खुकुरी उद्योगका कारण काँचुली फेर्दै कटहरे  गाउँ

स्थानीय ताराबहादुर विश्वकर्मा भन्छन्, 'पहिले दिनभरि काम गरेर पनि परिवार पाल्न मुस्किल पर्थ्यो, अहिले खुकुरीले राम्रो आम्दानी दिन थालेको छ।'

जेष्ठ २३, २०८३

विनोद घिमिरे

Katahare village facing hardship due to Khukuri industry

What you should know

धनकुटा — जेठ महिना सकिन लाग्दा पनि घोर्लिखर्कको कटहरे गाउँका बारीहरूमा मलका थुप्रा घोप्ट्याएकै अवस्थामा छन् । लामो समयदेखि वर्षा नहुँदा किसानले मकै छर्न पाएका छैनन् । कतैकतै उम्रिएका मकैका विरुवासमेत सुक्न थालेका छन् ।

खडेरीले बारी उजाड देखिए पनि गाउँभित्र पस्नेबित्तिकै अर्को दृश्य देख्न सकिन्छ, यहाँका हरेक घरका अगाडि विभिन्न आकार प्रकार, डिजाइन र मूल्यका खुकुरी झुण्ड्याइएका छन्। भित्र आरनमा फलाम पिट्ने, आकार दिने, दाप बनाउने, धार लाउने र चिल्याउने काममा शिल्पीहरू व्यस्त छन्। खुकुरी हेर्ने छान्ने र किन्नेको पनि भिड देखिन्छ। घरघरमा गुञ्जिने फलाम पिट्दाको आवाज, चलिरहेका मेसिन र व्यस्त कालीगढ । यही दृश्यले कटहरेको बदलिँदो अवस्था झल्काउँछ।

धनकुटाको पाख्रीबास नगरपालिका-५ स्थित घोर्लिखर्कको कटहरे गाउँ कुनै समय गरिबी, अभाव र सामाजिक विभेदले थिचिएको बस्तीका रूपमा चिनिन्थ्यो । जीवन निर्वाहका लागि पुस्तौंदेखि परम्परागत धातुजन्य हस्तकलामा आबद्ध यहाँका विश्वकर्मा समुदायले गाउँघरमा प्रयोग हुने फाली, हँसिया, कोदालो जस्ता कृषि औजार बनाएर न्यून प्रतिफलमा जीवन धान्दै आएका थिए । तर अहिले त्यही परम्परागत सीपले गाउँलाई आर्थिक समृद्धिको नयाँ यात्रामा डोर्‍याएको छ।

भोजपुर, खोटाङ र संखुवासभाको प्रवेशद्वार मानिने कटहरे आज पूर्वी नेपालको महत्त्वपूर्ण खुकुरी उत्पादन केन्द्रका रूपमा परिचित बन्दै गएको छ। यहाँ निर्माण हुने खुकुरी स्थानीय बजारमा मात्र सीमित छैनन्, अर्डरअनुसार देशका विभिन्न सहर हुँदै विदेशसम्म पुग्न थालेका छन् ।

स्थानीय झमक रसाइली विगत सम्झिँदा गाउँको परिवर्तन अविश्वसनीय लाग्ने बताउँछन्। उनका अनुसार कुनै समय सुख्खा वातावरण, गरिबी र छुवाछूतको पीडाले थिचिएको यो बस्ती आज आफ्नै सीप र मिहिनेतको बलमा पहिचान निर्माण गरिरहेको छ। 'त्यो बेला र अहिलेको तुलना गर्न सकिँदैन। हाम्रो गाउँमा दुःख, अभाव र बेरोजगारी मात्रै थियो,'  उनले थपे, 'तर अहिले सबैजसो घरमा आफ्नो व्यवसाय छ सबै आ-आफ्नो काममा छन्, सबैले कमाउँछन् ।' करिब २३ वटा घर रहेको कटहरे गाउँमा १७ वटा भन्दा बढी खुकुरी र फलामे औजार बनाउने आरन छन्। सबै घरले वर्षमा कम्तीमा ४ सय वटासम्म खुकुरी बनाएर बिक्री गर्छन् । Katahare village facing hardship due to Khukuri industry

एउटा खुकुरीको न्यूनतम १ हजार ५ सय देखि १२ हजारसम्म पर्छ । २०६० सालमा तत्कालीन जिल्ला विकास समिति र  सल्भ नेपाल नामक संस्थाले यो गाउँमा जीविकोपार्जन सुधारका लागि काम गरेका थिए। सल्भ संस्थाले कटहरेमा सामूहिक आरनघर निर्माणका लागि सहयोग गरेको थियो। आरनका सामग्री भने तत्कालीन जिल्ला विकास समितिले उपलब्ध गराएको थियो । तत्कालीन जिल्ला विकास समिति र अहिले धनकुटा नगरपालिकामा कार्यरत उपसचिव सीताराम गौतम कटहरेका स्थानीयलाई उद्योग सञ्चालनमा जिविस र गाविसले समेत सहयोग गरेको बताउँछन् । 

स्थानीयको क्षमता अभिवृद्धि र जीविकोपार्जन सुधारका लागि सामुदायिक वनमा घुम्ती कोष स्थापना गरी तत्कालीन अवस्थामा ६ प्रतिशत ब्याजदरमा उद्यम गर्न चाहनेलाई सल्भमार्फत १५ हजार रुपैयाँसम्म ऋण उपलब्ध गराइएको लामो समयदेखि जीविकोपार्जन सुधार तथा आत्मनिर्भरताका क्षेत्रमा काम गरेका राजेन्द्र प्रधान बताउँछन्। भन्छन्, 'काम गरेर पनि प्रतिफल प्राप्त हुन समय लाग्छ। ढिलै भए पनि कटहरे गाउँमा व्यावसायिकताको सुरुवात भइसकेको छ।' तर अहिले अधिकांश घरमा आफ्नै आधुनिक उपकरणसहितको आरन सञ्चालनमा छ। परम्परागत हाते आरन आधुनिक मेसिनयुक्त साना उद्योगमा रूपान्तरण भइसकेका छन्।

स्थानीय ताराबहादुर विश्वकर्मा भन्छन्, 'पहिले दिनभरि काम गरेर पनि परिवार पाल्न मुस्किल पर्थ्यो, अहिले खुकुरीले राम्रो आम्दानी दिन थालेको छ।' खुकुरीको गुणस्तर, आकार र डिजाइनअनुसार यसको मूल्य सामान्यतया एक हजार पाँच सय रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म पुग्ने गरेको छ।

कटहरेका एक परिवारले वर्षमा चार सय वटासम्म खुकुरी उत्पादन गरी बिक्री गर्ने गरेका छन्। खुकुरी बनाउने परम्परागत पेशा अहिले व्यावसायिक उद्योगमा रूपान्तरित हुँदै गएको छ। व्यवसाय विस्तारसँगै पुस्तौँदेखि चल्दै आएको बालीघरे प्रथासमेत अन्त्य भएको छ। ताराबहादुरले पहिले जस्तो दुई माना चामल एकपाथी मकै र दुई अमल तेलमा काम गर्ने जमाना हराएको बताए । उनले भने,' गाउँबाट आउने काम नगर्ने होइन गर्छौं। तर पहिले जस्तो अन्नपात लिएर होइन। अहिले सबै काम क्यासमै हुन्छ ।'

स्थानीय झमक विश्वकर्माका अनुसार अहिले बस्तीका अधिकांश घरमा खुकुरी तथा अन्य घरेलु औजार उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। यस पेसामा बाजेदेखि नातिसम्मको पुस्ता संलग्न छ। यसले सीपको संरक्षण मात्र गरेको छैन, नयाँ पुस्तालाई गाउँमै अवसर पनि सिर्जना गरेको छ।

प्रेमबहादुर विश्वकर्मा विदेशबाट फर्किएपछि गाउँमै आरन सञ्चालन गरिरहेका छन्। उनीजस्ता धेरै युवाले वैदेशिक रोजगारी छोडेर गाउँमै उद्यम थालेका छन्। 'विदेशमा कमाएको अनुभव र यहाँको सीप जोड्दा आफ्नै गाउँमा राम्रो भविष्य देखियो,' उनी भन्छन्।

खुकुरी उद्योगले कटहरेवासीको आम्दानी मात्र बढाएको छैन, गाउँको स्वरूप नै फेरिदिएको छ। फुसका छाना र टाँटीका घरहरूले भरिएको बस्ती अहिले जस्तापाताले ढाकिएको छ। आर्थिक अवस्थामा आएको सुधारले शिक्षा क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको छ। कुनै समय बालबालिकाका लागि विद्यालयभन्दा परिवारको जीविकोपार्जनमा सघाउनु प्राथमिकता थियो। अहिले भने अधिकांश बालबालिका नियमित विद्यालय जान थालेका छन्। यो गाउँका बालबालिका नजिकैको शान्तिनिवास माध्यमिक विद्यालयमा पढ्छन् । 

कटहरेको विकासमा सडक पूर्वाधारले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। मध्यपहाडी राजमार्गअन्तर्गत हिले–पाख्रीबास–लेगुवा सडक कालोपत्र भएपछि गाउँ बजारसँग सहज रूपमा जोडिएको छ। यातायात पहुँच विस्तार भएसँगै खुकुरी र अन्य औजारको बजार पनि फराकिलो बनेको छ। कटहरेका स्थानीय प्रेमबहादुर विश्वकर्मा सम्झन्छन्; 'बाबु बाजेले बनाएका औजार र हात हतियार बेच्नलाई कटहरेमा एउटा चौतारो थियो, त्यही चौतारामा राखेर भोजपुर खोटाङ संखुवासभा ओहोरदोहोर गर्ने बटुवालाई सामान बेच्ने गर्थ्यौं। चौतारोको नाम नै खुकुरी चौतारा थियो।'

प्रेमबहादुर भन्छन्, 'पहिले उत्पादन भएका खुकुरी लगायतका फलामे औजार डोकोमा राखेर धनकुटा लगायत भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम र तराईका जिल्लासम्म जान्थ्यौं, तर अहिले दलानबाटै बिक्री हुन्छ, सडक पनि हाम्रो लागि वरदानजत्तिकै भयो।'

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully