हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारी खेती

झापाका बुद्धशान्ति, अर्जुनधारा र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारीखेती विस्तार हुँदै गएको छ ।

असार ८, २०८३

सुरेन्द्र भण्डारी/रासस

Betel nut cultivation is the choice of farmers in elephant-affected areas

सुरुंगा (झापा) — झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जंगली हात्तीको समस्या नयाँ विषय होइन । बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पुर्‍याउने क्षतिका कारण कृषक प्रभावित भएका छन् । तथापि, यही चुनौतीका बीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।

विशेष गरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारीखेती विस्तार हुँदै गएको छ । अन्य बालीको तुलनामा हात्तीबाट कम क्षति हुने, वर्षौँसम्म उत्पादन दिने, कम श्रममा राम्रो आम्दानी हुने तथा अन्तरबाली प्रणाली अपनाउन सकिने भएकाले कृषकको रोजाइ सुपारीतर्फ बढेको हो ।

बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेका अनुसार एक पटक बगान स्थापना गरेपछि सुपारीले ४० देखि ५० वर्षसम्म उत्पादन दिन सक्छ । नियमित सिँचाइ, मल व्यवस्थापन र सामान्य हेरचाह गरे पुग्ने भएकाले श्रम लागत अन्य नगदेबालीको तुलनामा कम पर्ने उनको भनाइ छ । जसका कारण उत्तरी झापाका कृषक सुपारीखेतीतर्फ आकर्षित छन् । 

झापामा सुपारी खेतीको सबैभन्दा ठूलो केन्द्र बुद्धशान्ति गाउँपालिका मानिँदै आएको छ । गाउँपालिकाका वडा नं. १, ३, ४ र ५ का किसानको सुपारीखेती घरघरको आम्दानीसँग जोडिएको छ । वडाध्यक्ष वाग्लेका अनुसार गाउँपालिकाका अधिकांश कृषक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुपारीखेतीमा निर्भर छन् ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको ग्रामीण अर्थतन्त्रमा सुपारीखेतीको योगदान उल्लेखनीय रहेको बताए । उनका अनुसार सुपारीबाट नगद आम्दानी हुने भएकाले कृषकको जीवनस्तरमा सुधार आएको छ । वैदेशिक रोजगारीमा जाने युवामध्ये केही यही खेतीतर्फ फर्किन थालेका छन् । हात्तीको नियमित ओहरदोहर हुने क्षेत्र भएकाले धेरै कृषकले धान वा मकैभन्दा सुपारीलाई सुरक्षित विकल्पका रूपमा रोजेको गाउँपालिका अध्यक्ष प्रसाईंको भनाइ छ । 

अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका क्षेत्रमा सुपारीखेती विस्तार भइरहेको छ । स्थानीय कृषि प्राविधिकका अनुसार यी दुई पालिकाका करिब ४० प्रतिशत कृषक कुनै न कुनै रूपमा सुपारी उत्पादनसँग आबद्ध छन् ।

हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्‍याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने अनुभव कृषकहरूले गरेका छन् । यही कारण पछिल्ला वर्षमा नयाँ बगान स्थापना गर्ने क्रम बढेको छ ।

बिर्तामोड, कनकाई, शिवसताक्षी, गौरादह र दमक नगरपालिकामा करिब २० प्रतिशत कृषकले सुपारीखेती गर्दै आएका छन् । सुपारीका बिरुवाको माग बढेसँगै ती क्षेत्रमा व्यावसायिक नर्सरीसमेत सञ्चालनमा आएका छन् । पछिल्लो समय पूर्वपश्चिम महेन्द्र राजमार्ग दक्षिणका कृषकले सुपारीखेती रुचाएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।

सुपारीखेतीको सबैभन्दा ठूलो विशेषता यसको दीर्घकालीन उत्पादन भएको उनको भनाइ छ । 'बिरुवा रोपेको केही वर्षपछि नियमित उत्पादन सुरु हुन्छ र दशकौँसम्म आम्दानी दिइरहन्छ जसका कारण सुपारीखेतीमा झापाका कृषक आकर्षित हुने गरेका छन्,' उनले भने ।

बुद्धशान्ति–५ का कृषक गजाधर पौडेलले १६ कठ्ठा क्षेत्रफलमा करिब ६०० सुपारीका बिरुवा लगाउनुभएको छ । तीमध्ये करिब ५०० बिरुवाले उत्पादन दिइरहेका छन् । उनका अनुसार वार्षिक करिब रु दुई लाख ५० हजार बराबरको सुपारी बिक्री हुने गरेको छ । अन्य बालीको तुलनामा सुपारी खेतीमा श्रम कम लाग्ने भएकाले यसबाट राम्रो प्रतिफल प्राप्त भइरहेको उनको अनुभव छ । जिल्लाका कतिपय कृषकले ठूलो क्षेत्रफलमा सुपारीखेती गरी वार्षिक आठदेखि १० लाखसम्म आम्दानी गरेका छन् ।

सुरेन्द्र

Link copied successfully