राजदुवाली पहिरोको कारण हाइड्रोको टनेलबाट पानी चुहावट

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा रहेको टनेलबाट चुहावट भएको पानीका कारण यस क्षेत्रमा निरन्तर पहिरो जाने र सडक दबिने समस्या स्थलगत अध्ययनमा निस्केको टोलीले पत्ता लगाएको हो ।

जेष्ठ १३, २०८३

लक्ष्मी गौतम

Water leakage from hydro tunnel due to Rajduwali landslide

What you should know

पाँचथर — वर्षौंदेखि भासिँदै, बग्दै र पटक–पटक अवरुद्ध हुँदै आएको मेची राजमार्ग अन्तर्गत इलामको माईखोला (राजदुवाली) सडकखण्डको समस्याको जड पुवाखोला जलविद्युत् आयोजनाको टनेल हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा रहेको टनेलबाट चुहावट भएको पानीका कारण यस क्षेत्रमा निरन्तर पहिरो जाने र सडक दबिने समस्या स्थलगत अध्ययनमा निस्केको टोलीले पत्ता लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय इलाम र सरोकारवालाले गरेको स्थलगत अध्ययनका क्रममा जलविद्युत् आयोजनाका लागि लगिएको ‘पेनस्टक पाइप’ बाट पर्याप्त पानी चुहिएको भेटिएपछि सोही पानी पहिरोको जड हुनसक्ने प्राविधिकहरुले औंल्याएका हुन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईसहित प्राविधिकहरुका साथमा गएको टोलीले जलविद्युत्‌को सुरुङ मार्गको डेढ किलोमिटर दूरी स्थलगत निरीक्षण गरेको थियो ।

जस क्रममा झण्डै दुई सय मिटर क्षेत्रमा पेन स्टक पाइप अत्यधिक मात्रामा चर्किको र पानी चुहियरहेको अवस्थामा भेटिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिए ।

प्रारम्भिक अध्ययनमा पानी चुहिएको देखिए पनि पहिरो जानुको मुख्य कारण के हो ? भनेर विस्तृत अध्ययन गर्न उच्च स्तरीय प्राविधिक टोली झिकाउने प्रक्रिया थालिएको पनि भट्टराईको भनाइ छ ।

‘स्थलगत अनुगमनको क्रममा टनेलमा अत्यधिक क्र्य्राक देखिएको हुँदा राजदुवालीको सीपेजको समस्यामा प्रत्यक्ष असर परेको प्रारम्भिक निष्कर्ष निकालियो, हाइड्रोलाई तुरुन्त विस्तृत अध्ययन गरी इफेक्टिभ रेक्टिफिकेशन गर्न अनुरोध गरि सकिएको छ,’  उनले भने ।

Water leakage from hydro tunnel due to Rajduwali landslide

वर्षौंदेखि सडक पुनर्निर्माण, पहिरो नियन्त्रण र भूगर्भीय अध्ययन हुँदै आए पनि समस्या किन दोहोरिइरहेको छ भन्ने विषयमा अध्ययन भइरहेको थियो । स्थानीयले लगातार हाइड्रोको सुरुङबाट पानी चुहिने गरेको बताएपछि प्रशासनले पहिलो पटक आयोजनाको संरचना निरीक्षण गरेको हो ।

भट्टराईका अनुसार पाइपभित्रको अवस्था अस्वाभाविक देखिएपछि अहिले हेडट्याङ्कमा जमेको माटो हटाउन पानी सुकाइएको छ । त्यहाँ पनि चर्किएको हुन सक्ने आशंका गरिएको छ ।

हालसम्म समस्याको कारण पत्ता लगाउन गरिएका सबै प्रयास विफल भएपछि जलविद्युत् आयोजनाका संरचनाको स्थलगत अध्ययन गर्ने निर्णयमा पुगेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

२०७२ सालको भूकम्पपछि यो क्षेत्रमा समस्या झन् जटिल बन्दै गएको स्थानीय बताउँछन् । त्यसयता सडक पटक–पटक भासिने, पहिरो खस्ने र पुनर्निर्माण गरिएका संरचना फेरि बिग्रिने क्रम रोकिएको छैन ।

गत असोज १८ गतेको वर्षापछि यही खण्डमा ठूलो पहिरो जाँदा मेची राजमार्ग १२ दिन पूर्ण अवरुद्ध भएको थियो । अहिले पनि माईखोलामाथि अस्थायी संरचना बनाएर सवारी सञ्चालन गरिँदै आएको छ ।

सडक डिभिजनले खोलाबाटै करिब १० मिटर अग्लो ढलौट पर्खाल निर्माण, पाइपमार्फत पानी निकास र माथिल्लो भागको सडक जोगाउने प्रयास गरिरहेको जनाएको छ । तर लगातार वर्षा, खोलामा आउने बाढी र माथिबाट झर्ने पहिरोका कारण काम प्रभावकारी हुन नसकेको अधिकारीहरू बताउँछन् ।

मुख्य सडक पूर्ण रूपमा बन्द गर्न नसक्दा र वैकल्पिक सडकसमेत भरपर्दो नहुँदा पुनर्निर्माणमा ढिलाइ भइरहेको छ । राजदुवालीस्थित पुरानो माईखोला पुलको मर्मतसमेत सँगै भइरहेको छ र त्यसको करिब ६० प्रतिशत काम सकिएको जनाइएको छ ।

यो सडक मेची पहाडका जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने भरपर्दो स्थल मार्ग पनि हो । यहाँ पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रु आवागमनदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीसम्म प्रभावित हुने गरेको छ ।

वैकल्पिक सडकहरू पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । तिल्केनी–सिमलगोलाई सडकमा ठूला सवारी चल्दैनन् भने केचना–कञ्चनजङ्गा सडकको काम सुस्त गतिमा भइरहेको छ । जोगमाई खोला, बेलासे र पुवाखोलामा बेलिब्रिज जडानको तयार भए पनि वर्षाअघि काम सकिनेमा स्थानीय आश्वस्त छैनन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully