जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष देवले घटनाप्रति दुःख व्यक्त गर्दै उपचारकै क्रममा रक्तश्राव नियन्त्रण गर्न कपडा प्रयोग गरिएको स्वीकार गरेका छन्।
What you should know
संखुवासभा — जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा शल्यक्रिया गरिएकी एक सुत्केरी महिलाको पेटभित्र कपडाको टालो छुटेपछि पीडित परिवारले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् । उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल र खाँदबारी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
गत जेठ ११ गते जिल्ला अस्पताल खाँदबारीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी खाँदबारी नगरपालिका–५ की सबिता मगरको पेटबाट करिव १५ दिनपछि कपडाको टालो फेला परेको हो। शल्यक्रियाका क्रममा अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं रेफर गरिएको थियो।
सबिताका श्रीमान् सविन मगरका अनुसार काठमाडौंको पाटन अस्पतालमा उपचारपछि अवस्था सामान्य हुँदै गए पनि पुनः ज्वरो आएपछि गरिएको सिटी स्क्यानमा पेटभित्र कपडा रहेको खुलेको हो। जेठ २२ गते उक्त तथ्य थाहा पाएपछि जेठ २४ गते पुनः शल्यक्रिया गरेर कपडा निकालिएको उनले बताए।
पीडित परिवारले खाँदबारी अस्पतालले रेफर गर्दा बिरामीको पेटमा कपडा राखिएको विषयमा कुनै जानकारी नदिएको आरोप लगाएका छन्। 'रेफर कागजमा पनि उल्लेख थिएन,' सविनले भने, 'हामीसँग काठमाडौं आएका स्वास्थ्यकर्मीले समेत केही बताएनन् ।'
घटनापछि आक्रोशित बनेको परिवारले छानबिन समिति गठन गरी दोषी स्वास्थ्यकर्मीमाथि कानुनी कारबाही गर्न र उपचार तथा मानसिक क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
यता जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष देवले घटनाप्रति दुःख व्यक्त गर्दै उपचारकै क्रममा रक्तश्राव नियन्त्रण गर्न कपडा प्रयोग गरिएको स्वीकार गरेका छन्। 'आमा र बच्चाको ज्यान बचाउन तत्कालीन अवस्थामा रक्तश्राव रोक्न कपडा राखेर हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो,' उनले भने ।
