ट्रक र मोटरसाइकलसहित दुई जना पक्राउ
What you should know
धनकुटा — धनकुटा प्रहारीले आज एकै दिन ७ सय ९५ किलोग्राम गाँजा बरामद गर्दै दुईवटा सवारी साधनसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकबाट साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा आज बिहान ७७५ किलोग्राम गाँजा बरामद गरिएको हो। ट्रकमा २५ वटा प्याकेटमा प्रतिप्याकेट ३१ किलोग्रामका दरले गाँजा लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उक्त ट्रकका चालक धनकुटाको पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल इटहरी उपमहानगरपालिका–१ आपगाछी बस्दै आएका परीक्षण कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। गाँजा लोड गरिएको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
त्यसैगरी, साँगुरीगढी गाउँपालिका–७ लुम्फाजुङबाट बा ६४ प १४३५ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको २० किलोग्राम गाँजासहित चालक विशेष राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ। बरामद ट्रक र मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रन्जितकारले जानकारी दिए।
प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार १५ गतेसम्म लागूऔषधसम्बन्धी ३६ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ५७ जना पक्राउ परेका छन्। यस अवधिमा १ हजार ७७५ किलोग्राम गाँजा, २५ ग्राम १४७ मिलिग्राम खैरो हेरोइन तथा २ लाख ७१२ थान विभिन्न प्रकारका लागूऔषधजन्य ट्याब्लेट र क्याप्सुल बरामद गरिएको छ।
लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि प्रहरीले ३४ जनालाई सुधार गृह पठाएको तथा पाँच जनालाई अभिभावकको जिम्मा लगाएको प्रहरी उपरीक्षक रन्जितकारले बताए।
गत आर्थिक वर्ष २०८१/८२ मा धनकुटामा लागूऔषधसम्बन्धी ५७ वटा मुद्दा दर्ता भएका थिए। ती मुद्दामा ८८ जना पक्राउ परेका थिए भने ४ हजार १९७ किलोग्राम गाँजा र ४ हजार ९८ थान विभिन्न प्रकारका लागूऔषधजन्य ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।
