संखुवासभाको उम्लिङबाट धरान जाँदै गरेको को१ख ७७८८ नम्बरको बस शुक्रबार अपराह्न सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
धनकुटा — धनकुटा नगरपालिका-९ मूलघाटमाथिको च्याङच्याङबारीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । संखुवासभाको उम्लिङबाट धरान जाँदै गरेको को१ख ७७८८ नम्बरको बस शुक्रबार अपराह्न सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा १० जना यात्रु घाइते भएको र तीमध्ये एकजनाको अवस्था मध्यमदेखि गम्भीर रहेको धनकुटा ट्राफिक प्रहरी कार्यालयका प्रमुख योगेन्द्र सिंह खड्काले जानकारी दिए ।
दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी मूलघाटस्थित स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरिएको छ । घाइतेहरूको थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये धरान उपमहानगरपालिका-११ की २८ वर्षीया सबिता थापा, उनकी १६ वर्षीया छोरी आरुसी थापा, मोरङको सुन्दरहरैँचा नगरपालिका-११ की २६ वर्षीया अमृता तामाङ, उनकी ३ वर्षीया छोरी सृयान्सी तामाङ, संखुवासभाको धर्मदेवी नगरपालिका-१ की ३४ वर्षीया अनिसा कटुवाल, धनकुटाको महालक्ष्मी नगरपालिका–६ की २५ वर्षीया संगीता राई, संखुवासभाको धर्मदेवी-१ की ११ वर्षीया पवित्रा कटुवाल, मोरङको कानेपोखरी गाउँपालिका-६ का ४७ वर्षीय चक्रबहादुर तामाङ, धर्मदेवी नगरपालिका-३ की १५ वर्षीया सञ्जिला खत्री तथा बसका सहचालक ३५ वर्षीय इन्द्रबहादुर तामाङ रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण अवरुद्ध बनेको मूलघाट–रुद्रबारी सडक खण्ड सञ्चालनमा आएको छ । बस दुर्घटनाको कारण भने पहिचान हुन सकेको छैन ।
