नदी, खोला र खहरेमा पानीको बहाव एक्कासि बढ्न सक्ने, बाढी, कटान, डुबान तथा पहिरोको जोखिम उच्च रहने प्रशासनले जनाएको छ।
काठमाडौँ — आगामी दुई दिन मनसुन सक्रिय भई मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार मंगलबार र बुधबार जिल्लाका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। यसका कारण नदी, खोला र खहरेमा पानीको बहाव एक्कासि बढ्न सक्ने, बाढी, कटान, डुबान तथा पहिरोको जोखिम उच्च रहने प्रशासनले जनाएको छ।
प्रशासनले नदी तथा खोला किनारमा बसोबास गर्ने, पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेका तथा जोखिममा पर्न सक्ने सबै नागरिकलाई विशेष गरी रातिको समयमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, भारी वर्षा भइरहेको समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ।
वर्षाका कारण जमिन चर्किएको, घर वरिपरि पहिरो खस्ने संकेत देखिएको वा बस्ती जोखिममा परेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्की द्वारा मंगलबार जारी गरिएको सूचनामा सबै नागरिकलाई विपद्को समयमा सजग र सुरक्षित रहन अपिल गरिएको छ ।
