धनकुटाका पाँच स्थानीय तहले ल्याए बजेट

दुई पालिका बजेट ल्याउन असमर्थ ।

असार १०, २०८३

विनोद घिमिरे

Five local levels in Dhankuta presented budgets

धनकुटा — धनकुटाका सात स्थानीय तहमध्ये पाँचवटाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् भने दुई गाउँपालिकाले अझै बजेट प्रस्तुत गर्न सकेका छैनन्।

जिल्लाको धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७६ करोड ८६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ। यस्तै पाख्रीबास नगरपालिका ले ६२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले जानकारी दिए।

चौबीसे गाउँपालिकाले ५५ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने शहीदभूमि गाउँपालिकाले ४७ करोड ९५ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

धनकुटाको महालक्ष्मी नगरपालिकाले ६५ करोड २३ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले जानकारी दिए। 

जिल्लाका दुई स्थानीय तहमा भने बजेट प्रस्तुत हुन बाँकी रहेको छ। साँगुरीगढी गाउँपालिकाले आन्तरिक तयारी पूरा नभएको जनाउँदै बजेट प्रस्तुत नगरेको जनाएको छ। छिट्टै बजेट ल्याउने गरी छलफल भइरहेको साँगुरीगढी गाउँपालिकाका सूचना अधिकारी दोर्णबहादुर राईले जानकारी दिए।

त्यसैगरी छथर जोरपाटी गाउँपालिकाले गाउँपालिका अध्यक्ष जिल्लाबाहिर रहेकाले बजेट सार्वजनिक गर्न नसकिएको जानकारी दिएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully