नक्कली नेपाली नम्बरप्लेट राखेर चलाइएको भारतीय कारसहित चालक पक्राउ

भेडेटारमा प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा उक्त कार मंगलबार नियन्त्रणमा लिएको हो।

असार ४, २०८३

विनोद घिमिरे

Driver arrested with Indian car with fake Nepali number plates

धनकुटा — धनकुटाको भेडेटारमा नक्कली नेपाली नम्बर प्लेट राखेर चलाइएको भारतीय कारसहित चालक पक्राउ परेका छन्। साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा उक्त कार मंगलबार नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ जाँदै गरेको सेतो रंगको कार जाँच गर्दा भारतीय नम्बर बीआरएजी ६६०२ रहेको सवारीमा नेपाली नम्बर प्रदेश १–०१–००१ च ९२९४ को प्लेट राखी सञ्चालन गरिएको फेला परेको थियो।

उक्त कार चालक भारतको बिहार राज्य, जोगवनी थाना अन्तर्गत अमोना पञ्चायत वडा नं. २१ मिरगञ्जका २२ वर्षीय नन्दुकुमार चौधरी रहेको प्रहरीले जनाएको छ।

नक्कली नम्बरप्लेट प्रयोग गरी सवारी सञ्चालन गरेको आरोपमा चालक चौधरीलाई पक्राउ गरी कारसहित जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको थियो।

प्रहरीले पक्राउ परेका चालक र कारलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० बमोजिम आवश्यक कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालय धनकुटा पठाइएको धनकुटाका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully