सिलिचोङ-१ सिसुवाखोलाका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। बाढी र पहिरोका कारण गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् ।
What you should know
संखुवासभा — लगातार तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण संखुवासभाको सिलिचोङ गाउँपालिकाका धेरै ठाँउका बस्ती उच्च जोखिममा परेका छन् । सडक, विद्युत्, सञ्चारलगायत आधारभूत सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीयको जनजीवन अत्यन्त कष्टकर बनेको छ।
सिलिचोङ-१ सिसुवाखोलाका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। बाढी र पहिरोका कारण गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् । स्थानीय स्तरमा सञ्चालनमा रहेका दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
गाउँपालिका अध्यक्ष भुपालराज राईका अनुसार वडा नम्बर १ स्थित कालिका माध्यमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेकाले पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने अवस्था भएको छ।
जोखिम बढ्दै गएपछि तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगाने क्षेत्रका स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन्। निरन्तर वर्षा भइरहेकाले थप क्षतिको त्रास कायमै रहेको स्थानीयले बताएका छन्।
गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। केन्द्रीय विद्युत् सेवा, माइक्रो हाइड्रो, इन्टरनेट तथा अन्य सञ्चार सेवा अवरुद्ध हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको छ। सम्पन्न योजनाहरूको भुक्तानी प्रक्रिया समेत रोकिएको गाउँपालिकाले जनाएको छ।
सिसुवाखोला यसअघि २०७७ सालमा यस्तै विपद्को सामना गरेको थियो। त्यसबेला आएको बाढी/पहिरोबाट ९७ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका थिए। तीमध्ये ५५ घरपरिवारको खाँदबारीमा पुनर्वास भइसकेको छ भने बाँकी परिवारलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने प्रक्रिया जारी रहेको गाउँपालिकाले जनाएको छ।
स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी विवरण पठाइसकेको अध्यक्ष राईले बताए । 'निरन्तर वर्षा भइरहेकाले तत्काल राहत, उद्धार तथा व्यवस्थापनका काम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ,' उनले भने, 'गाउँपालिकाले प्रदेश तथा संघीय सरकारसँग तत्काल प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, राहत, उद्धार र पुनर्स्थापनाको प्रभावकारी व्यवस्था गर्न आग्रह गर्छु ।' उनले सबै गाउँ बासीलाई उच्च सतर्कता अपनाउन, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानमा बस्न आग्रह गर्दै विपद्को यस घडीमा सबै पक्षलाई समन्वय र सहयोगका लागि अपिल गरेका छन्।
