झापाको टोकला चिया बगानका ३० वर्षीय विजेश सार्की एक वर्षदेखि मायलोइड सार्कोमा र रगतको क्यान्सरसँग जुध्दै आएका छन्।
What you should know
झापा — झापाको मेचीनगर–६ टोकला चिया बगानका ३० वर्षीय विजेश सार्की एक वर्षदेखि दुर्लभ प्रकारको ‘माइलोइड सार्कोमा’सँगै रगतको क्यान्सरसँग संघर्षरत छन् । सुरुमा उनका दुवै कानमूनिको प्यारोटिड ग्रन्थी अचानक सुन्निन थाल्यो । सुन्निएको भागमा कुनै पीडा भने थिएन । त्यसैले सुरुका केही दिन उनले त्यसलाई खासै वास्ता गरेनन् । तर, सुन्निने क्रम बढ्दै गएपछि उनी अस्पताल पुगे ।
झापाकै एक क्लिनिकमा फिजिसियन डा. पोषणरमण त्रिपाठीसँग परामर्श लिए । चिकित्सकले दुई साताका लागि एन्टिबायोटिक लेखिदिए । औषधि सेवन गरिसक्दा पनि सुन्निएको भागमा कुनै सुधार आएन । बरु झन् बढ्दै गयो ।
त्यसपछि चिकित्सककै सल्लाहमा उनले भिडियो एक्स–रे तथा कम्प्लिट ब्लड काउन्ट (सीबीसी) परीक्षण गराए । साथै, सुन्निएको ग्रन्थीबाट कोषिका निकालेर फाइन निडल एस्पिरेशन साइटोलोजी (एफएनएसी) परीक्षण पनि गरे । जाँच गराएर पसल मात्रै पुगेका मात्रै थिए, मोबाइलको मेसेजमा अघि जाँच गराएको रिपोर्ट आयो । सँगै तल लेखिएको थियो, ‘तुरुन्त डाक्टरलाई देखाउनू ।’ सीबीसी र एफएनएसीको रिपोर्टमा क्यान्सरको आशंका गरिएको थियो । ‘त्यो मेसेज पढेपछि खासै डर त लागेन’, विजेशले सुनाए,‘तर, साच्चै क्यान्सर पो भयो कि भनेर शंका चै लाग्यो ।’
रातभरि निदाउन सकेनन् । भोलिपल्ट बिहानै बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल पुगे । हेमाटोलोजिष्ट चिकित्सक ईश्वरमान सिंहलाई रिपोर्ट देखाए । उनले सरसर्ती रिपोर्ट हेरेपछि भने,‘आत्तिनु पर्दैन, एकपटक बोनम्यारो एस्पिरेसन गरेर हेरौं ।’
बोनम्यारो एस्पिरेसन हड्डीभित्रको बोनम्यारोबाट निकालिएको तरल पदार्थको नमुना जाँच हो । सात दिनमा आउने भनिए रिपोर्ट पाँचै दिनमा आयो । रिपोर्टले पहिलो चरणको रगत क्यान्सर पुष्टि गरिदियो ।
गत वर्षको जेठ २३ मा उनी पूर्वाञ्चल क्यान्सर अस्पताल भर्ना भए । महिना दिनसम्म अस्पतालमै बसेर उपचार गराए । त्यसबीचमा तीन साइकल किमो चढाएपछि पुनः बायोस्पी गरियो । अबको रिफोर्ट सुखद् आयो । रक्त क्यान्सरको संत्रमणको दर ह्वात्तै घटेर शून्य दशमलव १ प्रतिशतमा झरेछ ।
डाक्टरले संक्रमण घटेका कारण अब महिनामा दुई वटा ‘मेन्टिनेन्स किमो’ लगाउनु भने मुताविक किमो चढाउन सुरु गरे । चैनको सास फेर्दै थिए । त्यही बीचमा अचानक उनका दुवै आँखा पाकेका गोलभेडाझै राताम्ये हुन थाले । त्यसपछि उनी आँखाको उपचारमा केन्द्रित बने । एक नेत्र चिकित्सकले उपचारपछि भने,‘रेटिना ठिक छ । तर, आँखामा स–साना गाँठा (लाइपोमा) देखियो, यसको बायोस्पी गरेर हेर्नुपर्छ ।’
त्यसपछि पुनः उनी चिकित्सक ईश्वरमान सिंहसँगको परामर्शमा पुगे । उनले एक पटक टाउकाका म्याग्नेटिक रेजोनान्स इमेजिङ (एमआरआई) गर्न सुझाए । एमआरआईमा केही नदेखिएपछि बायोस्पीका लागि पुनः भारतको गुजराजस्थित एक अस्पताल पठाइयो ।
भारतीय अस्पतालले मायलोइड सार्कोमा भएको पुष्टि गर्यो । यो दुर्लभ क्यान्सर हो, जुन बोनम्यारोका मायलोइड कोषिकाहरू शरीरका अन्य भागमा असामान्य रूपमा बढ्दा हुन्छ । रगतको क्यान्सर निको भएर उत्साहित बनेका विजेश अर्को दुर्लभ रोगको संक्रमणबाट थप निरास बने । ‘रोग निको भयो भनेर शिक्षक लाइसेन्स परीक्षाको तयारीमा जुटेको थिएँ’, उनले पीडा सुनाए,‘अर्को रोग सुरु भएपछि त हवास नै उडिहाल्यो नि ।’
अहिले उनी बोनम्यारो र मायलोइड सार्कोमा दुवै क्यान्सरसँग संघर्षरत छन् । निको भएको रगत क्यान्सर पुनः बल्झिएर उनी दोहोरो रोगसँग जुधिरहेका छन् ।
एक वर्षभित्र उनी दर्जनौं पटक अस्पताल धाए । करिब ४० लाख रुपैयाँ त उपचारमा सिध्याए । तर, रोग निको हुनुको साटो झन् अर्को पनि देखियो । ‘आफ्नो जेथा, साथीभाइको सहयोग, चन्दा र ऋण गरेर ४० लाख सकियो,’ उनले हैरानी भावमा भने,‘सबै सकियो, तर जीवनवाट हरेश खाएको छैन ।’
बोनम्यारो प्रत्यारोपणमा करोड बढी खर्च लाग्ने अनुमान छ । त्यत्रो रकम जुटाउने ल्याकत उनमा छैन । प्रत्यारोपणपछि पनि पुनः रोग बल्झिने सम्भावना अधिक हुने चिकित्सकहरुको दाबी छ । ‘प्रत्यारोपणपछि पनि सातामा एक पटक ९ देखि १२ हजार भारु पर्ने ट्याव्लेट नियमित प्रयोग गर्नुपर्ने हुन्छ रे’, विजेशले सुनाए ।
विजेशका बुवा–आमा टोकला चिया बगानमा मजदुरी गर्छन् । बगानकै जमीनमा उनीहरुको सानो झुप्रो छ । बुवा विषादी छर्कने काम गर्छन् भने आमा चियापत्ती टिप्ने काम गर्थिन् । छोरा थलिएपछि आमा घरमै बसेर स्याहार गरिरहेकी छन् ।
विजेशका एक भाइ, श्रीमती र ८ वर्षका छोरा छन् । रोग लाग्नुअघि उनी काँकडभिट्टामा फ्रेस हाउस (मासु पसल) सञ्चालन गर्थे । १२ कक्षा पास गरेपछि विदेश जाने योजना त्यागेर स्वदेशमै व्यवसाय थालेका थिए । अहिले भने उनको जीवन अस्पताल र उपचारमा सीमित भएको छ । आर्थिक, शारीरिक र मानसिक तीनै किसिमको संघर्ष गरिरहेका उनी जीवनप्रति आशावादी छन् । भन्छन्,‘म थाकेको मात्रै हो, हारेको छैन ।’
