फौजी किराको प्रकोपपछि खडेरीले मकैबाली नष्ट गर्दा किसानलाई आगामी वर्षका लागि बिउसमेत जोगाउन नसक्ने चिन्ता छ ।
What you should know
धनकुटा — धेरै दिनदेखि वर्षा नहुँदा धनकुटाको पाख्रीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान समस्यामा परेका छन्। यसअघि फौजी किराको प्रकोप झेलेका किसान अहिले खडेरीको मारमा परेका हुन्।
मकैका बोट सुक्न थालेपछि किसानलाई आगामी वर्षका लागि बिउसमेत जोगाउन कठिन हुने चिन्ता बढेको छ। पाख्रीबास नगरपालिका अन्तर्गत डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवालगायतका क्षेत्रमा लगाइएको मकै बाली खडेरीका कारण प्रभावित भएको छ। बारी हरियो देखिनुपर्ने बेला मकैका बोट पहेँलिँदै सुक्न थालेका छन् भने कतिपय ठाउँमा परालजस्तै बनेका छन्।
घोर्लीखर्कको गैरीगाउँका कुमार तामाङले पाँच रोपनी बारीमा लगाएको मकैबाली सुकेर नष्ट भएको बताए। 'यो वर्ष त बिउसमेत जोगाउन सकिँदैन जस्तो छ,' उनले भने,'चैतमा थोरै पानी परे पनि त्यसपछि छैन। मकै त सुक्यो नै, पशुचौपायालाई खुवाउने घाँससमेत सुक्न थालेको छ।'
स्थानीय किसान गोपालबहादुर थापाका अनुसार दाना लाग्ने अवस्थामा पुगेका मकैका बोट घामले सुकाएर परालजस्तै बनाएको छ। 'मुखमुख धानचमरा आउने बेला भएको थियो, तर सबै मकै खडेरीले खायो,' उनले भने। उनका अनुसार कतिपय किसानले बिरुवा नै मरेपछि मकै गोडमेल गर्नसमेत छाडेका छन्। 'अब पानी परे पनि उत्पादन हुने आशा छैन,' उनले दुखेसो पोखे।
खडेरीका कारण केही स्थानमा किसानले मकै छर्नसमेत नपाएको बताएका छन्। स्थानीय खोलाखर्क क्षेत्रका किसान डायन्द्रबहादुर कार्की ले पर्याप्त चिस्यान नहुँदा बारी जोत्न र मकै छर्न नसकिएको बताए। 'अघिल्ला वर्षमा यो समयमा मकै हरियाली भइसकेको हुन्थ्यो, अहिले भने छर्नका लागि समेत पानी परेको छैन,' उनले भने।
उनका अनुसार मकै मात्र होइन, फलफूलका बिरुवा र अन्य खेतीबाली पनि ओइलाउन थालेका छन्।
किसानहरूका अनुसार खडेरीको असर बर्खे धानमा समेत देखिन थालेको छ। मङ्सिरमा पाक्ने धानका लागि यतिबेला ब्याड राखिसक्नुपर्ने भए पनि सिँचाइ सुविधा नभएका अधिकांश आकाशे पानीमा निर्भर क्षेत्रका किसानले धानको ब्याड तयार गर्न सकेका छैनन्। समयमै वर्षा नभए धान उत्पादनमा समेत असर पर्ने चिन्ता बढेको छ।
यस्तै अवस्था महालक्ष्मी नगरपालिकाको लेगुवा र सालघारी क्षेत्रमा पनि देखिएको छ। त्यहाँका मकैबाली सुक्दै गएको छ। अरुण नदीपारि भोजपुरको अरुण गाउँपालिका अन्तर्गत जरायोटारलगायतका क्षेत्रमा पनि लामो समयदेखि पानी नपरेका कारण किसान समस्यामा परेका छन्। कतिपयले मकै छर्नै नपाएको र उम्रिएका बिरुवा पनि सुक्न थालेको बताएका हुन्। खडेरीले किसानलाई उत्पादन घट्ने मात्र होइन, आगामी वर्षका लागि आवश्यक बिउसमेत अभाव हुने चिन्ता थपेको छ।
