युवालाई सूचना प्रविधि क्षेत्रमा दक्ष बनाउने उद्देश्यले ५ हजार युवालाई कृत्रिम बौद्धिकता (एआई) तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गर्ने योजना ल्याइएको छ ।
What you should know
विराटनगर — कोशी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले चालु आर्थिक वर्षको भन्दा १२ दशमलव ७४ प्रतिशत बढी बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याइएको थियो ।
प्रदेश सरकारले यस वर्ष बजेटको आकार मात्र बढाएको छैन, खर्चको संरचनामा पनि उल्लेखनीय परिवर्तन गरेको छ । अघिल्लो वर्ष कुल बजेटको ५२ प्रतिशत अर्थात् १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालु खर्चका लागि छुट्याइएको थियो । आगामी वर्ष भने चालु खर्च घटाएर १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ अर्थात् कुल बजेटको ३४ दशमलव ५५ प्रतिशतमा सीमित गरिएको छ ।
यसविपरीत पुँजीगत खर्चलाई प्राथमिकता दिइएको छ । गत वर्ष १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ अर्थात् ४७ दशमलव ७ प्रतिशत रहेको पुँजीगत बजेट यस वर्ष बढाएर २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ अर्थात् ५१ दशमलव ३२ प्रतिशत पुर्याइएको छ । वित्तीय व्यवस्थातर्फको विनियोजन पनि १० करोडबाट बढाएर १५ करोड पुर्याइएको छ ।
प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ छुट्याएको छ ।
बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वको लक्ष्य भने यथावत् ५ अर्ब ५० करोड छ । राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँबाट बढेर १२ अर्ब ८७ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान पनि ८ अर्ब ९८ करोड ३४ लाख रुपैयाँबाट बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । ससर्त अनुदान ५ अर्ब ९५ करोड, समपूरक अनुदान ८४ करोड र विशेष अनुदान ५५ करोड रुपैयाँको अनुमान छ ।
बजेट घाटा पूर्तिका लागि प्रदेश सरकारले गत वर्षको नगद मौज्दात प्रयोग गर्ने नीति पनि विस्तार गरेको छ । अघिल्लो वर्ष ३ अर्ब १३ करोड रुपैयाँ उपयोग गर्ने योजना रहेकामा यस वर्ष ५ अर्ब रुपैयाँ उपयोग गरिने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटले ५ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । तर, संशोधित अनुमानअनुसार चालु वर्षमा आर्थिक वृद्धि ३ दशमलव १३ प्रतिशतमा सीमित रहने देखिएको छ । आगामी आर्थिक वर्षमा भने वृद्धिदर बढाएर ५ प्रतिशत पुर्याउने लक्ष्य प्रदेश सरकारले लिएको छ ।
प्रदेशको प्रतिव्यक्ति आय १ हजार ४१० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने निरपेक्ष गरिबी दर १७ दशमलव १९ प्रतिशत रहेको बजेट वक्तव्यमा उल्लेख छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको योगदान १५ दशमलव ८ प्रतिशत छ ।
आगामी बजेटले भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ । सडक पूर्वाधारका लागि मात्र १२ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषि, उद्योग तथा उत्पादन वृद्धि कार्यक्रमका लागि २ अर्ब ९२ करोड छुट्याइएको छ ।
पर्यटन क्षेत्रलाई पनि निरन्तर प्राथमिकतामा राखिएको छ । गत वर्ष ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को अवधारणालाई अघि सारेको सरकारले यस वर्ष साउन २०८३ देखि असार २०८५ सम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ सञ्चालन गर्ने घोषणा गरेको छ । पर्यटन तथा वन क्षेत्रका लागि ३ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ६१ करोड तथा शिक्षा, खेलकुद र रोजगारी प्रवर्द्धनका लागि ३ अर्ब १० करोड बजेट छुट्याइएको छ ।
यस वर्षको बजेटमा प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष महत्व दिइएको छ । मुख्य सहरी क्षेत्रमा ‘स्मार्ट सीसीटीभी’ जडान, सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली अनिवार्य गर्ने, सवारी चालक अनुमति पत्र व्यवस्थापनलाई डिजिटल बनाउने तथा १०० सामुदायिक विद्यालयमा डिजिटल बोर्डमार्फत शिक्षण सुरु गर्ने कार्यक्रम समावेश गरिएको छ ।
युवालाई सूचना प्रविधि क्षेत्रमा दक्ष बनाउने उद्देश्यले ५ हजार युवालाई कृत्रिम बौद्धिकता (एआई) तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गर्ने योजना ल्याइएको छ । ‘सक्षम छोरी’ कार्यक्रम तथा विद्यालय नर्सिङ कार्यक्रमलाई पनि विस्तार गरिने भएको छ ।
