसुवाखोलामा आएको बाढीले २ विद्यालयमा क्षति पुर्याएपछि पठनपाठन रोकिएको छ ।
पहिरोबाट क्षतिग्रस्त कालिका माध्यामिक विद्यालयको भवनबाट सेनाले महत्त्वपूर्ण कागजपत्र, कम्प्युटर पुस्तकालयका सामग्रीहरू, विद्युतीय उपकरणहरू तथा फर्निचरका सामानहरू सुरक्षित स्थानमा सारेको सदरमुकाममा रहेको सेनाको ईन्द्रदल गुल्मका सेनानी नवराज बस्नेतले बताए ।
गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुनुका साथै केन्द्रीय विद्युत्, माइक्रोहाइड्रो, इन्टरनेट र सञ्चार सेवा प्रभावित हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित बनेको छ ।
पहिरोले सिलिचोङ–१ स्थित नेवाटारको कालिका माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ । विद्यालयका १५ वटा कक्षाकोठामा चिरा परेको छ भने शैक्षिक सामग्रीसमेत नष्ट भएका छन् । त्यस्तै, सिलिचोङ–४ को बागेश्वरी आधारभूत विद्यालयमा पनि भवन र शैक्षिक सामग्रीमा क्षति पुगेपछि दुवै विद्यालयको पठनपाठन अनिश्चितकालका लागि रोकिएको छ । अध्यक्ष मेवाहाङका अनुसार यी विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
गाउँपालिकाभित्रका सबै सडक र गोरेटो बाटो अवरुद्ध भएका छन् । २ स्थानीय माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप कष्टकर बनेको छ ।
गाउँपालिकाले बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन, विस्थापितको सुरक्षित व्यवस्थापन, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल सहयोगको माग गरेको छ । अध्यक्ष मेवाहाङका अनुसार तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायत दर्जनौँ बस्ती अझै पहिरोको उच्च जोखिममा छन् ।
निरन्तर वर्षा भइरहेका कारण धेरै स्थानीयवासी घर छाडेर सामूहिक रूपमा सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन् । स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोली प्रभावित क्षेत्रमा खटिए पनि सडक अवरुद्ध हुँदा राहत तथा उद्धार कार्यमा चुनौती थपिएको गाउँपालिकाले जनाएको छ ।
