रैथाने उत्पादन उपभोक्ताको भान्सासम्म पुर्‍याउने अभियानमा धनकुटाका रोशन

पतञ्जली र डाबर नेपालजस्ता ठूला कम्पनीको जागिर छाडेर गाउँ फर्किएका रोशन राई स्थानीय किसानसँग सहकार्य गर्दै रैथाने खाद्यान्नको बजार विस्तारमा जुटेका छन्।

असार १३, २०८३

विनोद घिमिरे

Dhankuta's Roshan in a campaign to bring local products to consumers' kitchens

What you should know

धनकुटा — बजारमा आकर्षक प्याकेट, चम्किला विज्ञापन र सस्ता उत्पादनको भीड छ। यही भीडका बीच उपभोक्ताहरू शुद्ध, स्वच्छ र स्थानीय रैथाने खाद्यान्न खोज्न थालेका छन्। बदलिँदो आवश्यकतालाई अवसरका रूपमा लिँदै धनकुटाका उद्यमी रोशन राईले रैथाने उत्पादनलाई उपभोक्ताको भान्सासम्म पुर्‍याउने अभियान अघि बढाएका छन्।

धनकुटाको अमलेटारस्थित औद्योगिक ग्राममा सञ्चालित ‘आनीको खाद्य उद्योग’ले कोदो, फापर, मकै, स्थानीय दाल–गेडागुडी तथा अन्य परम्परागत खाद्यान्न प्रशोधन, प्याकेजिङ र बजारीकरण गरेर आफ्नो 'चासुम' ब्रान्ड कोशी प्रदेशका विभिन्न जिल्लासम्म पुर्‍याइरहेको छ। २०७९ सालमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको उद्योगले २०८० सालदेखि उत्पादन बजारमा ल्याउन थालेको हो।

लामो समय खाद्य प्रविधिका क्षेत्रमा काम गरेका उनी पतञ्जली र डाबर नेपालजस्ता ठूला कम्पनीमा राम्रो रोजगारीमा थिए । कम्पनीले दिने सुविधा र तलबभन्दा आफ्नै ठाउँमा केही गर्ने उद्देश्यका साथ गाउँ फर्किने निर्णय गरे।

अन्तर्राष्ट्रिय कोदो वर्ष–२०२३ मनाइएपछि उनी झन् प्रेरित भएको बताउँछन्। धनकुटाको छिन्ताङमा जन्मे–हुर्केका उनी भन्छन्, 'हाम्रो गाउँ पहिला कोदो र फापर उत्पादनका लागि चिनिन्थ्यो। यही सम्भावना देखेर राम्रो जागिर छाडेर आफ्नै उद्योग सुरु गर्ने निर्णय गरेँ।'

तर उद्योग सञ्चालन थालेपछि उनले एउटा अप्रत्याशित यथार्थ देखे। जुन उत्पादनको सम्भावना देखेर उद्योग सुरु गरेका थिए, त्यही कोदो र फापरको खेती गाउँमा घट्दै गएको रहेछ। त्यसपछि उनी उद्यमीमा मात्र सीमित रहेनन्। गाउँ–गाउँ पुगेर किसानलाई पुनः कोदो र फापर खेती विस्तार गर्न प्रेरित गर्न थाले।

अहिले पनि उनी धनकुटासँगै तेह्रथुम, भोजपुर र सङ्खुवासभामा पुगेर कोदो, फापर, बोडी, सिमी, कागुनोलगायत परम्परागत बालीको उत्पादन र खेती विस्तारका लागि किसानलाई प्रोत्साहित गरिरहेका छन्।

आगामी वर्षका लागि अहिले नै किसानसँग उत्पादनको अग्रिम सम्झौता गर्ने र खरिद सुनिश्चित गर्ने काम पनि गरिरहेका छन्। किसानबाट उत्पादन खरिद गर्ने, उद्योगमा ल्याएर सफा गर्ने, प्रशोधन गर्ने, मापदण्डअनुसार प्याकेजिङ गर्ने र उपभोक्ताको भान्सासम्म पुर्‍याउने सम्पूर्ण प्रक्रिया अहिले उद्योगले नै सम्हालिरहेको छ।

Dhankuta's Roshan in a campaign to bring local products to consumers' kitchens

राईका अनुसार उद्योगको उद्देश्य व्यापार गर्नु मात्र होइन, शुद्ध खानाको संस्कृतिलाई पुनर्जीवित गर्नु पनि हो। 'हाम्रा पुरानो पुस्ताले खाने परम्परागत अन्न नै हाम्रो शरीरका लागि सबैभन्दा उपयुक्त हो,' उनी भन्छन्, 'शरीर अन्नपानीले बनेको हुन्छ। खानाको सन्तुलन मिलाउन सके धेरै रोगबाट बच्न सकिन्छ। यही सन्देश लिएर हामी परम्परागत खानाका परिकार घर–घरमा पुर्‍याउने अभियानमा छौं ।'

उनी अहिलेको पुस्ताले शुद्ध खाना चिन्नै छाड्दै गएकोमा चिन्ता व्यक्त गर्छन्। बजारमा मिसावटयुक्त, अत्यधिक प्रशोधित र रसायन प्रयोग भएका खाद्यवस्तुको बढ्दो प्रयोगले स्थानीय रैथाने अन्न ओझेलमा परेको उनको बुझाइ छ। 'आजभोलिका बालबालिकालाई शुद्ध कोदो, शुद्ध फापर कस्तो हुन्छ भन्ने पनि थाहा नहुन सक्छ,' उनी भन्छन्, 'त्यसैले हाम्रो उत्पादनको सबैभन्दा ठूलो विशेषता नै शुद्धता र स्वच्छता हो।'

हाल उद्योगले कोदो र फापरको पिठो, भटमास, कालो मास, बोडी, राजमा, रजली दाललगायत स्थानीय उत्पादन बजारमा ल्याइरहेको छ। आगामी दिनमा मकै, धान र गुन्द्रुकलाई पनि व्यवस्थित रूपमा प्रशोधन गरी बजारमा ल्याउने योजना रहेको उनले बताए।

१० लाख रुपैयाँको लगानीबाट सुरु भएको उद्योगको वार्षिक कारोबार अहिले करिब ३० लाख रुपैयाँ पुगेको छ। उनका अनुसार उद्योग सफल हुन उत्पादन शृङ्खलाका सबै पक्ष बलियो हुन आवश्यक छ। 'किसानले उत्पादन नगरे मैले कहाँबाट ल्याउने? मैले प्रशोधन नगरे उपभोक्ताले कहाँबाट पाउने?' उनले भने, 'त्यसैले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण शृङ्खला सुधार्न आवश्यक छ।'

श्रीमतीसँगै उद्योग सञ्चालन गरिरहेका उनले केही स्थानीयलाई रोजगारी पनि दिएका छन्। तर सबैभन्दा ठूलो चुनौती बजार विस्तार र उपभोक्तामा चेतना अभिवृद्धि रहेको उनी बताउँछन्। 'यदि बजारलाई रुखको टुप्पो मान्ने हो भने हामी रुखको जिउ हौं, किसान जरा हुन्,' उनी भन्छन्, 'उपभोक्ताले आफूले के खाइरहेको छु र के खानुपर्छ भन्ने बुझ्न थालेपछि मात्रै हाम्रो बजार अझ विस्तार हुन्छ।'

राईका अनुसार बहुराष्ट्रिय कम्पनीले सस्तो मूल्यमा आकर्षक प्याकेजिङसहित उत्पादन बजारमा ल्याइरहेका छन्। शुद्ध र स्थानीय उत्पादन तयार गर्न लागत बढी पर्ने भएकाले मूल्य पनि केही महँगो पर्छ। त्यसैले उपभोक्ताले मूल्य मात्र होइन, गुणस्तर र स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनका अनुसार अहिले धेरै उपभोक्ता फेरि पुरानै स्वाद खोज्न थालेका छन्। शुद्ध कोदो, फापर, मकै, गहुँ र गुन्द्रुकप्रति आकर्षण बढ्दै गएको अनुभव उनको छ । यही परिवर्तनले किसान, उद्यमी र उपभोक्ता सबैलाई लाभ पुग्ने उनको विश्वास छ ।

यद्यपि यस अभियानलाई दिगो बनाउन सरकारको सहयोग अपरिहार्य रहेको उनी बताउँछन्। 'सरकार, किसान र उद्यमी सँगै अघि बढे मात्र लक्ष्य हासिल हुन्छ,' उनी भन्छन्, 'प्रविधिको प्रयोग गरेर उत्पादन लागत घटाउने, किसानको उत्पादन बढाउने र शुद्ध खानेकुरा सहज मूल्यमा उपभोक्ताको भान्सासम्म पुर्‍याउने काममा सरकारले पनि सघाउनुपर्छ ।'

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully