धनकुटाकी महिला टेम्पो चालक सम्मानित

धनकुटा नगरपालिकाले श्रम, उद्यमशीलता र आत्मनिर्भरतामार्फत समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गर्ने महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।

जेष्ठ १७, २०८३

विनोद घिमिरे

Dhankuta's female tempo driver honored

धनकुटा — धनकुटा नगरपालिकाले सार्वजनिक यातायात क्षेत्रमा सक्रिय रूपमा कार्यरत नगरकी एक्ली महिला टेम्पो चालकलाई सम्मान र नगद पुरस्कार प्रदान गरेको छ।

नगरपालिकाले धनकुटा नगरपालिका–७ टोमुवाकी ३६ वर्षीया तृष्णा राईलाई नगद ६ हजार रुपैयाँसहित सम्मान गरेको हो। जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई तथा धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल लगायतले सम्मानपत्र र नगद हस्तान्तरण गरेका हुन्।

नगरपालिकाले सार्वजनिक यातायात सेवामा एकमात्र महिला सवारी चालकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै महिलाको रोजगारी, आत्मनिर्भरता तथा सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै राईलाई सम्मान गरिएको जनाएको छ।

विगत दुई वर्षदेखि टेम्पो चालकका रूपमा कार्यरत राईले घरखर्च व्यवस्थापनका लागि ३ लाख ५० हजार रुपैयाँ लगानी गरी टेम्पो खरिद गरेर व्यवसाय सुरु गरेको बताइन्। टेम्पो सञ्चालनबाट मासिक ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

'घरमा खाली बस्नुभन्दा काम गरेर केही आर्जन गर्न सकिन्छ भन्ने विश्वासले यो पेसा रोजेकी हुँ,' राईले भनिन्।

नगरपालिकाबाट सम्मानित हुँदा आफ्नो आत्मविश्वास र हौसला अझ बढेको बताउँदै उनले महिलाहरूले कुनै पनि पेसालाई सानो–ठूलो नभनी आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त गरिन्।

धनकुटा नगरपालिकाले श्रम, उद्यमशीलता र आत्मनिर्भरतामार्फत समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गर्ने महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully