खेलकुद विकास समिति खोटाङका निवर्तमान अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लिलाभक्त केसीको मिलेमतोमा कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको ८ लाख मध्ये ६ लाख ७६ हजार दिक्तेलस्थित कृषि विकास बैंकमा रहेको खाताबाट निकालेको खुलासा भएको हो ।
खोटाङ — जिल्ला खेलकुद विकास खोटाङमा खेलकुद बजेटमा अनियमितता भएको खुलासा भएको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेटमा अनियमितता भएको खुलासा भएको हो ।
जिल्ला खेलकुद विकास समिति खोटाङका निवर्तमान अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लिलाभक्त केसीको मिलेमतोमा कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको ८ लाख मध्ये ६ लाख ७६ हजार दिक्तेलस्थित कृषि विकास बैंकमा रहेको खाताबाट निकालेको खुलासा भएको हो । उक्त रकम विभिन्न समय निकासा भएको देखिन्छ ।
१९ माघ २०८१ मा ३८ हजार, सोही वर्षको ११ चैतमा एक लाख २५ हजार, ३१ चैतमा ४ लाख २० हजार, २३ वैशाख २०८२ मा १० हजार, सोही वर्षको ११ साउनमा ४३ हजार र ११ माघमा ४० हजार ६ लाख ७६ हजार निवर्तमान अध्यक्ष राईको नाममा निकासा भएको देखिन्छ ।
यसमध्ये ६ लाख ५६ हजार निवर्तमान अध्यक्ष राईले पेश्की वापत लिएको र २० हजार ट्र्याकसुट खरिदमा खर्च भएको कार्यालय प्रमुख लीलाभक्त केसीले बताए । अन्य एक लाख ४४ हजार भने असार २०८१ मा बुइपामा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा खर्च भएको केसीले बताएका छन् ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता रद्द भएपछि रकम चलाएको केसीले बताए । उक्त रकम जिल्ला खेलकुद विकास समिति खोटाङको खातामा फिर्ता भएपछि प्रदेश खेलकुद विकास बोर्डलाई फिर्ता गर्ने समेत केसीले सुनाए । ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद विकास बोर्डले ८ लाख पठाएको थियो, खेल रद्द भएपछि पेश्की वापत अध्यक्षज्यूले लिनु भएको हो,’ केसीले भने, ‘उहााले फिर्ता गर्छु भनिरहनु भएको छ, फिर्ता भएपछि प्रदेश खेलकुद विकास बोर्डलाई फिर्ता गछौं ।’
निवर्तमान अध्यक्ष राईले गलत मनसायले निकासा नगरेको उल्लेख गर्दै पेश्की वापत लिएको रकम ३ दिनभित्रै जम्मा गर्ने समेत बताएका छन् । ‘कामकै लागि पेश्की वापत लिइएको हो, त्यस्तो गलत नियतले लिइएको होइन,’ राईले भने, ‘३ दिनभित्र खातामा जम्मा गरेर भौचर उपलब्ध गराउछौं ।’
खेलाडीहरूले भने खेलकुदका लागि आएको बजेट कुनै गतिविधि विनै निकासा गरेर अपचलन गरिएको भन्दै गुनासो गर्दै आएका छन् ।
