दुर्घटनामा सुनसरीको रामधुनी–९ झुम्का घर भई हाल धनकुटा–७ बस्ने ५५ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो ।
धनकुटा — धनकुटामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । धनकुटा नगरपालिका–४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा धनकुटाबाट हिले जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल मंगलबार बिहान करिव साढे ७ बजे ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा को १२ प ८०९८ नम्बरका मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका–९ झुम्का घर भई हाल धनकुटा नगरपालिका–७ सब्जीलाइन बस्दै आएका ५५ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो । उपचारकै क्रममा चौधरीको बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, को २५ प १७७ नम्बरको मोटरसाइकल चालक धनकुटा नगरपालिका–१ हिले बस्ने करिब ३२ वर्षीय श्याम तामाङ घाइते भएका छन् । घाइते तामाङलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
