उदयपुरमा हात्ती आतंक : १३ परिवार प्रभावित, १६ लाख बढीको क्षति

चौदण्डीगढी नगरपालिका क्षेत्रमा हात्तीले १३ परिवारका घर, अन्नबाली तथा सम्पत्तिमा नोक्सानी पुर्‍याउँदै करिब १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

असार १५, २०८३

भोटराज राई

Elephant terror in Udaipur: 13 families affected, loss of over Rs. 1.6 million

What you should know

उदयपुर —  

उदयपुरको चौदण्डीगढी नगरपालिकाका विभिन्न बस्तीमा हात्ती पसेर घर, अन्नबाली तथा अन्य सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरीक्षक प्रभाव लिम्बुका अनुसार असार १३ यता लगातार राति वडा नं ४ र ७ मा पसेका हात्तीले १३ परिवारको घर तथा सम्पत्तिमा क्षति पुर्‍याउँदा करिब १६ लाख २० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

हात्तीले घरका टिन तथा टाटीका बेरा भत्काउनुका साथै धान, चामल, मकै, लत्ताकपडा, भाँडा वर्तन, कुखुरा तथा परेवाको खोर र बालीनालीमा समेत क्षति पुर्‍याएको हो । घटना लगत्तै इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको थियो ।

सबैभन्दा बढी क्षति वडा नं ७ को लामाचौरी क्षेत्रमा भएको छ । वृद्धिमाया राईको घर तथा अन्नपातमा करिब ४ लाख रुपैयाँ, लक्ष्मी विकको ३ लाख रुपैयाँ, बमबहादुर विक, रोशन विक र वीरबहादुर मगरको जनही २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै खिलबहादुर मगर र राधा विकको जनही १ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ ।

वडा नं ४ मा असुन्ता राई, शारदा राई, दुर्गाबहादुर बस्नेत र सरस्वती राईको घर तथा कृषि सामग्रीमा २० हजारदेखि ५० हजार रुपैयाँसम्मको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टार नजिकै दुई घरमा गएराति क्षति पुर्‍याएको छ । हरिबहादुर राउत र मदन परियारको घरमा क्षति पुर्‍याएको प्रहरी निरीक्षक प्रभाव लिम्बुले बताए ।

गाउँमै हात्ती पसेर पटक–पटक क्षति गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । प्रभावित परिवारहरूले तत्काल राहत, उचित क्षतिपूर्ति तथा जंगली हात्तीको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

पूर्वतर्फबाट आएको हात्तीको समूह पश्चिमतर्फ बढेको छ । दिनभर जङ्गलमै लुकेर बस्ने हात्ती राति भोक प्यास मेटाउन गाउँ पस्ने गरेको र अन्नपात तथा बालीनालीमा क्षति गर्ने गरेको छ । त्यस क्रममा घरसमेत भत्काउने गरेको छ । मानिसलाई ज्यान जोगाउन जोखिम बढेको छ भने हिँडडुल गर्न त्रास बढेको स्थानीय सरस्वती राईले बताइन् ।

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully