महिलाले लगाए पुराण, बचत रकमबाट सामुदायिक भवन निर्माण गरिने

भवन निर्माणका लागि नारायण विश्वकर्माले ५१ हजार रुपैयाँ बराबरको निर्माण सामग्री र ११ हजार १ सय रुपैयाँ नगद सहयोग गरेका छन् ।

जेष्ठ २३, २०८३

विनोद घिमिरे

Women wear Puranas, community building to be built with savings

What you should know

धनकुटा — यहाँको बाघेखोलामा रहेको धर्मगंगा तथा कैलाशनाथ धाम मन्दिर परिसरमा महिलाहरूको सक्रियतामा सञ्चालन गरिएको श्रीमद् मत्स्य महापुराणबाट बचत भएको रकम सामुदायिक भवन निर्माणमा खर्च गरिने भएको छ।

धनकुटा नगरपालिका ६ स्थित राधारानी मिलिजुली महिला समूहको आयोजनामा सञ्चालन गरिएको साताव्यापी महापुराणबाट १ लाख ७६ हजार २ सय ९९ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमार्फत महिला समूहले महापुराणको आय–व्यय सार्वजनिक गर्दै बचत रकम धर्मगंगा धाममा निर्माण गरिने सामुदायिक भवनका लागि उपयोग गरिने जानकारी दिएको हो।

महिला समूहकी अध्यक्ष निरुता कटुवालका अनुसार महापुराणबाट कार्यालय, संघसंस्था, भक्तजन तथा विभिन्न दाताबाट ७ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ आम्दानी भएको थियो। गुरु दक्षिणा, खाद्यान्न, टेन्ट तथा साउण्ड सिस्टम, इन्धन, यातायात, ब्यानर तथा रसिद, सञ्चार, व्यवस्थापन र पूजा सामग्रीलगायत शीर्षकमा ५ लाख ८५ हजार ६ सय ९६ रुपैयाँ खर्च भएपछि १ लाख ७६ हजार २ सय ९९ रुपैयाँ बचत भएको हो।

धर्मगंगा तथा कैलाशनाथ धाम विकास समितिको समन्वयमा आयोजित महापुराणको मुख्य उद्देश्य धाम परिसरमा सामुदायिक भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउनु रहेको थियो। महापुराणबाट बचत भएको रकमसँगै विभिन्न व्यक्ति तथा सहयोगीबाट प्राप्त नगद र निर्माण सामग्रीले भवन निर्माण कार्यलाई थप सहज बनाउने विश्वास गरिएको छ।

भवन निर्माणका लागि धनकुटा नगरपालिका–६ का गोपाल कटुवाल, दिवाकर दाहाल, कमल कार्की र दीपक रायमाझीले व्यक्तिगततर्फबाट एक–एक वटा कोठा निर्माण गरिदिने घोषणा गरेका छन्। त्यसैगरी नारायण विश्वकर्माले ५१ हजार रुपैयाँ बराबरको निर्माण सामग्री तथा ११ हजार १ सय रुपैयाँ नगद सहयोग गरेका छन् भने अम्माया चापागाईंले ५० हजार रुपैयाँ बराबरको निर्माण सामग्री र २ हजार ५ सय रुपैयाँ नगद सहयोग गरेकी छन्।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully